सरकार र त्रिविलाई प्रश्न: दीक्षान्त फोटो खिच्नैमात्र हो?

काठमाडौँ-टाउकोमा कालो टोपी थियो या त सारी लगाइएको। कालो गाउनमा सजिएका युवायुवतीको काँधमा स्कार्फ भने अलगअलग रंगको देखिन्थ्यो। नेपालकै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह आयोजना भइरहेकाले आइतबार इन्जिनियरिङ क्याम्पस पुल्चोकभित्र चहलपहल थियो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष विभिन्न संकायबाट गरी त्रिभुवन विश्वबिद्यालयबाट ६८ हजार २ सय ९२ जना विद्यार्थी उत्तीर्ण भएका थिए। तर दीक्षान्त समारोहमा सहभागिता जनाउन २०७३ जेठ देखि २०७४ जेठ १७ सम्म ट्रान्सक्रिप्ट बनाएका ८ हजार २ सय ६७ जना विद्यार्थीले मात्र प्रक्रिया पूरा गरेका थिए। विश्वविद्यालयका अनुसार कार्यक्रममा सहभागी हुन २ हजार २ जना अभिभावकले पनि प्रवेश पास लिएका थिए।

यसरी करिब ११ हजार बढीको ठूलो भिड जम्मा हुँदा विश्वबिद्यालयको दीक्षान्त कति व्यवस्थित थियो भनेर कल्पना गर्न सकिन्थ्यो।

त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तिर्थ खनियाँ दीक्षान्त समारोहको व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्छन।खनियाँले कार्यक्रम आयोजना जसरी भईरहेको छ त्यसमा सुधार हुनुपर्ने बताए।

शंकरदेब क्याम्पसबाट एमबिएस उत्तिर्ण गरेका सञ्जीव भण्डारीले स्नातक पनि त्रिभुवन विश्वविद्यालयबाट गरेका तर उनलाई दीक्षान्त समारोहको कार्यक्रममा सहभागी भएको अनुभव थिएन। उनी भन्दै थिए, ‘फिल्महरुमा देखेको जस्तै कार्यक्रम होला भनेको त यहाँ त मानिसहरुको मात्र भिड छ।’

उनको कुरामा सहमत हुँदै नेपाल ल क्याम्पसबाट एलएलबी पास गरेका ईश्वर रिजालले भने, ‘स्टल बनाएर सर्टिफिकट वितरण हुन्छ, कसैले पनि दीक्षान्त समारोहमा आएका वक्ताको कुरा सुन्ने होइन, यसका लागि किन यतिको तामझाम गर्नुपर्‍यो।’

कार्यक्रममै भेटिएका नवीन शर्मा पौडेलले भने, ‘कार्यक्रम कस्तो हुन्छ भन्ने त ब्याचलर्सको कन्भोकेसनमै थाहा थियो, यहाँ आउने भनेको त साथीसँग भेटघाट हुन्छ भनेर छ।’

पौडेलको भनेझैँ कार्यक्रममा सहभागी भएका अधिकांशलाई कार्यक्रमभन्दा पनि सेल्फी र फोटो खिच्ने हतारो थियो। विश्वबिद्यालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको आरम्भ गरे पछि नै धेरै सहभागीहरु मूल कार्यक्रम स्थल छोडी सर्टिफिकेट वितरण गरेको ठाउँमा लाईन लागेका देखिन्थे।

कार्यक्रमका मुख्यबक्ता जवाहरलाल नेहरु विश्वबिद्यालयका उप-कुलपति प्राध्यापक जगदीश कुमारले सम्बोधन गर्दा मानिस बसेका भन्दा खालि कुर्ची बढी देखिएका थिए।यता सर्टिफिकेट वितरण गरिरहेका स्टल तिरको लाइन भने निकै ठूलो थियो। स्टेजमा गई बिश्वबिद्यालयका कुलपतिको हातबाट सर्टिफिकेट लिन पाउने बिद्यार्थी केही मात्र थिए जसले गर्दा पनि स्टल तिरको भिडभाड ठुलो देखिन्थ्यो।

प्रत्येक संकायको दीक्षान्त समारोहअलगअलग मितिमा गर्नु पर्छ भन्ने योजना कार्यान्वयन हुन् नसक्दा व्यवस्थापनमा समस्या हुन् थालेको उपकुलपति खनियाँ बताउँछन्। दीक्षान्त समारोहको प्रकृयामा सुधार नभए यसको औचित्यमै प्रश्न उठ्ने उनले स्वीकार गरे। दीक्षान्त समारोहलाई व्यवस्थित गर्नु पर्छ भनेर पटकपटक डीनहरु सँग छलफल गर्दा पनि सुधार गर्न नसकिएको उनले बताए।

कार्यक्रममा करिब ८ हजारभन्दा बढी सहभागी हुँदा आयोजकले आगन्तुकका लागि खानेपानीको मात्र पनि व्यवस्था गर्न सकेको थिएन। विशिष्ट अतिथिहरुले गरेका भाषणका पुस्तिका यत्रतत्र फालिएका थिए। कार्यक्रममा सहभागी भएका धेरै मानिसहरुलाई समारोहमा आएका प्रमुख वक्ताबारे जानकारी थिएन। विश्वबिद्यालय दीक्षान्त समारोह सुधार गर्न सकेन भने भोलिका दिनमा यसको महत्त्व फोटो खिच्ने र भित्तामा झुण्ड्याउने मात्रै नहोला भन्न सकिन्न।

पुस १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्