दाङमा लाग्यो ‘राजा आऊ देश बचाऊ’को नारा

दाङमा पूर्वराजाको स्वागत गर्दै सर्वसाधारण। तस्बिर: दशरथ घिमिरे

दाङ–पश्चिम नेपालको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आइपुगेका छन्। दाङ जिल्लाको सदरमुकाम घोराही प्रवेश गर्ने क्रममा देउखुरी उपत्यकाको अर्जुन खोलामा उपस्थित भएका समर्थकहरुले स्वागत गर्दै नारा लगाएका छन्। ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाइएको छ।

राप्रपा दाङ क्षेत्र नं. १ का अध्यक्ष विनोद केसीले देशमा राजसंस्थाको खाँचो रहेको र देशलाई बचाउन राजा चाहिएको प्रतिकृया दिँदै नारा लगाइएको बताए। ‘राजसंस्था चाहिएको छ,’ उनले भने।

पूर्व राजा आउने खबर पाएपछि सर्वसाधारण नागरिकहरु स्वस्फुर्त स्वागतको लागि बाटोमा उभिएका थिए।

नेपाल शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयमा केहीबेर रोकिएपछि पूर्वराजा ज्ञानेन्द्र बाटोमा कुरेर बसेकाहरुमाझ गाडी चढेर आइपुगे।

केहीबेर गाडीमै रोकिएका उनी स्वागतको लागी बाटोमा उभिएका नागरिक देखेपछि झरेका थिए।

स्वागतका लागि उभिएकाहरुले देशको नेतृत्व गर्न माग गरेका थिए।

दाङ आएका पूर्वराजाले अम्मिकेश्वरी मन्दिरमा पुजा अर्चना गर्ने छन्। त्यस पश्चात डोको होटेलमा खाना खानेछन्। त्यस पश्चात गोरक्ष रत्ननाथ मन्दिरमा दर्शन गरेर शुक्रबार नै नेपालगञ्ज फर्कने कार्यक्रम छ।

यो पनि हेर्नुहोस्:
पूर्वराजालाई भेटेपछि कमल थापाले भने, हिन्दू राष्ट्र र राजसंस्थाका लागि सडक तताउँछौं

पूर्वराजाले आज दाङमा सर्वसाधारण भेट्ने

पुस २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्