राजनीतिक सहमतिको लागि वातावरण जुटाइदिनुस्- राष्ट्रपति

फाइल फोटो

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्।

पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो।

टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औँल्याएको छ।

टोलीले वाम गठबन्धन र त्यसनिकट युवा–विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिकको मतपरिणाम चाँडो सार्वजनिक नगरेकामा विरोध प्रदर्शन गर्दा आफूहरुलाई दबाब महसुस भएको उल्लेख गरेको थियो।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जवाफमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति गर्नुपर्ने अवस्था हो भने आयोगले नै त्यसको पहल गरेर सहमतिको वातावरण जुटाई आवश्यक काम गर्न सल्लाह दिएका थिए।

गत मंसिर १० र २१ गते भएको निर्वाचनमा बहुमत ल्याएको वाम गठबन्धनले परिणाम सार्वजनिकमा ढिलाइ नगरी नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न माग गर्दै आएको छ भने आयोगले राष्ट्रियसभाको निर्वाचन नभई संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुन नसक्ने जनाउँदै आएको छ। रासस

यो पनि हेर्नुहोस्:

छबुँदे विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले दियो स्पष्टीकरण

राष्ट्रियसभा निर्वाचन मिति घोषणा चाँडै

 

पुस २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्