सहकर्मी रिहाइको माग गर्दै ट्याक्सी व्‍यावसायी आन्दोलनमा

सहकर्मी रिहाइको माग गर्दै पोखराको पृथ्वी चोकमा सडक जाम गरेर विरोधमा उत्रिका ट्याक्सी व्‍यावसायी। तस्बिर-जमुना वर्षा शर्मा/देश सञ्‍चार

कास्की– पोखरामा ट्याक्सी चालकलाई प्रहरीले समातेको भन्दै ट्याक्सी व्‍यावसायीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरु पृथ्वीचोकमा सडकमै ट्‍याक्सी तेर्स्याएर विरोध गरिरहेका छन् ।

ट्याक्सी चालकले मिटरमा ट्याक्सी नचलाएको र मनपरी भाडा लिएको भन्दै प्रहरी प्रशासनले १७ जना ट्याक्सी ड्राइभरलाई मंगलबार नियन्त्रणमा लिएपछि ट्याक्सी व्‍यावसायी आन्दोलनमा उत्रिएका हुन्।

महँगीको यो अवस्थामा १४ रुपैया मिटरमा ट्याक्सी चलाएर गुजारा गर्न नसकिने भन्दै उनीहरुले पोखराका सडक जाम गरेर विरोधमा उत्रिउनु परेको ट्याक्सी व्‍यावसायीसमिति कास्कीका अध्यक्ष प्रकाश तिवारीले बताए। उनले भने, ”महँगीको यो अवस्थामा गुजारानै नचल्ने गरी कसरी मिटरमा ट्याक्सी चलाउनु ?’

उनले प्रशासन हालको महँगीलाइ मध्यनजर गरेर भाडादर समायोजन गरेमा आफूहरु मिटर ट्याक्सी चलाउन सहमत हुने बताए। वि.स. २०६५ सालमा राष्ट्रिय यातायात महासंघ र नेपाल सरकारबीच भएको वैज्ञानिक भाडादर कार्यान्वयन गर्नु पर्नेमा उनले दिए। उनले भने, ‘ सरकार २०६५ सालमा राष्ट्रिय यातायात महासंघसँगको सम्झौता कार्यान्वयन गरोस्। हामी सबै त्‍यहीमा सहमति गर्न तयार छौ।तर सिभिल ड्रेसमा प्रहरी गएर ट्याक्सी चालकलाई पक्रनु न्यायोचित होइन ‘

यस्तै समितिका सचिव तुलसी दाहालले सात वर्ष अघिको भाडादरमा अहिले ट्याक्सी चलाउन नसक्ने जिकिर गरे। उनले भने, ‘ महंगी दिनानदिन बढ्दो छ, यही रफ्तारमा हामीले परिवार कसरी पाल्‍ने? सरकारी निकाय कहिल्यै सुन्‍ने होइन।’ उनले नियन्त्रणमा लिइएका साथीहरुको विनासर्त रिहाइ र महँगी अनुसारको भाडादर लागू हुनु पर्ने बताए।

यता, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले ट्याक्सी डाइभरले मनपरी भाडा लिएको र मिटरमा चल्न नमानेको गुनासो बढेपछि ट्‍याक्सी चालकलाई नियन्त्रणमा लिन बाध्‍य भएको बताए। उनले भने, ‘ ट्याक्सीले भाडा मनपरी असुलेको जनसमुदायले गुनासो धेरै आएसी नियन्त्रण गर्न बाध्‍य भयौ।’ उनले मनपरी भाडा असुल्‍ने चालकलाई आवश्यक कारबाहीको लागि यातायात व्‍यवस्था कार्यालयमा पठाएको बताए।

ट्याक्सी व्‍यावसायी समितिका अनुसार हाल पोखरामा २२ सय वटा ट्याक्सी सञ्‍चालनमा रहेका छन्।

 

यो पनि पढ्नुहोस्…

मूल्यवृद्धिको विरोधमा कडा आन्दोलन गर्ने हार्डवयर व्यवसायीको चेतावनी

केसी आन्दोलनले बर्खास्तीमा परेका आइओम डिन शर्मालाई पुनर्बहालीको आदेश

पुस २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्