२०१७ लाई बिदा गर्ने मेरो आफ्नै तरिका

ज्ञान मित्र।

पश्चिमा पद्धतिको ‘क्यालेण्डर’ अनृुसार वर्ष २०१७ बिदा भएर सन् २०१८ प्रारम्भ भएको छ।

विश्वभरि छरिएर रहेका तमाम क्यालेण्डर, पृथ्वीले ३० किमी. प्रति सेकेण्डको गतिले गतिमान भएर चौरानब्बे करोड किमीको यात्रा पूरा गर्न साथ फेरिने प्रावधान रहेको छ।

तपाईँ हामीले भन्ने गरेको १ वर्षको समय पृथ्वीले आफ्नो ‘इमिडिएट फादर’ सूर्यको एक प्रदक्षिणा पूरा गर्नमा तय गरेको दूरी चौरानब्बे करोड किमी. पार गर्न लागेको समय हो। यसलाई दिनमा हिसाब गर्दा ३६५.२५६ दिन हुन आउँछ । प्रायः सबै क्यालेण्डर ३६५ दिन र रातका हुन्छन् । यो बाहेक ‘वर्ष’ भनाउने कुराको अर्को कुनै अस्तित्व छैन।

यो दिन र रात भनाउने कुराको पनि गणितीय र गतितीय बाहेक कुनै अस्तित्व रहेको पाइदैन। पृथ्वी सूर्यको प्रदक्षिणा गर्नुका साथै आफ्नो धुरीमा (Axis) पनि नृत्य गर्छिन्। उनले यसरी नृत्यको एक फन्को पूरा गर्न २३ घण्टा ५६ मिनेटको समय लाग्छ। यही नै एक दिन र रात हो। यस नृत्यको गति ४६५.१ मिटर प्रति सेकेण्ड रहेको छ।

क्षमा गर्नु होला, मैले कसैलाई पनि नयाँ वर्ष शुभकामनाको प्रतिउत्तरमा नववर्षको शुभकामना सन्देश प्रेषित गर्ने तदारुकता देखाइन। मेरा लागि न दिनको अस्तित्व छ, न ३६५ दिन जोडेर बनेको वर्षको नै। मैले कुनै सेकेन्डमा पनि कसैको अशुभ चिताएको छैन, त कसैलाई ‘गुडमनिङ’ वा ‘ह्याप्पी न्यू इअर’ भन्ने स्वाङ किन गरौँ?

जब मलाई थाहा छ मैले एक दिनमा फेरेका झण्डै २०००० श्वास प्रश्वासमा कृष्ण, हिटलर, गान्धी र तपाईले श्वास प्रश्वासमा ग्रहण गरेका करोडौ अक्सिजन र नाइट्रोजनका अणु (मोलेक्युल्स) ग्रहण गरिरहेको हुन्छु, तपाईले मैले प्रयोग गरेका अणु प्रयोग गर्नुहुन्छ। संसार भरिका सात अर्ब मानिसले मैले प्रयोग गरेका अक्सीजन, नाइट्रोजन, कार्बनडाइअक्साइड का करोडौ ‘मोलेक्युल्स’ दिनहुँ उपयोग गरिरहेका छन्। मेरो प्रत्येक प्रश्वासमा बाहिरिएका ‘मोलेक्युल्स’ ले शुभेच्छा, शुभकामना र जगत कल्याणको सद्भाव बोकेका हुन्छन्। अब भन्नुहोस त मित्रगण के मैले मुखौटे र कुरौटे शुभकामना दिइराख्नु पर्छ?

तपाईहरुको २०१७ लाई अलविदा भन्ने आ–आफ्नो ढंग र शैली होला । मेरो पनि आफ्नो पारा छ । म २०१७ मा संसार भरि विज्ञानको क्षेत्रमा भएका केही उपलब्धिको चर्चा गरी २०१७ को स्मृतिलाई एक पटक पुनः ताजा गरी विदा गर्न उन्मुख भएको छु ।

स्मृति यस्तो रह्यो:

१. न्युट्रन ताराको ‘कोलिसन’ (NEUTRON STAR COLLISION) 

हाम्रो सूर्य भन्दा बढी द्रव्यमान (Mass) भएका तर आकारमा मात्र हाम्रो काठमाडौँ शहर जस्ता दुईवटा न्यूट्रन ताराको ठक्कर भएको पत्ता लाउनु विज्ञानको ठूलो उपलब्धि रह्यो सन् २०१७ मा। पृथ्वी भन्दा तेह्र करोड प्रकाशवर्ष टाडा भएको न्यूट्रन ताराहरुको ठक्करबाट उत्सर्जित ‘ग्रैभीटेशनल वेभ्स’ ‘डिटेक्ट’ गर्नु एउटा ‘साइन्टफिक ब्रेकथ्रू’ नै बन्यो।

संसार भरिका ९५३ इन्स्टिट्यूटका ३६७४ अन्वेषकहरुले यस अध्ययनमा भाग लिएका थिए। यस अध्ययन अनुसन्धानले ब्रम्हाण्डको भैरहेको विस्तारको मापनमा सघाउ पुग्ने विश्वास गरिएको छ। साथै यस अनुसन्धानले एक पटक पुनः विज्ञान र वैज्ञानिक जगत आइन्सटिनप्रति नतमस्तक बनेको छ। आइन्सटिनले १०० वर्ष पहिला नै ‘ग्रैभीटेशनल वेभ्स’ को गति पनि प्रकाश सरह हुने दाबी गरेका थिए।

२. लार्सन–C आइस ब्रेक

अन्टार्टिकको एउटा विशाल हिमखण्ड लार्सन– C फुट्नु पनि यो वर्ष वैज्ञानिकहरुका लागि अनुसन्धानको विषय बन्यो। १३ किमी. लामो एउटा हिमखण्डका साथै अन्य स–साना हिमखण्ड पृथक भएर हिमखण्डको ‘कन्स्टिलेसन’ नै बन्यो। हिमखंड फुट्नु जलवायु परिवर्तनबाट भएको प्राकृतिक घटना हो अथवा हिमखण्डका रुपमा प्राकृतिक जन्म–विकास र क्षयको प्राकृतिक चक्र हो, ‘पोलर अब्जरभेसन एण्ड माडलिग’, ‘नेसनल इन्वायरोेमेन्ट रिसर्च काउन्सिल’ का शोेधकर्ताले यसबारे अध्ययन गरिरहेका छन्। निश्चय नै यस ‘आइसब्रेक’ ले समुद्री स्तरमा केही न केही वृद्धि हुनेछ।

३. ट्रैपिस्ट – १ नयाँ सौर्यमण्डल

पृथ्वीबाट ४० प्रकाशवर्ष टाढा ट्रैपिस्ट–१ नामक सूर्यको छुट्टै सौर्यमण्डल रहेको पत्ता लाग्यो। प्रारम्भिक अध्ययन अनुसार पत्ता लागेका यी सात ग्रह मध्ये ३ वटामा पानी हुन सक्छ। खगोलविज्ञानको क्षेत्रमा यो खोज ठूलो उपलब्धि बन्यो।

४. क्वान्टम सञ्चार (QUANTUM TELEPORTATON) 

चीनका वैज्ञानिकहरुले एउटा प्रयोगबाट पृथ्वी र अन्तरिक्षका बीच सञ्चार सम्भव भएको प्रमाणित गरे। ‘क्वान्टम टेलिपोर्टेसन’ प्रविधिका माध्यमले चिनियाँ वैज्ञानिकले एउटा ‘फोटान’ अन्तरिक्षमा पठाउने सफलता हात पारे। यस प्रविधिले महाचमत्कार गर्न सक्छ। ‘क्लासिक फिजिक्स’ का आधारभूत मान्यता ध्वस्त हुन सक्छन्।

५. पोषण एवम् जलवायु परिवर्तन:

तपाईँलाई पत्याउन गाह्रो होला, तपाईको हजुरबुबाले सेवन गरेको गहुँ, आलु, चामल, स्याउ आदि र तपाईले अहिले प्रयोग गरिरहनु भएको यी खाद्य सामाग्रीमा फरक आइसकेको छ। हामीले वर्तमानमा प्रयोग गरीरहेको खाद्य सामाग्रीमा प्रोटिन र अन्य खनिज पदार्थको लोप हुँदै गइरहेको छ। वैज्ञानिकहरुका अनुसार वातावरणमा निरन्तर वृद्धि हुँदै गइरहेको प्रदूषण र कार्वनडाइअक्साइडको मात्राले वनस्पतिबाट प्रोटिन र मिनरल्सको मात्रा घटाउँदै गइरहेको छ। कुनै कुनै वनस्पतिमा ७० प्रतिशतसम्म परिवर्तन आइसकेको छ। वनस्पतिमा वातावरणीय प्रभावले ल्याएको यस परिवर्तनले मानव जातिलाई नयाँ संकटमा धकेल्दै छ।

६. भ्रुणमा जीन सम्पादन (GENE EDITING IN HUMAN EMBRYOS)

मेडिकल जगतमा भ्रुणमा गरिएको यो प्रयोगले तहल्का नै मच्चायो। अमेरिकामा डाक्टरहरुको एउटा टिमले भ्रुणबाट त्यस ‘जीन म्यूटेसन’ लाई काट्ने सफलता प्राप्त गरे जुन ‘जीन म्यूटेसन’ हृदय सम्वन्धी रोगको कारण र कारक थियो। भ्रुणको ‘जिनोम’ बाट अस्वस्थ ‘जीन’लाई काटेर डाक्टरहरुले स्वस्थ ‘जीन’ प्रत्यारोपण गर्ने सफलता हात पारे। यो प्रत्यारोपण ऋच्क्ष्क्एच्(ऋब्क्ढ नामक प्रविधिबाट गरिएको हो। भ्रुणमा गरिएको यस डी.एन.ए. प्रत्यारोपणले भविष्यमा ‘मेडिकल साइन्स’को क्षेत्रमा छलांग ल्याउनेछ। आशा गरौँ, यस प्रविधिबाट मनुष्यताले कैयन रोगबाट मुक्ति पाउने छ।

यसका अतिरिक्त ‘सीएआर–टी सेल थेरापी’, ‘जिका भाइरस’, चाइनाले समुद्रमा बनाएको ५० किमी. लामो पुल, भारतले एउटै रकेटबाट १०८ वटा ‘सेटेलाइट’ प्रक्षेपण गर्नु, चीनमा ‘थ्रीडी’ प्रविधिले कानको प्रत्यारोपण, मानवरोबोट सोफिया, न्यूजिलैण्ड नजीक पत्ता लागेको नयाँ ‘कन्टिनेन्ट’, फिलाडेल्फियाको अस्पतालमा बनाइएको कृत्रिम गर्भाशय, फल्कन–९ रकेट, मेटालिक हाइड्रोजन निर्माण आदि २०१७ का विशेष उपलब्धि रहे। आशा गरौँ, २०१८ मा विज्ञानको यात्रा अविराम अघि बढी रहनेछ।

पुस २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्