नयाँ सरकार निर्माणमा सरकार र निर्वाचन आयोगको व्यवधान: दाहाल

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवा सरकार र निर्वाचन आयोगले नयाँ सरकार निर्माणमा बाधा उत्पन्न गरिरहेको भन्दै आपत्ति व्यक्त गरेका छन्।

उनले कांग्रेसले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको स्वीकार गर्दै भने, ‘मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन।’

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेको भन्दै उनले आपत्ति प्रकट गरे।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग बुधबार कुरा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो।’

दाहालले कानुनी व्यवस्थाका कारण केही ढिलाइ भए पनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पारे।

पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले पार्टी एकता संयोजन समितिको बैठक चाँडै बस्ने जानकारी दिए। दाहालले भने, कुनै समस्या परेर बैठक नभएको होइन।’

उनले वाम गठबन्धन बनाएर निर्वाचनमा गएको बताउँदै ‘पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गयौँ, जनताको अनुमोदन त्यसैको निम्ति भएकाले मैले अहिले गठबन्धनभन्दा बाहिर जाने सोचेको छैन’ भने।

पार्टी एकीकरण र शक्ति सन्तुलनका विषयमा उनले भने, ‘पार्टी संयोजन समितिमा दुईजना नेता रहने भनिएको छ तर दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, त्यही विषयलाई औपचारिक रुप दिनमात्र बाँकी छ।’

यो पनि हेर्नुहोस्:

दुई साताभित्र नयाँ सरकार बन्छ-नेता राई

नयाँ सरकार गठनमा संवैधानिक जटिलता छैन: ओली

पुस २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्