बैंकक जानुअघि ओलीका दुई टिप्पणी

स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गर्नुपूर्व विमानस्थलमा पत्रकारहरुसँग एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर: आरजु

१. निर्वाचन आयोग ब्ल्याक मेलिङको सिकार भएको सुुनिन्छ

२. कानुन नजाने डा. गोविन्द केसीलाई सोध्नुहोला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र डा. गोविन्द केसीलाई जोडेर व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका छन्। कानुनी प्रावधानलाई नै पछ्याउँदा निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ भएको अभिव्यक्ति दिइरहेको आयोग र चिकित्सा शिक्षा क्षेत्रको शुद्धीकरणका लागि सत्याग्रहमा होमिएका डा. केसीमाथि ओलीले टिप्पणी गरेका छन्।

नियमित स्वास्थ्य परिक्षणका लागि ओली बैंकक प्रस्थान गर्न लागेकोबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले त्यस्तो टिप्पणी गरेका हुन्।

उनले एकै वाक्यमा भने, ‘सुनिन्छ कि निर्वाचन आयोग ब्ल्याकमेलिङको सिकार भएको छ। कति साँचो त्यो तपाईँहरु (सञ्चारकर्मी) नै जान्नु होला, यदि आयोगलाई कानुनी कुरामा केही अप्ठेरो लाग्यो भने गोविन्द केसीलाई सोध्नु होला। गाेविन्द केसीजीले अहिले धेरै कुरा फटाफट भनिराख्नु भएको छ। के के भन्नु भयो त्यो अदालतले पनि बुझ्ला।

डा. केसीबारे थप प्रश्न सोध्दा जवाफ दिन नचाहेका ओलीले सरकारले पहिले अध्यादेशको नाममा अहिले प्रदेश प्रमुख नतोकेको नाममा नयाँ सरकार गठनको बाटो नखोलेको आरोप समेत लगाए। ‘कहिले के बहानामा कहिले के बहानामा सरकार अल्झिरहेको छ, जनमतलाई ठाडै कुल्चिएर। जनमतले नयाँ सरकार बनाउन अधिकार दिएपनि लज्जाजनक ढंगले नयाँ सरकार गठनलाई लम्बाउन चाहन्छ,’ ओलीले भने।

उनले बाम एकता विथोल्न प्रयासरत शक्तिको दबाबमा निर्वाचन परिणाम सार्वजनिक नगरेको र राष्ट्रियसभा गठनका लागि आवश्यकै नपरे पनि दल दर्ताका लागि १५ दिन तोकेर सरकारले गल्ती गरेको बताए।

१५ दिनमा बाम एकता

वाम एकता नहुने आशंका उव्जिरहेका बेला ओलीले भने एकताका लागि एमाले र माओवादीबीच तीव्र रुपमा छलफल अघि बढेको र त्यसबारे शंकाउपशंका गर्ने ठाउँ नै नभएको बताए। प्रदेश सरकार गठन लगायत विषयको गृहकार्यका लागि कार्यदल बनिसकेको र आफू बैंककबाट फर्किएर आउनासाथ आवश्यक थप कार्यदलहरु बनाउने तयारीमा जुटेको उनको भनाइ छ।

‘दुई पार्टीको एकता हुने भएपछि आत्तिएका या तर्सिएका शक्तिहरुले यसलाई बिथोल्न नांगै हस्तक्षप गरिरहेका छन्। मुलुकलाई अस्थिरतामा थकल्न त्यस्ता शक्ति उद्धत भएको देखिन्छ,’ ओलीले व्यांग्यात्मक शैलीमा भने, ‘खुरापातीमै पिएचडी गरेका डाक्टरहरु लागेका छन्। उनीहरुलाई म भन्न चाहन्छु, तपाईहरु यो हिउँदमा घाम ताप्नुहुन्छ तर पार्टी एकता भने भएर छोड्छौ।’

एकिकृत पार्टीको अध्यक्ष को हुने भन्नेबारे बोल्नु अहिले हतारो हुने उनको भनाइ छ। ‘अब १५ दिनमै एकता गर्दै छौं भने अहिले बोल्नु जरुरी छैन। हामीलाई नेताको व्यवस्थापन भन्दा पनि जनताको व्यवस्थापनको चिन्ता छ,’ सँगै रहेका पार्टीका प्रभावशाली नेता ईश्वर पोखरेल, बाम देव गौतम लगायतलाई हेर्दै उनले भने।

 

यो पनि पढ्नुहोस्…

बाम एकता म बैंककबाट फर्किएपछि- ओली

एमाले अध्यक्ष ओली आज स्वास्थ्य परीक्षण गर्न बैंकक जाने

पुस २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्