जब एसपी सिंहले फिल्मी शैलीमा ट्याक्सी नै उचालेर सडकबाट हटाए

पोखरामा सडक अवरुद्ध गरेका ट्याक्सीहरुलाई हटाउँदै प्रहरी। तस्बिर: देशसञ्चार

पोखरा- सहकर्मी रिहाइको माग गर्दै बाटोमा ट्याक्सी रोकेर विरोधमा उत्रेका ट्याक्सी व्यवसायीहरुलाई प्रहरीले शान्तिपूर्ण तरिकाले तितर वितर पारेको छ।

कास्की प्रहरी प्रमुख अशोक सिंह फिल्मी शैलीबाट सडकमा उत्रिएर अनियन्त्रित भिडलाई शान्तिपूर्ण तरिकाबाट अवरोध हटाएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले अवरोध हटाउन पटकपटक आग्रह गर्दा समेत झनै आक्रोशित बनेर प्रशासन विरुद्ध चर्को नाराबाजी गर्दै अवरोध सिर्जना गरेका थिए। तर, एसपीको कमाण्डमा पुगेको प्रहरी जत्थाले ट्याक्सीलाई नै उचालेर सडकछेऊ पुर्‍याएर सडकको अवरोध हटाएको थियो ।

ट्याक्सी चालकले प्रशासनलाई चुनौती दिँदै बाटो कब्जा गरेर अवरोध सिर्जना गरेको विषयमा सामाजिक सञ्जालभरि प्रशासनको निरीहताको चर्को आलोचना भइरहेको थियो।

धेरैको आशंका थियो, अब प्रहरीले लाठी चार्ज वा कुनै अप्रिय घटनाको आशंका स्थानीय गरिरहेका थिए।

तर प्रहरीको सक्रियताले शान्तिपूर्ण तरिकाबाट अवरोध हटेपछि स्थानीयमा खुशी छायो। ट्याक्सी चालकले पोखराको पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, चिप्लेढुंगा लगायतका मुख्य चोकमा ट्याक्सी पार्किङ गरेर आन्दोलनमा उत्रिएका थिए।

मिटरमा ट्याक्सी चलाउन नमानेपछि मंगलबार बेलुकी पोखराका विभिन्न स्थानबाट कास्की प्रहरीले ट्याक्सीसहित १७ जनालाई नियन्त्रणमा लिएको थियो। सवारी चाप बढी हुने समयमा मुख्य चोकमा नै ट्याक्सी तेर्साएर सवारी आवागमन बन्द गर्दा बाटोमा बिरामी बोकेका एम्बुलेन्सले रोकिन पुगेका थिए।

उपभोक्ताहरुलाई मनपरी भाडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमूख अशोक सिंहले बताए।

नियन्त्रणमा लिइएका चालकहरुलाई यातायात कार्यालय पठाएको एसपी सिंहले जानकारी दिए।

एसपी सिंहले भने, ‘मनपरि ढङ्गले भाडा लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि नियन्त्रणमा लिन बाध्य भयौं।’

यस्तै नेपाल यातायात मजदुर संघले बुधबार विज्ञप्ती जारी गर्दै पक्राउ परेका चालकलाई बिनासर्त रिहाई गर्दै दिर्घकालीन समस्याको समाधान माग गरेको छ। संघका अध्यक्ष दामोदर पण्डितद्वारा जारी विज्ञप्तिमा महँगीको यो अवस्थामा १४ रुपैयाँ मिटरमा ट्याक्सी चलाएर गुजारा गर्न नसकिने भन्दै आफ्नो साथीहरुको बिनाशर्त रिहाइको माग गर्दै सडकमा उत्रिएको उल्लेख छ।

पोखरामा सञ्चालित ट्याक्सीमा मिटर सञ्चालनको विषय पटकपटक आइरहेको र यो विषयमा व्यवसायी संस्था मजदुर संघ, संगठन, प्रशासन, उपभोक्ता नागरिक समाजको छलफलले सम्पूर्ण अवस्था जाँचबुझ गरी सञ्चालन गर्न मजदूरलाई जानकारी दिनुपर्नेमा यसो नभई पटकपटक मजदुरलाई दुख दिने काम भइरहेको जनाइएको छ।

सडक अवरुद्ध गरेका ट्याक्सी हटाउँदै प्रहरी। तस्बिर: देशसञ्चार
पुस २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्