‘छोरा नभए पनि मलाई हेर्ने उनका आँखा जीवितै छन्’

आँखादान गरेकाहरुको स्मृतिमा निर्माण गरिएको स्मारक। तस्बिरहरु: देशसञ्चार

काठमाडौँ- विजय गुरुङलाई तीन महिनाअघि आफ्नी बहिनी अञ्जु गुमाउँदा ठूलै आघात पुग्यो। त्यसमाथि पनि मृतक अञ्जुको आँखा निकाल्न सहमत हुन धेरै समय लाग्यो। हिन्दु धर्म र संस्कृति अनुसरण गर्ने विजयलाई आँखा निकालेर बहिनीको शव पनि कुरुप बनाउन मन थिए । तर अञ्जुको आँखा दान गर्ने पूर्वघोषणाले उनी बहिनीको आँखा निकाल्न राजी भएका थिए।

तिलगंगा आँखा प्रतिष्ठानमा शनिबार आँखा दान गरेकाहरुको सम्झनामा आयोजित श्रद्धान्जली कार्यक्रममा भेटिएका उनी अञ्जुको दाइ हुँदा गर्वको महसुस गरिरहेका थिए। ‘त्यत्तिबेला मृत्यु भएकी बहिनीको आँखा झिकेर दिन मन थिएन। तर, उनको आँखाले अन्य दुई जनाको जीवन उज्यालो भएको छ,’ गुरुङले देशसञ्चारसँग प्रतिज्ञा गरे, ‘म पनि मृत्युपश्चात आँखा दान गर्नेछु।’

आमाले सन्तान गुमाउँदाको पीडा शव्दमा बयान गर्न सक्दिनन्। त्यसैले होला, विजय गुरुङको छेउतिर आँखादान गरेका आफ्नो छोराको नाम खोज्दै गरेकी उर्मिला स्तब्ध थिइन्। तर, उनका आँखाहरु मृत्युपछि आँखा दान गरेका मानिसको नामको सूचीमा डुलिरहेका थिए। उनलाई पनि मृतक छोरा पवनकुमार कार्कीको आँखा झिक्दा नरमाइलो लागेको थियो, विजयलाई जस्तै। तर, त्यो बेला आफ्नै आँखा बन्द गरेर उनले साहसका साथ मृतक छोराको आँखा झिक्न दिएका कारण आज उनलाई आफ्नो छोरा र आफूले पुण्य कमाएको भान भएको छ।

‘अहिले मेरो छोरा साथमा छैन। तर मलाई हेर्ने उनका आँखा जीवितै छन्,’ छोरोको नाममा धूप घुमाउँदै उनले आँखाभरि आँसु बनाउँदै भनिन्, ‘मेरो छोराले जस्तै अरुले पनि आँखा दान गरेर जीवन देउन्।’

मृत्यु भइसकेका आफन्तका आँखा दान गर्दा त्यतिबेला डराएका, अप्ठेरो मानेका र हिच्किचाएका हजारौं आफन्तले ती आफन्तप्रति सम्मान प्रकट गर्दै अरुलाई पनि आँखादान गर्न भेलामा सहभागीलाई आग्रह गरेका थिए। उनीहरुले मृतक आफन्तबाट पाएको आँखाले अरुलाई उज्यालो दिएकोमा खुसी समेत व्यक्त गरे।

प्रतिष्ठानको नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरेका व्यक्तिको सम्झना र सम्मानमा कार्यक्रम गर्दै आएको छ। मृतक मानिसबाट आँखा झिकेर प्रत्यारोपण गरी जीवन पाएका मानिससँगै थिए। उनीहरु पनि आफुलाई जीवन दिनेप्रति आभारी देखिन्थे। ‘जसले मलाई आँखा दान गर्नुभयो, उहाँलाई धन्यवाद दिन चाहन्छु छु,’ १० वर्षीय समर्पण डल्लाकोटीले भने, ‘उहाँका कारण आज म खेल्न, पढ्न र कुद्न सक्छु।’

नेपाल आँखा बैंकमा अहिले ७० हजारभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्। झण्डै १२ हजार ५ सय जनाले आँखाको नानी दान प्राप्त गरी पुनर्दृष्टि प्राप्त गरेका छन्। पछिल्लो समयमा आँखादान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ।

प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले आँखादानका लागि प्रेरित गर्न र दातालाई सम्झिनका लागि कार्यक्रम आयोजना गरेको बताइन्। ‘अहिले धेरै मानिसको आँखा दानप्रति सकारात्मक सोचको विकास भएको छ। त्यसले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनःर्दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदैछ,’ उनले भनिन्, ‘नेपालभरि आँखा बैंकको सेवा दिने लक्ष्य राखेका छाैँ।’

नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले भने, ‘आँखा दानका लागि प्रेरित गर्न नेपाल आँखा समाजको स्थापना भएको छ। यसले नेपालभरि सबै क्षेत्रमा शाखा/प्रशाखामार्फत आँखा दानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।’

चिकित्सकका अनुसार जन्मजात फुलो परेर वा आँखामा चोट लागेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताका कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ। नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो। एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनःर्दृष्टि दिलाउनु नै हो।

सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको छ। आँखा बैँकले मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउँछ।

पशुपतिको आर्यघाट, विद्युतीय शवदाहगृह लगायत वीर, त्रिवि शिक्षण र पाटन अस्पतालमा आँखा बैँकबाट खटिने परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो छ। मृत्युपछि आगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी, कसैका लागि प्रयोगमा आउनु सत्कर्म हो।

आँखादान गरेकाहरुले स्मृतिमा आयोजित कार्यक्रमका सहभागी।
तिलगंगा अस्पतालमा शनिबार आयोजित श्रद्धाञ्जली सभा।
श्रद्धाञ्जली सभामा सहभागीहरु।
पुस १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्