भत्ताको रकम जोगाएर नर्सरी

तरकारी खेतीबाट वार्षिक रु दश लाख आम्दानी गर्न सफल म्याग्दी बेनी नगरपालिका-१ आनन्दबगरका कृषक रुद्रबहादुर थापा। तस्बिर-रासस

कञ्‍चनपुर– लालझाडी गाउँपालिकाले आयोजना गरेको दुईदिने अपाङगता तथा समावेशी विकास गोष्ठीका सहभागीले उपलब्ध भत्ता बेमौसमी तरकारी नर्सरी तयार गर्न खर्च गर्ने निर्णय गरेका छन्

समावेशी योजना छनोट गर्नका लागि एनएलआर नेपालको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको समन्वयमा गाउँपालिकाले आयोजना गरेको गोष्ठीका सहभागीले भत्ताको रकम विपन्‍न वर्गका समुदायलाई आर्थिक कार्यमा सहभागी गराउनका लागि उपलब्ध गराएका हुन्।सहयोगी संस्थाले गोष्ठीमा सहभागीलाई दुई दिनको रु एक हजारका दरले भत्ताको रकम उपलब्ध गराएको थियो।

गोष्ठीकै सहभागीले भत्ताको रकमबाट गाउँपालिकामा केही कार्य गरेर देखाउनुपर्ने आवाज उठाएपछि सहभागीले भत्ताको रकम जम्मा गरेको कृषि शाखाका प्रमुख एकराज वलीले बताए।

गाउँपालिका अध्यक्ष मदनसेन वडायकले भत्ताको पूरै रकम सामाजिक हितका लागि योगदान दिने घोषणा गरेपछि सहभागीमध्ये अधिकांशले भत्ता नलिएको उनले बताए। ‘भत्ताबाट संकलित रु १२ हजारले प्लास्टिक टनेल बनाई बेमौसमी तरकारीको नर्सरी तयार गरी किसानलाई बेर्ना उपलब्ध गराउने निर्णय प्राविधिक समितिले गरेको छ’, उनले भने।

भत्ताको रकममा कृषि शाखाको केही रकम थपेर नर्सरी तयार गरी किसानलाई उन्‍नत जातका बेमौसमी तरकारीका बिरुवा उपलब्ध गराई तरकारी खेतीतर्फ आकर्षण बढाउने उहाँको भनाइ रहेको छ।बेमौसमी तरकारीको नर्सरी कसरी तयार गर्ने र खेतमा रोपेर आम्दानी लिने तरिकाबारे किसानलाई तालिमसमेत दिने योजना कृषि शाखाको रहेको छ।

‘भत्ताको रकम नलिएर समाजका लागि केही गर्नुपर्छ भन्‍ने सन्देश यस गोष्ठीका माध्यमबाट दिन खोजेका छौँ’, गाउँपालिका अध्यक्ष वडायकले भने, ‘समाजमा पछाडि परेका समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस्ता कार्यले सहयोग पुर्‍याउँछ।’

भत्ताको रकम सामाजिक कार्यका लागि खर्च गर्ने जिल्लामै पहिलो कार्य भएको गोष्ठीका सहभागी राजीव अवस्थीले बताउनुभयो।गाउँपालिकाको समावेशी योजना संकलन गर्नका लागि गोष्ठी आयोजना गरिएको थियो।

जडीबुटी प्रशोधन उद्योगले गाउँमै रोजगारी

शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका सपना शाह विद्यालबाट फर्केपछि सधैँ घर नजिकैको सामुदायिक वनबाट असारेका पात संकलन गर्छन्। असारेका भारी जडीबुटी प्रशोधन केन्द्रमा ल्याएपछि प्रशोधन गरी तेल निकाल्ने कार्यमा सक्रियरुपमा लाग्नुहुन्छ।प्रशोधन केन्द्रमा असारेको तेल निकालेर उहाँले बिक्री गरी पढाइ खर्च चलाउँदै आएका छन्।

हालसम्म दुई लिटर तेल बेचेर शाहले रु आठ हजार कमाएका छन्। उनी भन्छन्, ‘तेल बेचेको पैसाले पढाइ खर्च चलेको छ, साइकल बिग्रेपछि मर्मत गर्न पुगेको छ, कापी कलम किन्‍न पुगेको छ।’

शाहसँगै उहाँका साथीहरु पूजा बोहरा, पूजा टमटा र दीपा धामीले पनि असारेलगायतका जडीबुटी बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन्।उहाँहरु सबै झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत छन्।सिर्जना जडीबुटी समूहमा आबद्ध पूजाले तीनकट्ठा जग्गामा परिवारसँग मिलेर मेन्था लगाएका छन्।

यसअघि उनले केमामाइलको खेती गरी त्यसको तेल बेचेर रु छ हजार कमाइ गर्नुभएको थियो।परिवारको खर्चसँगै पढाइ खर्च आफैँ जुटाउँदै आएको उनले बताए। बेल्डाँडीमा गत वर्षदेखि खोलिएको प्रगति महिला जडीबुटी प्रशोधन उद्योगले विद्यार्थीसहित स्थानीयवासीले गाउँमा आम्दानी गरिरहेका छन्।

उद्योग सञ्चालक समितिका कोषाध्यक्ष कमला साउद भन्नुहुन्छ, ‘उद्योग खुलेपछि गाउँलेले घर खर्च चलाएका छन्, विद्यार्थीले पढाइ खर्च जुटाएका छन्, यसले फाइदा नै भएको छ।’ असारेको तेल प्रतिकिलो रु ३० हजार बढीमा बिक्री हुने गरेको छ। प्रगति सामुदायिक वनसित साझेदारीमा गत वर्ष दातृ निकायको सहयोगमा उद्योग सञ्‍चालन गरिएको हो।

दातृ निकायको रु पाँच लाख, परियोजना घुम्ती कोषको रु एक लाख र सामुदायिक वनको रु तीन लाख लगानीमा उद्योग चलेको छ। असारे, मेन्था र केमाबाट सुगन्धित तेल उत्पादन गर्न सकिने सुनेका स्थानीयवासी उद्योग स्थापना गर्नका लागि आर्थिक स्रोत नभएका बेला दातृ निकायले सहयोग गरेपछि उद्योग स्थापना गर्न सफल भएका हुन्।

‘सामुदायिक वनमा असारे प्रशस्त भएकाले आम्दानी पनि गतिलो नै छ,’ साउदले भने, ‘असारे पेलेर शुरु गरिएको उद्योगबाट अहिले मेन्था, केमाइल र लिप्टिसको तेल पनि उत्पादन हुने भएकाले आम्दानी बढ्दै गएको छ।’ केमा र मेन्थाखेतीका लागि स्थानीयवासीले चार समूह बनाएका छन्।

समूहका सदस्यले तेल बेचेर हालसम्म रु दुई लाख १६ हजार आम्दानी गरेका छन्। एक समूहका सदस्यले कम्तीमा २० हजारभन्दा बढी आम्दानी गरेका छन्।स्थानीयवासीले उत्पादन गरेको तेल स्थानीय वीरबहादुर ऐरले किनेर नेपालगञ्ज पुर्‍याई अर्का व्यापारीलाई बेच्‍ने गरेका छन्।नेपालगञ्जका व्यापारीले यहाँको तेल विदेश निर्यात गर्दै आएका छन्।

स्थानीय जडीबुटी उद्योगमा संलग्नका अनुसार विगतमा काठमाडौँ र नेपालगञ्जका व्यवसायीले आएर तेल सस्तोमै किनेर लैजाने गरेका थिए।स्थानीयवासीले नै तेल किनेर उचित मूल्य दिन थालेपछि जडीबुटीखेतीमा यहाँका बासिन्दाको आकर्षण बढ्न थालेको छ।स्थानीय मैना बोहराले उद्योग खुलेपछि घर खर्च चलाउन सहयोग पुगेको बताए।

उद्योगमा सेटिङ हाउस निर्माण, प्राविधिक कर्मचारीलगायतका जनशक्ति बढाउन पाए अझै बढी आम्दानी लिन सकिने उनले बताए। अन्‍न नफल्ने बाँझो खेतमा जडीबुटीखेती राम्ररी सप्रने र जंगली जनावरले जडीबुटीलाई नखाने भएपछि स्थानीयवासीको यसप्रतिको मोह बढ्दै गएको छ। रासस

यो पनि हेर्नुहोस्:

खबरामा तरकारी खेती

पुस २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्