इन्धन ट्यांकरका कारण झनै भयावह बन्दै छन् विराटनगरका सडक

विराटनगरमा सडक किनारामा दुईतिरै राखिएका पेट्रोल ट्यांकर। तस्बिर: अभयकुमार राई।

विराटनगर‍-नेपाल आयल नियम क्षेत्रीय कार्यालय विराटनगरले व्यवस्थित पार्किङस्थल निर्माण गर्न नसक्दा विराटनगरवासी प्रताडित भएका छन्।

स्थानीय कन्चनबाडी चोकदेखि ढाटसम्मको करिब २ किलोमिटर सडकखण्डमा पर्ने आयल निगमको कार्यालय परिसरबाहिर इन्धनका ट्याङकर पार्किङ गर्दा समस्या उत्पन्न हुँदै गएको छ।

दिनानुदिन सवारी साधन बढेसँगै इन्धन प्रयोगकर्ताको चाप पनि बढ्दो छ। यसका कारण इन्धन भण्डारण गरिराख्न निगमको भूभाग कम हुँदै गएको छ। त्यसैगरी भारतीय आयल निगमबाट इन्धन ल्याउने ट्यांकरको पार्किङ समस्याले स्थानीयदेखि लामो तथा छोटी दुरीका सवारी चालक मर्कामा परेका छन् । हाल निर्माण भइरहेको ६ लेनको सडकखण्डमा पनि ट्याङ्करलाई सडक किनारमा राखिँदै आएको छ। यसका कारण सडक दुर्घटना पनि बढ्दै गएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार गत साउन महिनादेखि हालसम्म यस सडकखण्डमा ७ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कम्तीमा ७५ जना मानिस दुर्घटनाको सिकार भइसकेका छन्। साता दिनभित्र यहाँ तीनवटा सडक दुर्घटना भइसकेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरी बताउँछन्।

सडकको दुई छेउमा ट्याङ्कर राख्दा समस्या त छँदैछ, त्यसमाथि बीचमा राखिएको डिभाइडरमा रिफ्लेक्टर नहुँदा झन मर्का परेको कार्यालका प्रमुख, प्रहरी निरीक्षक मदन गिरीले गुनासो गरे। उनले भने, ‘सडक चौडा हुँदा समस्या थप हुँदै गएको छ। खुल्ला सडक भन्दै तीव्रगतिमा सवारी चलाउने र सडकमा बत्ती, डिभाइडरमा रिफ्लेक्टर नराखिदिनाले दुर्घटना बढ्दै गएको छ।’

विराटनगर सडकमा राखिएका ट्यांकर। तस्बिर: अभयकुमार राई

अर्कोतर्फ निगमका प्रमुख भानुभक्त खनालले भने, ‘निगमसँग जग्गाको कमीका कारण हाल सडक पार्किङलाई व्यवस्थित गर्न नसकिएको बताए। उनले भने, ‘पार्किङका लागि हामीसँग १० कठ्ठा जमिन छ जहाँ करिब ६० वटा ट्याङकर रहन्छन्। त्यसबाहेक लागि भने हामी जग्गा खरिद गर्नुपर्ने हुन्छ।’

यस विषयमा सडक विभाग, महानगरपालिका, ट्राफिक कार्यालय, स्थानीयको पनि आपत्ति रहेको निगम प्रमुख खनाल स्वीकार्छन्। उनी भन्छन्, ‘यसका लागि जमिन खरिद गर्नुपर्ने र यो विषय अलि ‘भेग’ भइसकेको हुनाले धेरै कुरा विचार गर्नुपर्ने हुन्छ। तथापि नजिकै एक मन्दिरको जमिनलाई हामी प्रयोग गर्ने कि भन्ने सोचमा छौँ।’

निगमले कार्यालय परिसरनजिक करिब २ बिघा क्षेत्रफलको जमिनमा नजर गाडेको छ। यसलाई अन्तिम रुप दिन निगमले सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, मालपोत कार्यालयलाई जानकारी गराइसकेको छ। महानगरपालिका पनि यो समस्या चाँडै समाधान होस् भन्नेतर्फ काम गरिराखेको जनाउँछ। तर, लामोसमय विगत केही वर्षदेखि उत्पन्न पार्किङस्थलको समस्या ज्युँका त्युँ रहेको छ।

हाल निगममा दैनिक १ सय ५० बढी ट्याङकर इन्धन लिएर आउँछन्। निगमका अनुसार अझै पनि करिब ९०/१०० वटा ट्याङ्कर सडकमै राख्नुपर्ने अवस्था छ। साढे चार विगाह क्षेत्रफलमा फैलिएको निगममा विभिन्न मापदण्डका चारवटा भर्टिकल ट्याङक रहेका छन्। यहाँ ५ सय ६० किलोलिटर पेट्रोल, ८ हजार ९ सय १० किलोलिटर डिजेल, २ हजार १ सय ७० किलोलिटर मट्टितेल र २ सय ८० किलोलिटर जेट एको इन्धन भण्डारण हुन्छ।

पुस १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्