सराङकोटमा पुस १६ गते राति के भएको थियो?

धनकुटाका पूर्णबहादुर लिम्बु सराङकोटको निर्माणाधीन माउन्टेन रिसोर्ट एन्ड स्पामा मजदूर काम गर्थे।

उनीसँगै काम गर्थे, भोजपुरका निमा शेर्पा र आङलाक्पा शेर्पा पनि। आङदावा शेर्पा पनि उनीहरुकै सहकर्मी मजदूर थिए।

पुस ११ गते लिम्बुले सँगै काम गर्ने मजदूर अाङलाक्पा र अाङदावाको माेबाइल चोरेका थिए। त्यो मोबाइल उनले चोरेको भन्ने सहकर्मीहरुले  थाहा पाएपछि लिम्बुले फिर्ता गरेका थिए। तर, घटनापछि अाङ्लाक्पा र अाङदावाले लिम्बुलाई गालीगलौज गरेपछि प्रतिशोध साँध्न लिम्बुले पुस १६ गते राति उनीहरु दुईजनासहित निमा तीनजनालाई सुतेकै बेला घनले हानेका थिए।

नयाँ वर्षको अघिल्लो रात भएको घनको प्रहारबाट आङलाक्पा र निमाको घटनास्थलमै मृत्यु भयो भने आङदाबा सख्त घाइते छन्। घटनापछि फरार लिम्बुलाई प्रहरीले धनकुटास्थित उनको घर नजिकैबाट पक्राउ गरेको हो।

मृतक र घाइतेले चोरीको विषयमा गालीगलौज गरेपछि प्रतिशोध साँध्न लिम्बुले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको कास्कीका एसपी अशोक सिंहले जानकारी दिए। हत्यापछि लिम्बुले मृतक र घाइतेको मोबाइल लिएर हिँडेका थिए।

प्रहरीले अनुसन्धान गर्दै जाँदा ती मोबाइलहरुको आइएमइआई नम्बर पत्ता लगाएको र त्यसैको मद्दतबाट उनलाई पक्राउ गरिएको हो। एक महिनादेखि उनीहरु सो ठाउँमा सँगै काम गर्दै आएका थिए। हत्यापछि भागेर धनकुटा पुगेका लिम्बुलाई प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीसहितको टोलीले पक्राउ गरेको हो।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङ्कोटमा बन्दै गरेको होटलमा कार्यरत दुई मजदुरको हत्या र एकलाई घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार लिम्बुलाई पक्राउ गरी सार्वजनिक गरेको हो। घटनामा संलग्न भएको भन्दै प्रहरीले धनकुटाका लिम्बुलाई धनकुटाकाे उनकाे गाउँबाटै पक्राउ गरेर विहीबार सार्वजनिक गरेको हो।

निर्माण कार्यमा खटिएका मजदुरहरु भोजपुर षडानन्द नगरपालिकाका १९ वर्षका निमा शेपा र ३७ वर्षका आङलाक्पा शेर्पालाई आरोपी लिम्बुले टाउकोमा घनले प्रहार गरी हत्या गरेको प्रहरीले उल्लेख गरेको छ। 

पुस २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्