नेपाली राष्ट्रियताको विकास

अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ। धर्मनिरपेक्षता विकसित भएको छ। यसलाई युगको माग र जनताको चाहना मानिएको छ। हुन पनि अहिलेको युगमा कुनै पनि व्यक्ति वा समुदाय कसैको हप्की, दप्की र खप्कीमा बाँच्न चाहँदैन।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष

जातीय धरातलमा कुल्चिएर, धार्मिक एवम् सांस्कृतिक दबाबमा थिचिएर, आर्थिक दुरावस्थामा पिल्सिएर बस्न चाहँदैन। सबै आ–आफैँ स्वच्छन्द र स्वतन्त्र रूपले बाँच्न चाहन्छन् तर स्वच्छन्द र स्वतन्त्र भनेको भाँडभैलो, भताभुङ्ग, द्वन्द्व र सङ्घर्ष चाहिँ होइन।

स्वयम् अनुशासित र संयमित भएर धार्मिक सहिष्णुता, सांस्कृतिक समन्वय, सामाजिक सद्भाव र सहअस्तित्वको भावनालाई हृदयङ्गम गरी सिङ्गो नेपाल राष्ट्रको सुदृढीकरण र एक ढीक्का नेपाली राष्ट्रियताको दिगो विकासमा अग्रसर हुनु नै गणतन्त्रको आदर्श र धर्मनिरपेक्षताको मर्यादा हो। यसो भएमा मात्र नेपालमा गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास हुन सक्छ। यस सन्दर्भमा गणतन्त्र र धर्मनिरपेक्षताको उन्मादले गर्दा नेपालीहरुले कतै सिङ्गो नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई नै बिर्सने त होइनन्? अहिले देश प्रदेशमा गएको छ र प्रदेशमा गएको देश कतै परदेश हुने त होइन?

यसैगरी स्थानीय स्वायत्तताको निहुँमा कतै सिङ्गो नेपाल राष्ट्रको अस्मिता नै स्वात्तै लोप हुने त होइन? त्यसकारण गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकाससँगसँगै समष्टिमा नेपाल राष्ट्रको सुदृढीकरण र एक ढीक्का नेपाली राष्ट्रियताको दिगो विकासको भावनाको जागरणको अभियानलाई पनि निरन्तर रूपले अघि बढाउँदै लानु आजको आवश्यकता हो। यस उद्देश्यको परिपूर्तिका लागि स्थितप्रज्ञ भएका ब्रह्मनिष्ठ प्राज्ञिक वर्गको संलग्नता र राष्ट्रहितमा कटिबद्ध राजनैतिक वर्गको विवेकपूर्ण एवम् कुशल नेतृत्व अनिवार्य हुन्छ, किनभने प्रज्ञाले देशलाई दिशा निर्देश गर्दछ र राजनीतिले राष्ट्रको संरक्षण र सम्वर्द्धन गर्दछ।

जनता–जनता बिचको सद्भाव एवम् भावनात्मक एकता र मानसिक सम्मिलन राष्ट्र हो। त्यस भावनात्मक एकता र मानसिक सम्मिलन प्रतिको प्रतिबद्धता, समर्पण र निरन्तरता चाहिँ राष्ट्रियता हो। समन्वयात्मक अध्यात्मवाद प्राच्य दर्शन अथवा पूर्वीय चिन्तन हो।

समन्वयात्मक अध्यात्मवादको पृष्ठभूमिमा समन्वयात्मक नेपाली संस्कृतिको संरचना र विकास भएको छ र समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको निर्माण एवम् नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन र विकास भएको छ। अतः सिङ्गो नेपाल राष्ट्रको सुदृढीकरण र एक ढीक्का नेपाली राष्ट्रियताको दिगो विकास आजको आवश्यकता हो। सिङ्गो नेपाल राष्ट्रको सुदृढीकरण र एक ढीक्का नेपाली राष्ट्रियताको दिगो विकासका लागि गायत्रीको महाव्याहृति जस्तै तीनओटा सूत्र महत्ववपूर्ण र मननीय छन्, जस्तै –

नेपालीपनको विकास

समुदायबीचको समन्वय

राष्ट्रिय समीकरण

नेपालीपनको विकास

जुनसुकै व्यक्ति वा समुदाय चाहे जहाँसुकैबाट आएको होस्, नेपालको भूमिमा टेक्नासाथ उनीहरूको मनमा नेपालप्रतिको अपनत्वको भावना जागृत हुनु नेपालीपनको विकास हो र त्यही नेपालीपनको विकास नै नेपाली राष्ट्रियताको विकास हो। हामी महाचीनबाट महामञ्जुश्री नेपाल आएको र मथुराबाट भगवान् कृष्ण नेपाल आएको कथा पढ्छौँ। यसैगरी पूर्वबाट असुरहरु नेपाल आएको कथा पनि हामी पढ्दछौँ। यसरी उत्तर, दखिन र पूर्व तीनै नेपालमा मानिसहरू आएको सङ्केत गर्दछ। लिच्छविहरू वैशालीबाट नेपाल आएका थिए तर लिच्छविहरूमा हामी वैशालीबाट आएका हौँ भन्ने भावना थिएन। मध्यकालमा धेरै मानिसहरू दखिनतिरबाट नेपाल आएका थिए। स्वयं जयस्थिति मल्ल नै बाहिरबाट आएर कन्यादान सँगसँगै गोत्रदान समेत लिएर छताछुल्ल र भताभुङ्ग भएको नेपाललाई राम्रो थिति बाँधेर व्यवस्थित गराई जयस्थिति मल्लको नामबाट कहलाएका थिए।

यसैगरी खसहरू पश्चिमबाट आएका थिए। खस भाषा र संस्कृतिमा समग्रताको भाव थियो। त्यसकारण खसहरू नेपालको राजनीतिमा आफ्नो वर्चस्व कायम गर्न सफल भए। नेपालीपनको भावनाको विकासबाट नै यी सबै कुराहरू सम्भव भएका हुन्।

समुदायबीचको सम्बन्ध

नेपाल भूगोलले सानो भए तापनि अनेकन जैविक विविधताले युक्त देश हो। हिमाल, पहाड, खोँच, टार, उपत्यका र मधेशको समथर मैदान नेपालका भौगोलिक विशेषता हुन्। नेपालमा विविध समुदाय बिचको समन्वयका राम्रा उदाहरणहरू पाइन्छन्। गण्डकीमाहात्म्यका अनुसार नेपालमा तनहुँको दमौली नेर मादी र सेतीको सङ्गममा भगवान् वेद व्यास जन्मनु भयो। भगवान् वेद व्यासका पिता पराशर ऋषि उपाध्याय बाहुन र आमा चाहिँ माझीकी छोरी डुङ्डुङ्ती माछा गन्हाउने मत्स्यगन्धा हुन्। चौकामा बसेर भागवत् वाचन गर्ने उपाध्याय ब्राह्मणले आफूलाई व्यासासनमा व्यास स्वरूपले रहेको छु भनेर गर्व गर्दछ। अतः नेपालमा जन्मेका भगवान् वेद व्यास वर्णवादी र आदिवासी जनजाति बिचको समन्वयको राम्रा नमूना हो। लिच्छविकाललाई नेपालको स्वर्णकाल मानिएको छ। लिच्छविकालमा जयदेव द्वितीय नामका राजा भए। उनले पशुपतिनाथलाई चाँदीको अष्टदल कमलको फूल चढाएर त्यस उपलक्ष्यमा त्यहाँ शिलापत्र राखेका छन्। प्राञ्जल संस्कृत भाषामा रचना गरिएको उक्त शिलापत्र पद्यमा छ, जसले लिच्छविकालको संस्कृत काव्यको उच्चकोटीको नमूना प्रस्तुत गर्दछ। लिच्छविकालमा ब्राह्मण र पाशुपतहरूको ठूलो महिमा र मर्यादा थियो तर जयदेव द्वितीयको उक्त पद्यमय शिलापत्रका रचयिता भने कुनै ब्राह्मण वा पाशुपत नभएर बुद्धकीर्ति नामक बौद्ध थिए। अतः जयदेव द्वितीय र बुद्धकीर्तिका चरित्रले नेपालमा धार्मिक सहिष्णुता, सांस्कृतिक समन्वय, सामाजिक सद्भाव र सहअस्तित्वको भावनालाई अघि बढाएको छ।

आजभन्दा एक हजार वर्ष अघि पूर्व मध्यकालमा पश्चिम नेपालको कर्णाली प्रदेशमा सपादलक्ष खसदेश विकसित थियो। त्यहाँ पुण्यमल्ल, पृथ्वीमल्ल आदि प्रतापी राजाहरू थिए। कोल्हु जोशी, विद्याकर पण्डित आदि विद्वान ब्राह्मणहरू थिए। ती प्रतापी राजाहरूले विद्वान् ब्राह्मणहरूलाई विर्ता दिएर सुनको पत्रमा त्यसको बेहोरा अङ्कित गराएका छन्। यसरी राजाले ब्राह्मणहरूलाई विर्ता दिँदा लम्बपादानां चत्वारिस्थानानि भनेर चार ठाउँका लामालाई साक्षी राखिएको छ। राजा अथवा क्षेत्री र बाहुन मिले ता भइहाल्थ्यो, किन यी जाड लामाहरूलाई साक्षी राख्न पर्‍यो ? धार्मिक सहिष्णुता, सांस्कृतिक समन्वय, सामाजिक सद्भाव, सहअस्तित्व र समावेशी भनेकै यही हो। यसैगरी यी खस राजाहरूले आफ्ना अभिलेखहरुमा ब्रह्मा, विष्णु, महेश्वर र बुद्ध, धर्म, संघलाई समान रूपले साक्षी राखेका छन्। पृथ्वी मल्लको दुल्लुको कीर्तिस्तम्भको उठान प्रसिद्ध बौद्ध षटाक्षरी मन्त्र ॐमणिपद्मेहुँबाट शुभारम्भ गरिएको छ। यसरी यी खस राजाहरूका क्रियाकलापले नेपाली समाजमा धार्मिक सहिष्णुता, सांस्कृतिक समन्वय, सामाजिक सद्भाव र सहअस्तित्वको भावनालाई अघि बढाएको छ।

यी भए इतिहासका कुरा। अहिले पनि जुम्लाको सिँजा, लामाथाडामा कनकसुन्दरीको मन्दिर र लामाजुको थान एकै ठाउँमा अवस्थित छ। जुम्ला सिँजाको लेकपरमा लामा–विष्णुको थान अवस्थित छ। एउटै देवतालाई लामा पनि विष्णु पनि मान्ने हुनाले लामा–विष्णु नाम रहेको हो। लामा–विष्णुको थानमा त्यस क्षेत्रका ब्राह्मण, तागाधारी खस, पावै खस र जाडहरू समान रूपले पूजा गर्न जान्छन्। अहिले पनि जुम्लाको सामाजिक एवम् सांस्कृतिक जीवनमा चार लामाको वर्चस्व कायम नै छ। जुम्लाका कुनै उपाध्याय बाहुनले आफ्नो थरको निजी पूजामा घाँसओडार लामा, होडेखोली लामा, खोजेडी लामा र कल्याण लामाको पूजा गर्दछन्। यसरी हिन्दू धर्मावलम्बी, आर्य संस्कृतिका अनुयायी तागाधारी उपाध्याय ब्राह्मणहरूले जाड लामाको पूजा गर्नु यो भन्दा ठूलो अर्को धार्मिक सहिष्णुता, सांस्कृतिक समन्वय, सामाजिक सद्भाव र सहअस्तित्वको नमूना अन्त कतै पाइँदैन।

मुस्ताङको मुक्तिक्षेत्रस्थित मुक्तिनाथलाई हिन्दूहरू भगवान् विष्णु र बौद्धहरू लोकेश्वर मान्दछन्। त्यहाँ पूजारीका रूपमा भोटेनी झुमा र सुवेदी ब्राह्मण रहेका छन्। गण्डकीप्रदेशका कोटहरूमा मगर पूजारी र बाहुन पुरेत मिलेर रहेका छन्। त्यहाँ तागाधारी र मतवालीको कुनै भेदभाव र द्वन्द्व छैन। काठमाडौँ उपत्यकाको वरिपरि स्थित आठओटा महादेवलाई यहाँका बौद्धहरु अष्टवैतराग वा अष्टबोधिसत्त्व मान्दछन्। अतः नेपालमा शिव र बुद्धका बिचमा भेदभाव छैन। त्यसकारण नेपालमाहात्म्यमा पार्वतीको आज्ञाबाट कारुणिक बुद्धले वाग्मती र मनमतीको सङ्गममा कारुणिकेश्वर शिवलिङ्ग स्थापना गरेको उल्लेख छ। वज्राचार्यहरूद्वारा बौद्धतन्त्र अनुसार पूजा गरिने साँखु वज्रयोगिनीलई अघिका नेपालका धर्माधिकारी श्री ६ बडागुरुज्यू खलकका पाण्डे ब्राह्मणहरू आफ्नो कुलदेवता मान्दछन्।

नेपालको मिथिलाक्षेत्रमा इस्लाम धर्मावलम्बी चिडिमारहरू छन्। ती चिडिमारहरू इस्लाम धर्मावलम्बी भए तापनि हिन्दू देवी देवताका गाथा गाउँछन्। मिथिलाक्षेत्रका अभिजात वर्गका राजपूत र ब्राह्मणहरूले विभिन्न पर्व पर्वणी र संस्कारहरूमा ब्राह्मणहरुलाई नभएर ती इस्लाम धर्मावलम्बी चिडिमारहरूलाई आफ्नो घरमा बोलाएर हिन्दू देवी देवताको गाथा गाउन लगाउँछन्। धार्मिक सहिष्णुता, सांस्कृतिक समन्वय, सामाजिक सद्भाव र सहअस्तित्वको यस्तो अनुपन र अनौठो उदाहरण अन्त पाइँदैन। मिथिलाञ्चलमा सीमा पारी भारतमा पनि मैथिली भाषा भाषी र मैथिली संस्कृतिका अनुयायीहरू छन् तर नेपालका मैथिली भाषी र मैथिली संस्कृतिका अनुयायीहरूमा सेलरोटीको प्रचलन छ र नेपालको मैथिली समुदायका छोरी–बुहारीहरूले नेपालको पहाडी महिलाले जस्तै आफ्नो शौभाग्यको रूपमा रातो पोतेमा उनेको तिलहरी लगाउँदछन्। यो प्रचलन नेपालका मैथिल समुदायको एउटा विशिष्ट सांस्कृतिक पहिचान हो।

दोलखाको कालिञ्चोक माईलाई तामाङका झाँक्रीहरूले पत्ता लगाएका थिए। यसैगरी ताप्लेजुङको पाथीभारा भगवतीलाई गुरुङका भेडी गोठालाहरूले पत्ता लगाएका थिए। अहिले यी भगवतीहरू सबैका पूजनीय छन्। यसरी नेपालका विभिन्न समुदायको सामाजिक एवम् सांस्कृतिक समन्वयको परिवेशबाट नेपाली राष्ट्रियताको विकास हुँदै आएको छ।

गोरखामा नीति निर्माण गर्ने बाहुनको संख्या धेरै थियो र गोरखामा खस, मगर एवम् गुरुङको संयुक्त सैन्यशक्ति पनि तयार भयो। अतः बाहुनहरूको रणनीति, खस, मगर एवम् गुरुङहरुको संयुक्त सैन्य बल र शासकहरूको विवेकपूर्ण एवम् कुशल नेतृत्व यो त्रिकोणात्मक शक्तिको कारणबाट नेपाल राष्ट्रको निर्माणमा गोरखा अघि बढ्न सकेको हो।

राष्ट्रिय समीकरण

आधुनिक नेपाल राष्ट्रको निर्माणको शुभारम्भ गोरखाबाट भएको हो तर यसको प्राग्रूप भने लमजुङमा भएको थियो। लमजुङमा घले राजा थिए। पुवार, भँडारी, रावत, शुयाँल, दुरा, घिमिरे यी ६ थरले लमजुङमा कस्केली राजकुमार कालु शाहलाई लमजुङमा राजा स्थापना गरे। लमजुङमा शाही राजा स्थापना गर्नमा घिमिरेको काम्लो र दुराको नाम्लो गरी कुसुमाकर घिमिरे र खजे दुराको ठूलो भूमिका रहेको थियो तर लमजुङका गुरुङहरूले कालु शाहलाई मारिदिए। त्यसपछि पनि उपरोक्त ६ थरले यशोब्रह्म शाहलाई लमजुङमा राजा स्थापना गरे। यस पटक भने खसान्त भाइ (खस बाहुन) र शेषान्त भाइ (गुरुङ) को बिचमा सम्झौता भयो र यशोब्रह्म शाहले लमजुङमा एकछत्र राज्य गरे। नेपाल राष्ट्रको निर्माणका लागि  समुदायबीचको समन्वयको यो एउटा राम्रो नमुना हो।

द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा उनको साथमा अट्ठारजना गुरुङ उमराहरू थिए। सैन्यशक्तिमा गोरखाभन्दा लमजुङ बलियो थियो तर नेपाल राष्ट्रको निर्माणमा लमजुङ किन अघि बढ्न सकेन ? यो कुरा विचारणीय छ। यस सन्दर्भमा एउटा तथ्य एवम् वास्तविकता ज्यादै मननीय छ। त्यो के भने बाहुनहरूको रणनीति, क्षेत्रीहरूको नेतृत्व, नेपालका प्रमुख लडाका जाति गुरुङ, मगर, राई, लिम्बु र दुराहरूको सहभागिता, नेवारहरूको आर्थिक समुन्नति तथा कला कौशलको विकास, मधेशको अन्न र भोटको नूनबाट नेपाल राष्ट्रको निर्माण भएको हो। नेपाल राष्ट्रको निर्माणमा लामाहरूको पनि योगदान रहेको छ, किनभने भुटानका औतारी लामाको तन्त्रमन्त्र र औषधीमूलोबाट पृथ्वीनारायण शाहको जन्म भएको विश्वास गरिन्छ। लमजुङमा नीति निर्माण गर्ने बाहुनहरू थोरै थिए। यसैगरी खस, मगर र गुरुङहरूको संयुक्त बलबाट निर्माण गरिएको सैन्य संगठन नेपाल राष्ट्रको निर्माणका लागि अत्यन्त बलशाली र सफलिभूत प्रमाणित भएको थियो तर लमजुङमा खस र गुरुङ भए तापनि मगरको संख्या थोरै थियो। गोरखाका ६ थरमा पाँडे, पन्त, अर्याल, खनाल, बोहोरा र राना थिए। यसरी गोरखामा नीति निर्माण गर्ने बाहुनको संख्या धेरै थियो र गोरखामा खस, मगर एवम् गुरुङको संयुक्त सैन्यशक्ति पनि तयार भयो। अतः बाहुनहरूको रणनीति, खस, मगर एवम् गुरुङहरुको संयुक्त सैन्य बल र शासकहरूको विवेकपूर्ण एवम् कुशल नेतृत्व यो त्रिकोणात्मक शक्तिको कारणबाट नेपाल राष्ट्रको निर्माणमा गोरखा अघि बढ्न सकेको हो।

गोरखाली राजाहरूले पहिलेदेखि नै पूर्वतिर बढ्ने कोशिस गरेका थिए। यसमा नेपालमण्डलका नेवारहरूले पनि सहयोग गरेका थिए तर पृथ्वीनारायण शाहको पालामा आएर मात्र यो अभियान सफल भयो। चन्द्रागिरिको डाँडाबाट नेपाल उपत्यका देखेपछि पृथ्वीनारायण शाहमा महत्वाकांक्षा जागृत भयो, जसलाई इतिहासविद्हरूले नेपालको एकीकरणको सपना मानेका छन्। नेपालमण्डलका मल्ल राजाहरू सन्धि गर्न पर्‍यो भने पचासौँ हजार रूपैयाँ लेनदेन गर्दथे। सुनको पत्रमा सन्धिको बेहोरा लेखेर मूलचोकमा टाङ्दथे तर गोरखा भने आर्थिक अवस्थामा दुब्लो थियो। बिसे नगर्चीको सल्लाहबाट बाह्र हजार गोरखाको घरैपिच्छे १/१ रूपैयाँ उठाएर बाह्र हजार रूपैयाँ पोको पारेर पृथ्वीनारायण शाह हातहतियार किन्न काशी गएका थिए।

यसरी कुनै पण्डित र भाइ भारदारहरूले कसरी आर्थिक स्रोत जुटाउन सकिन्छ भनेर उपाय सोच्न नसकेको अवस्थामा एउटा दमैको अर्तिबाट पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माणको अभियान सफल पार्न अर्थ सङ्कलन गरेका थिए। जब पृथ्वीनारायण शाह पूर्वतिर बढ्न थालेका थिए, उनी माथि ठूलो षडयन्त्र भयो। परशुराम थापा क्षेत्रीले पृथ्वीनारायण शाहलाई काठमाडौँ बोलाएर जयप्रकाश मल्ललाई काबु गर्ने र जब पृथ्वीनारायण शाह अघि बढ्छ, त्यसबेला बाइसी, चौबिसीलाई उठाएर गोरखा माथि आक्रमण गरी गोरखाको अस्तित्वलाई नै नामेट पारेर आफै हर्ताकर्ता हुने षड्यन्त्र रचेका थिए। यो कुरा थाह पाएपछि पोखरा गएर परशुराम थापाका भाइलाई बैठाएर यो षडयन्त्र असफल पार्न कसले सक्ला भनेर ठूलो भारदारी सभामा सोधनी हुँदा कसैले पनि मैले सक्छु वा फलानाले सक्ला भन्न सकेनन। अन्तमा पृथ्वीनारायण शाह स्वयंले यो काम झागल गुरुङले सक्ला भनेर उनलाई यसको जिम्मेवारी सुम्पे। झागल गुरुङ एक्लै पोखरा गएर परशुराम थापाको भाइलाई बैठाएपछि पृष्ठशोधन गरेर पृथ्वीनारायण शाह नेपालको एकीकरणमा अघि बढेका थिए। यसरी झागल गुरुङको पुरुषार्थ र बिसे नगर्चीको कुशल विचारबाट नेपाल राष्ट्रको निर्माणमा आदिवासी जनजाति एवम् दलित समुदायको महत्वपूर्ण योगदान रहेको र यो राष्ट्र सबैको साझा हो भन्ने स्पष्ट हुन्छ।

सिन्धुलीगढीमा अङ्ग्रेजले आक्रमण गर्दा त्यसलाई रोक्नका लागि पृथ्वीनारायण शाहले खजाञ्ची वीरभद्र उपाध्यायलाई शिकारीको सर्दार वंश गुरुङ साथ लगाएर पठाएका थिए। काजी वंशराज पाँडे र काजी श्रीहर्ष पन्थ पनि त्यहाँ पुगे। यसरी बाहुन, क्षेत्री र गुरुङ मिलेर अङ्ग्रेजलाई परास्त गरी नेपालको अस्मिता जोगाएका थिए।

सिन्धुलीगढीमा अङ्ग्रेजले आक्रमण गर्दा त्यसलाई रोक्नका लागि पृथ्वीनारायण शाहले खजाञ्ची वीरभद्र उपाध्यायलाई शिकारीको सर्दार वंश गुरुङ साथ लगाएर पठाएका थिए। काजी वंशराज पाँडे र काजी श्रीहर्ष पन्थ पनि त्यहाँ पुगे। यसरी बाहुन, क्षेत्री र गुरुङ मिलेर अङ्ग्रेजलाई परास्त गरी नेपालको अस्मिता जोगाएका थिए। बहादुर शाहको नायवी कालमा नेपाल र भोट–चीनको युद्ध भयो। चीनका बादशाहका ज्वाइँ उजिर टुङ्थाङ् ठूलो चिनीयाँ र तिब्बती सेना लिएर बेत्रावती आइपुगे। नेपालले चीनसँग सन्धि वार्ता चलाउनका लागि चिनीयाँ छाउनीमा कपर्दार भोटु पाँडे र टक्सारी नरसिंह गुरुङलाई पठाएको थियो। वि.सं.१८४९ मा नेपाल र भोट–चीनको सन्धि तय भयो। काजी देवदत्त थापा, सुब्बा प्रतिमन राना, टकसारी नरसिंह गुरुङका छोरा जयन्त गुरुङ सन्धिपत्र र सरसौगात लिएर चीन बादशाह कहाँ गएका थिए। यसरी नेपालको राजधानीबाट एकदिनको दरम्यान वेत्रावतीमा विशाल चिनीयाँ सेना आएर थुप्रिँदा क्षेत्री, गुरुङ र मगरले नेपाल माथिको उक्त अरिष्ठलाई बडो कुशलतापूर्वक टारिदिएका थिए। सन्धि भएको तीन वर्षपछि वि.सं. १८५१ मा नरसिंह गुरुङ काजी भई शाही उपाधि समेत प्राप्त गरेर चीन वादशाहकहाँ जाने प्रतिनिधि मण्डलको प्रमुख भएर चीन गएका थिए।

भोट र चीनतिरको अरिष्ट टरेपछि नेपालले किल्ला काँगडातिरको विजय अभियान प्रारम्भ गरे। त्यस सन्दर्भमा कप्तान बलभद्र कुँवरले नालापानीको किल्लामा अङ्ग्रेजसँग डटेर लडेको इतिहास हामी पढ्दछौँ तर नालापानीको किल्ला भने कप्तान अङ्गद घलेले बनाएका थिए। यसरी गुरुङले बनाएको किल्लामा क्षेत्रीले वीरतापूर्वक अङ्ग्रेजसँग लडेको छ। मलाउको किल्लामा ७२ वर्षका कप्तान भक्ति थापाले वीरगति प्राप्त गरेका थिए। त्यही युद्धमा सुब्बा प्रह्लाद गुरुङले राजगढको युद्धमा वीरगति प्राप्त गरेका थिए। महाकाली नदीलाई साँध लगाएर नेपाल र अङ्ग्रेजको बिचमा भएको सन्धिको सन्धिपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने नेपाली भारदारहरूमा चौतारिया बम शाह, काजी चामु भण्डारी, कप्तान अङ्गद घले र सरदार जसमर्दन थापा थिए। यसरी अङ्ग्रेजसँगको सन्धिमा पनि नेपालका विविध समुदायको सहभागिता रहेको पाइन्छ।

जङ्गबहादुर राणाको समयमा भएको नेपाल र भोटको पहिलो युद्धमा नेपालले हार बेहोर्न पर्‍यो। भीमसेन थापाको समयमा लेटर कम्पु नामक कम्पनी जमाएको थियो। लेटर कम्पुमा बाहुन र क्षेत्रीहरू थिए। बाहुन, क्षेत्रीहरू कछाडे जात भएकाले भोटको सीमानामा जाडो खप्न नसकी राम्ररी गढी कुर्न सकेनन् र राजाको प्रशस्ति लेखेको तोप पनि भोटले लुटेर लग्यो। त्यसपछि कान्छा जर्नेल धीर शमशेर राणाको तैनाथमा थप सेना खटिएर गयो। त्यसमा कालीबकस कम्पनी पनि खटिएको थियो। पृथ्वीनारायण शाहको पालामा अङ्ग्रेज र मुसलमानलाई जितेपछि तिनीहरूबाट लुटेको हातहतियारबाट गोरखनाथको नाउँबाट श्रीनाथ र गोरखकालीको नाउँबाट कालीबकस कम्पनी जमाएको थियो। श्रीनाथ कम्पनीमा मगर र कालीबकस कम्पनीमा गुरुङहरु बढी थिए। गुरुङहरू हिमालको भेडीगोठमा नाङ्गै दगुर्ने लेकाली जात भएको हुँदा जाडोले प्रभाव पार्न सकेन र भोटले लुटेर लगेको तोप पनि खोसेर ल्याए। युद्धमा नेपालको जित भयो। त्यसपछि थापाथली दरबारमा सन्धि भयो र भोटले वर्षेनी नेपाललाई रु.१०,०००।– सिर्तो तिर्ने सम्झौता भयो। लेटर कम्पुले इज्जत फाल्यो, कालीबकस कम्पनीका गुरुङहरूले नाम राख्यो भनेर लेटर कम्पुलाई खारेज गरी त्यसको तानाबाना लगाउने गरी कालीबकस कम्पनीका गुरुङहरुलाई झिकुवा गरेर गुरुङ जातिको मात्रै सेना भएको कालीबहादुर पल्टन खडा गरियो। कालीबहादुर पल्टनको बहादुरी र इमान्दारीको मूल्याङ्कन गरेर उक्त पल्टनलाई श्री ३ महाराजको रोयल गार्डमा नियुक्त गरियो। थापाथली सन्धिअनुसार वि.सं. १९१२ देखि वि.सं. २०१२ एक शताब्दीसम्म भोटले नेपाललाई प्रतिवर्ष वार्षिक रु. १०,०००।– सिर्तो तिर्दथ्यो। यसरी एक शताब्दीसम्म तिब्बतलाई नेपालको आर्थिक उपनिवेश बनाउने काममा कालीबहादुर पल्टनका गुरुङ सैनिकहरूले ठूलो योगदान दिएका थिए।

राणाकालमा चन्द्रशमशेर राणाको शासन ज्यादै कडा मानिन्थ्यो। पिताजी कृष्णप्रसाद कोइराला र कविवर धरणीधर कोइरालाले देशको शासन व्यवस्थाका सम्बन्धमा सुझाव दिनका लागि चन्द्रशमशेर राणासँग भेट्न चाहे तर चन्द्रशमशेर राणाले उनीहरूलाई भेट दिएनन्। त्यसपछि पिताजी कृष्णप्रसाद कोइरालाले घेरो मात्र भएको टोपी, कुम फाटेको भोटो र रातो माटो लट्पटिएको धरो मात्र भएको कछाड पोको पारेर तेरो रैतीको हालत यस्तो छ भनेर चन्द्रशमशेर राणालाई पढाए। कविवर धरणीधर कोइरालाले देशभक्तिपूर्ण कविताहरू लेखेर त्यसलाई नैवेद्यका रूपमा चन्द्रशमशेर राणालाई पढाए।

पिताजी कृष्णप्रसाद कोइराला र कविवर धरणीधर कोइरालाले नौतनवाको रेल्वे प्लेट फर्ममा हरमोनियमको तरजमा नैवेद्यका देशभक्तिपूर्ण कविता वाचन गरेर वृटिस सेनामा जागिर खाएर रज छुट्टिमा आउने जाने गोरखाली सेनालाई सुनाउने प्रबन्ध मिलाएका थिए। नौतनवाको रेल्वे प्लेटफर्म अङ्ग्रेजी पल्टनमा जागिर खाने पश्चिम नेपालका गुरुङ–मगरका सैनिकहरूको आउने जाने नाका थियो। अतः उक्त देशभक्तिपूर्ण कविताबाट प्रभावित भई स्याङ्जा, आँधिखोलाका जमदार केशरसिंह गुरुङले त्यसबेलाको अङ्ग्रेजी पल्टनको जमदारी जागिर छोडेर राणाशासनका विरुद्ध जनजागरणको प्रचार गर्दै वि.सं.१९७२ फागुन ७ गते काठमाडौँ आई चन्द्रशमशेर राणालाई भेटेर देशको शासनमा जनताको सहभागिता हुनुपर्छ भनेर सुझाव दिए। त्यसपछि वि.सं.१९७६ पुसमा चन्द्रशमशेर राणाले आधा राणापक्ष र आधा जनतापक्षका सदस्यहरू भएको नगरपालिका गठन गरे। त्यसैलाई नेपालमा प्रजातन्त्रको स्थापनाको सुरुआत मानिएको छ। यसरी नेपालमा प्रजातन्त्रको स्थापनाको लागि बाहुनहरूले रणनीति बनाएका थिए तर बिरालोको म्याउ भन्ने मुख चाहिँ एउटा लाहुरे गुरुङले समातेर नेपालमा प्रजातन्त्रको स्थापना गरी अहिलेको यो अवस्थामा आइ पुगेको हो।

अब वर्तमानको कुरा गरौँ। अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ। धर्मनिरपेक्षता विकसित भएको छ। यस सन्दर्भमा गणतन्त्र नेपालको राष्ट्रिय गानको रचना व्याकुल माइला वाम्बुले राईले गरेका छन्। राष्ट्रिय गान छनोट समितिका संयोजक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी थिए। वरिष्ठ सङ्गीतज्ञ अम्बर गुरुङले सङ्गीत भरेका थिए। संस्कृति मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदमा उक्त राष्ट्रियगान प्रस्तुत गरेका थिए। सभामुख सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा गणतन्त्र नेपालको राष्ट्रिय गान लोकार्पण गरिएको थियो।

यी आदिवासी जनजातिहरूले तर्जुमा गरेको गणतन्त्र नेपालको राष्ट्रिय गानलाई आज हिमाल, पहाड र तराईका हामी सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरूले सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली भनेर बडो गर्वका साथ गाइरहेका छौँ। पृथ्वीनारायण शाहले नेपाललाई चार वर्ण छत्तीस जातको साझा फूलबारीको उपमा दिएका छन्। यसरी आदिमकालदेखि वर्तमानसम्म हामी सबै नेपालीहरू एकआपसमा आबद्ध भई सिङ्गो नेपाल राष्ट्रको निर्माण र एक ढीक्का नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन र विकास गरिआएका छौँ।

अतः सिङ्गो नेपाल राष्ट्रको सुदृढीकरण र एक ढीक्का नेपाली राष्ट्रियताको दिगो विकासका लागि हामी सबै मिलेर प्रण गरौँ – वयं राष्ट्रे जागृयाम पुरोहिताः।

पुस २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्