रेविजबिरुद्धको आधुनिक खोप उपत्यका बाहिर पनि

भुस्याहा कुकुरले टोकेपछि भैँसेपाटीकी ६ वर्षीय स्वस्तिका गुरुङ टेकु अस्पतालमा कन्सलटेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप वास्तोलासँग जचाउँदै। तस्बिर: दीपा दाहाल

काठमाडौँ- सरकारले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सीमित रेबिज रोगविरुद्ध छालामुनि दिइने आधुनिक खोप सेवा उपत्यकाबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पहिलो चरण अन्तर्गत टेकु अस्पतालमा सुरु गरेको सेवा अब उपत्यकाबाहिरका प्राथमिक स्वास्थ्य केन्द्रदेखि १४ वटै अञ्चल अस्पतालमा दिने तयारी गरेको छ।

त्यसका लागि सम्बन्धित प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खोप लगाउनेबारे तालिम समेत दिने कार्य सम्पन्न गरेको छ।

महाशाखाका पशु चिकित्सक डा. अभिनाष सिंहले तयारी पूरा भएकाले अब छिट्टै रेबिजविरुद्धको आधुनिक खोप उपत्यका बाहिरका जनताले पनि पाउने बताए।

‘यसअघि रेबिज विरुद्धको खोप मांशपेशीमा दिने गरिन्थ्यो। अहिले छालामुनि दिने खोप आएपछि सम्बन्धित मानिसलाई सहज भएको छ र लगाउँदा छिटो पनि हुन्छ। त्यसैले यो सेवालाई बाहिर पनि विस्तार गर्न लागिएको हो,’ डा. सिंहले मंगलबार देशसञ्चारसँग भने।

तर, वृद्धवृद्धा, दुई वर्षभन्दा मुनिका बालबालिका, रोग प्रतिरोधक क्षमता कम भएकालाई भने पुरानै तरिकाबाट मांसपेशीमा नै खोप लगाइने छ।

यो पनि हेर्नुहोस्: 

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

पुस १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्