उनलाई एकछिन फुर्सद छैन। बिहान जिम गर्छन, दिउँसो क्रिकेट र बास्केटबलको तयारी। साँझ तेक्वान्दो सिक्न जान्छन्। बेलाबखत आफूले सिकेको ज्ञान र सिप बाँड्न पनि पछि हट्दैनन्।‘मसँग ह्विलचेयर थिएन भने सायद आज यस ठाउँमा हुने थिइन।

ह्विलचेयरले जीवनबारे बुझाइ गहन बनाएको छ। यसैले गर्दा समाजमा चिनिने भोक तीव्र छ’, उनी भन्छन्।

यी युवाको दैनिकी देख्ने र बुझ्नेहरु भन्छन्,सुतिरहेका बेला दिमागमा उनी आइहाले उठेर काम सुरु गरिहालौं लाग्छ। उनलाई आँसु पटक्कै मन नपर्ने रहेछ।  ‘मेरो शारीरिक अवस्था देखेर आँसु झार्नेदेखि पर भाग्छु। त्यस्ता कुराले मलाई कमजोर बनाउँछ। समाजमा मेरो पनि अस्तित्व छ भन्ने बिर्साउँछ’, ह्विलचेयर क्रिकेट र बास्केटबल टोलीका कप्तान हिमाल अर्याल एकाएक भावुक बने।

मलाई अपांगता भएका ती खेलाडीबारे जान्नु थियो जसले ह्विलचेयरमा बसेर क्रिकेट खेल्दै गत महिना नेपाल, भारत र बंगलादेशबीच भएको प्रतियोगिता जितेका थिए, नेपाल र नेपालीलाई खुसी दिएका थिए। मलाई बुझ्नु थियो, उनीहरु कसरी ह्विलचेयरमा पुगे अनि कसरी ह्विलचेयरलाई बिर्सेर देश चिनाउने सपना देखे। मलाई जान्नु थियो, उनीहरुको संघर्ष।

नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छोल्टिङ ग्याल्जेन शेर्पालाई सम्पर्क गरेपछि नेपाली टोली सानेपास्थित क्रिकेट सेन्टरमा दिउँसो नियमित प्रशिक्षण गर्न आउने बुझेँ। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको उक्त क्रिकेट प्रशिक्षण केन्द्रमा निशुल्क तयारीको व्यवस्था भएको रहेछ, ह्विलचेयर क्रिकेट खेलाडीलाई।

सहकर्मी सुलभ श्रेष्ठसहित त्यस क्रिकेट सेन्टरमा पुग्दा ह्विलचेयरमा बसेर कोही ब्याटिङ गरिरहेका थिए त कोही बलिङ। आसपासमा बसेर फिल्डिङ गर्ने पनि ह्विलचेयर खेलाडी नै थिए। एक छेउको ह्विलचेयरमा बसेर ती दृश्य हेरिरहेका थिए एक ‘स्मार्ट’ युवा जसको आँखामा ब्रान्डेड चस्मा थियो। मिलेका जुँगा भएका हँसिला ती युवा टाढाबाट आत्मविश्वासी देखिन्थे। ‘उहाँ हाम्रो कप्तान’, मेरो प्रश्नमा ती युवातर्फ देखाउँदैं अभ्यासरत वीपिन पौडेलले भने।

‘मेरो नाम हिमाल अर्याल। २०६० सालमा मकवानपुरमा माओवादीले थापेको एम्बुसमा परेर ट्रक लडेपछि नदीमा पछारिँए। उठ्न खोज्दा जिउ चल्मलाएन। खुट्टा छाम्दा कुनै चेत पाइन। अस्पतालमा पुगेपछि थाहा भयो मेरो स्पाइनल कर्ड चुँडिएको रहेछ। केही सोच्नै सँकिन, अध्याँरै अध्याँरोमात्र देखेँ,’ मेरो नमस्कारमा नमस्कार मिलाउँदै अर्यालले १४ वर्षअघिको त्यो कालो दिन सम्झिए। जर्नेल सागरबहादुर पाण्डे र उनकी श्रीमती चढेको उक्त ट्रक एम्बुसमा पर्दा चार जनाको मृत्यु भएको थियो।

श्रीमतीसहित जर्नेल पाण्डेले पनि ज्यान गुमाए। घाइते भएका नौ जनामध्ये आठ जना उपचारपछि सामान्य जीवनतर्फ फर्किए तर तमाम आशाबीच हिमाल मात्रलाई ह्विलचेयरले पछ्याईरह्यो, अनन्त जीवनसम्म।

घटना हुँदा हिमाल केवल २४ वर्षका थिए, आर्मीमा प्रवेश गरेको केवल चार वर्षमात्र भएको थियो। रुपन्देहीमा जन्मिएका हिमाल परिवारको कान्छो छोरा भएकाले पनि सबैको प्यारो थिए। हिमालको कलिलो उमेर र त्यस दुर्घटनापछि परिवार दु:खी हुनु अस्वभाविक थिएन। ‘अस्पतालमा उहाँहरु(आमाबुबा)ले मलाई देख्ने बित्तिकै रुन थाल्नु हुन्थ्यो, मेरो आँखाबाट पनि आँसु झरिहाल्थ्यो। पटकपटक यो दोहोरिरहेपछि आमाबुवा कोही भेट्न नआई दिए हुन्थ्यो जस्तो लाग्न थाल्यो’, हिमालले भने।

अस्पतालबाट डिस्चार्ज भएपछि उनी केही समय आर्मीकै रिह्याब सेन्टरमा बसे। उनलाई दुर्घटनापछि घर फर्कन चार वर्ष लाग्यो। तर दुनियाँ उनीप्रति फरक भइसकेको थियो। माओवादी जनयुद्धमा घाइते भएका हिमाल जनआन्दोलनपछि घर फर्कँदा गाउँ समाजले उनलाई हैन उनको ह्विल चेयरलाई पहिला हेर्‍यो।

‘सबैले मेरो ह्विलचेयरलाई कोट्याए। मलाई हौसला र उत्साह हैन, विचरा भनियो जुन मलाई पटक्कै मन परेको थिएन’, हिमालको तितो अनुभव छ।

यी सबै घटनामार्फत जीवनले उनको परीक्षा लिइरहेको थियो, उनले जीवन बुझिरहेका थिए। उनी आफूभित्र जीवन खोज्न थाले। समयको कुहिरोभित्र छिरेका हिमालअगाडिको बाटोले बिल्कुल अन्यौलग्रस्त र छटपटिएका थिए। तर उनलाई थाहा थियो, आफुलाई सम्हाल्न सक्ने केवल उनी आफूमात्र हुन्।

भौतारिंदै जाँदा ह्विलचेयरमै संगीत सिके, नाच्न जानेँ। भारतसहित देशका विभिन्न ठाउँमा पुगेर उनले स्टेजमा नृत्य देखाए, ह्विलचेयरबाटै। उनले पेन्टिङ गर्न पनि जानिसकेका थिए।

‘समाजमा म आफ्नो अस्तित्व खोज्न थालें। समाजले मेरो ह्विल चेयरलाई कसरी बिर्सन्छ भन्नेतर्फ मेरा योजना केन्द्रित हुन्थे’,३८ वर्षीय हिमालले यसो भनिरहँदा मैले खोजेको ‘कथा’को सबैभन्दा उत्तम प्रतिनिधि पात्र यिनै हुन् भन्ने चेतना आइसकेको थियो।

एकदिन हिमाल भृकुटीमन्डपमा ह्विलचेयरमा हिँडिरहेका थिए, भेट भए मानबहादुर लोप्चन जो ह्विलचेयरमै बसेर ओलम्पिक समेत खेलेका थिए। मानबहादुरले हिमाललाई आर्मी भएकाले ‘तिमी खेल्न सक्छौं’ भनेपछि उनको ध्यान खेलकुदले तान्यो। ‘आर्मीमा रहेका हामीजस्ताका लागि खेल्न सकिन्छ भन्ने सोच त्यतिबेलासम्म थिएन। त्यसपछि अपांग खेलाडीले खेलेकोबारे युटुबमा हेर्न थालें। कसरी खेल्छन् सिक्न थालें’, हिमाल भन्छन्।

जीवनमा अकल्पनीय घटना उनका लागि सामान्य बन्दै थिए। उनको सोचमा गर्न सकिन्छ भन्नेमात्र थियो।

उनले भारोत्तोलन सिक्न थाले। एक वर्षपछि नै सन् २०१० मा पारा एसियन गेम्स (अपांग खेलाडीले खेल्ने प्रतियोगितालाई पारा खेलकूद भनिन्छ) खेले। सोही वर्षदेखि बास्केटबल पनि खेल्न थाले। त्यतिबेला नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस संघले ह्विलचेयरसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरु आयोजना गर्न थालेको थियो। ह्विलचेयर बास्केटबलका घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुन थाले।

पछिल्लो तीन वर्षयता हिमालले क्रिकेट पनि खेल्न थालेका छन्। उनले खेल्न थालेको पछिल्लो खेल तेक्वान्दो बनेको छ। ‘जब पहिलोपटक नेपालको झन्डा छातीमा राखेर खेलें, त्यो दिन जिन्दगीकै वर्णन गर्न नसकिने खुसी प्राप्त भएको थियो। मैले खोजेको खुसी, देखेको सपना त्यहाँ पाइरहेको थिएँ’, हिमाल भन्छन्।

माया ठूलो कुरा

हिमाल जहाँजहाँ खेल्न पुगे, प्राय पदकविहीन भएर कहिल्यै फर्किनु परेन। ती पदककै आधारमा आर्मीले उनलाई दुईपटक बढुवा गरिदिएको छ र हाल सुवेदार छन्।

मलाई उनले जितेका पदकहरु हेर्नु थियो। उनले ‘तर, यी पदक र सफलतामा मेरी श्रीमतीको योगदान ठूलो छ’ भनेपछि मलाई लाग्यो, हिमालको कथामा श्रीमतीको उपस्थिति महत्वपूर्ण छ। आफ्नो शारिरिक अवस्थालाई बुझिदिने श्रीमती नभएको भए आज यहाँसम्म आईनपुग्ने स्वयं हिमाल बताउँछन्। ‘अझ मैले त ह्विलचेयरमा पुगेपछि मात्र विवाह गरेको हुँ। श्रीमती सवलांग छिन्’, हिमालको कुरा सुनेर उनकी श्रीमतीसँग कुराकानी गर्ने हुटहुटी थप बढेर आयो।

भोलिपल्ट हामी छाउनीस्थित हिमालको सरकारी क्वार्टरमा पुग्यौं। आर्मीले आफ्ना अशक्त कर्मचारीका लागि जागिर अवधिसम्म त्यहाँ बस्ने ब्यवस्था मिलाई दिएको रहेछ। हामी पुग्दा हिमालकी पत्नी इन्दिरा खाना बनाउँदै श्रीमानसँग गफ गरिरहेकी थिइन्। ‘हामी बुढाबुढी एकछिनमा रिसाँउछौं एक छिनमा फकाईहाल्छौं’, इन्दिराले भनिन्, ‘तर जब हिमाल खुसी देख्छु, संसारकै सबैभन्दा ठूलो खुसी पाएजस्तो लाग्छ।’ हिमालको मन मुस्कुराएको अनुहारमा छरपस्ट देखियो।

पत्रमित्रतामार्फत २०५८ सालमा एकआपसमा चिनिएका थिए, उनीहरु। तर पहिलो भेट भने हिमाल एम्बुसमा परी छाउनी अस्पताल पुगेपछि मात्र भयो।  ‘उहाँलाई भेटेपछि मलाई उहाँ कहिल्यै पनि अपांग हुनुहुन्छ भन्ने लागेन। सायद माया धेरै भएपछि यस्तै हुने रहेछ’, इन्दिरा मुस्कुराइन्। हिमालले मुस्कुराएरै खुसी साटे। हिमालसँग विवाह गर्ने निर्णयले इन्दिरालााई समाजबाट कम चोट पुगेन।

‘जान्दाजान्दै आधा मरेको ज्यानसँग किन विवाह गर्छेस् भन्थे माइती र समाज। तर उहाँलाई मेरो साथ चाहिएको थियो’, इन्दिरा केही सिरियस भइन्। हिमाललाई करिब तीन वर्ष स्याहार गरेपछि आफ्नै प्रस्तावमा इन्दिराले उनीसँग विवाह गरेकी थिइन्। ‘मैले के नै दिन सक्छु भन्दा पनि उनले तपाईसँगैं विवाह गर्छु भनिन्’, हिमालले भने।

इन्दिरा श्रीमानको सफलतादेखि दंग छिन्। उनको कोठाका भित्ता हिमालले जितेका मेडल र सम्मानपत्रले भरिएका छन्।

‘पहिला म के नै गर्न सक्छु र भन्ने खालको कुरा गर्नु हुन्थ्यो। तर खेलकुदमा लागेपछि उहाँले ब्यक्तिगत जीवनसमेत बिर्सनुभएको छ।जतिबेला पनि खेलकुदकै बारेमा ब्यस्त हुनुहुन्छ । ब्यक्तिगत जीवनका हरेक महत्वपुर्ण कुरा मैले सम्झाई दिनुपर्छ’, श्रीमानतर्फ हेर्दै उनले भनिन्।

हिमाललाई केटाकेटी असाध्यै मनपर्छ। इन्दिरा हिमालको जन्मदिनमा केटाकेटीहरु कोठामा जम्मा गरी ‘ह्याप्पी बर्थ डे’ भन्न लगाउँछिन्।

हिमाललाई ब्यक्तिगत जीवनमा एउटै गुनासो छ, सन्तान नभएकोमा।

‘मेरा हरेक खुसीमा इन्दिरा सहभागी हुन्छिन्। मैल खेल्दा उनी हुटिङ गर्न पुग्छिन्, यसले मलाई उत्साह दिन्छ’, हिमाल अगाडि भन्छन्,‘केही समय अघि हामीले टेस्टयुब बेबीको लागि प्रयास गर्‍यौँँ । तर झन्डै श्रीमतीको ज्यान जोखिममा पर्‍यो। सायद जीवनमा हामी यसमा ठगिएका छौं’, हिमालले यसो भनिरहँदा इन्दिराको गहभरि आँसु भयो। सायद सन्तानकै रहर पुरा गर्न हिमालले दाइको छोरालाई सानैदेखि आफैँसँग राखेर पढाइरहेका छन्।

‘मजस्ता धेरै अपांगहरुले समाजमा हेला र घृणाको पात्र भएर बाँच्नु परेको छ। पहिलो कुरा, अपांगले पनि जीवनमा धेरै गर्न सक्छन् है भनेर देखाउनु छ देशका कुनाकाप्चासम्मलाई। मपछिको पुस्ताले समाजमा सम्मानपूर्वक र आत्मविश्वासका साथ जीवनयापन गर्न पाओस्’,

केही समयअघि माओवादी नेतृ पम्फा भुसालले हिमाल लगायत खेलाडीलाई सम्मान गरिन्। माओवादीप्रति रिस उठ्दैन भन्दा उनी केही मुस्कुराएर केही बोलेनन्।

‘उहाँले सम्मान दिदा तपाईँ आर्मी हो भन्नुभयो, मैले हो भनेँ। कहाँ पर्नु भएको सोध्नुभयो, मैले मकवानपुरमा भनें। जर्नेल सागर पर्नुभएको दुर्घटना हो भन्नुभयो, मैले हो भनेँ। त्यसपछि एकछिन रोकिएर देश बनाउने क्रममा यस्तो हुने बताउनु भयो’, सम्मान कार्यक्रममा आफू र माओवादी नेतृ भुसालबीच भएको कुराकानी उनले सम्झिए।

हिमालले आफ्नो जिन्दगीको यात्रा निकै लामो देखेका छन् र प्रतिबद्ध पनि छन्। ‘मजस्ता धेरै अपांगहरुले समाजमा हेला र घृणाको पात्र भएर बाँच्नु परेको छ। पहिलो कुरा, अपांगले पनि जीवनमा धेरै गर्न सक्छन् है भनेर देखाउनु छ देशका कुनाकाप्चासम्मलाई। मपछिको पुस्ताले समाजमा सम्मानपूर्वक र आत्मविश्वासका साथ जीवनयापन गर्न पाओस्’, हिमाल भन्छन्।

खेल्न छाडेपछि प्रशिक्षण गर्ने उनले योजना सुनाए।

अपाङ्ग खेलाडीलाई फरक व्यवहार

यो रिपोर्ट तयार भइरहँदा नेपालको दृष्टिविहीन क्रिकेट टोली युएई र पाकिस्तानमा आयोजना हुने दृष्टिविहीनको विश्वकपमा सहभागी हुन रेल र बसको मार्ग हुँदै पाकिस्तान गइरहेको थियो।

पैसाको अभावमा आफूहरु बस र रेलबाट जानु परेको दृष्टिविहीन क्रिकेट संघका पवन घिमिरेले बताएका थिए।

सरकारले ह्विलचेयर क्रिकेट टोलीलाई जनही एक एक लाख रुपैयाँबाट सम्मान गर्ने घोषणाले ल्याएको खुसीको केही दिनपछि दृष्टिविहीन क्रिकेट टोलीबारे यो समाचार उत्तिकै दुखद थियो।

‘सरकारले किन विभेद गर्छ थाहा छैन, सबल खेलाडीले हराउन नसकेका धेरै देशलाई हामीले हराएका छौं। यो त राष्ट्रिय गौरवको विषय बन्नुपर्ने हो। अपांगले खेलेको पनि के खेलेको हो र जस्तो ब्यवहार हुन्छ। आश्वासन दिनेहरु सहयोग भने गर्दैनन्। अस्ति घोषणा भएको सम्मान पनि हात नपरुन्जेल पत्याउने अवस्था छैन’, हिमालको गुनासो छ।

ह्विल चेयर क्रिकेट संघका अध्यक्ष छोल्टिङ गुरुङ पनि राज्यले सबल खेलाडीलाई गर्ने लगानीको १०/१५ प्रतिशतमात्र पारा खेलकुदमा लगानी गरिदिए अन्तर्राष्ट्रिय पारा खेलकुदमा नेपालले धेरै प्रगति गर्ने बताउँछन् ।

दृष्टिविहीन क्रिकेट खेलाडीले विश्वकपमा सहभागी हुन आर्थिक अभाव ब्यहोर्नु परेपछि नेपाल क्रिकेटका समर्थकहरुको फेसबुक समुह ‘नेपाली क्रिकेट सपोटर्स सोसाईटी(एनसिएसएस)ले उनीहरुका लागि आर्थिक सहयोग संकलन अभियान नै सञ्चालन गरेको छ।

यसले सरकारी वेवास्तालाई घुमाउरो पारामा व्यंग्य पनि गरेको छ। यस सहयोग अभियानमा क्रिकेटरहरु पारस खड्का, विनोद दास, पारस लुनियाँ, अमृत भट्टराई लगायतले सहयोगको घोषणा गरेका छन्।

‘हाम्रा मान्छेले दुख नपाउने निश्चित गर्नु हाम्रो पनि जिम्मेवारी हो’, विनोद दासले सामाजिक सञ्जाल फेसबुकमा लेखे।

यसैगरी पारस खड्काले फेसबुकमा लेखेका छन्,‘हाम्रा क्रिकेटर पाकिस्तान ट्रेनबाट गएको समाचार सुन्दा दुख लागेको छ। उनीहरुलाई हाम्रो सहयोगको आवश्यकता छ। हामी मिलेर त्यसको ब्यवस्था गर्नुपर्छ। देशलाई पटकपटक गर्व गर्न लायक बनाउने दृष्टिविहीन क्रिकेटरलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु।’

हिमालहरु जस्तै प्रतिभाका कारण आज अपांगताको क्षेत्रमा ‘फरक क्षमता भएका प्रतिभा’को प्रयोग ब्यापक बनेको छ। अपांगताको क्षेत्रमा खेलकुद केवल खेलकुदमात्र होइन । यो उनीहरुको जीवनप्रतिको हौसला र आशा तथा सामाजिक अस्तित्वको बोध पनि हो।

अपांगता भएका ब्यक्तिहरुले सबलांगलाई चुनौती दिएका केयौं उदाहरण छन्। हिमालले भनेको ‘खेलकुदबाट प्राप्त सफलताले परिवार खुसी छ समाज दंग छ’को अर्थ बिल्कुलै खेलकुदको सामान्य प्रतिस्पर्धा र सफलताभन्दा निकै माथिको विषय हो तर राज्य र सरोकारवाला निकायले अशक्तलाई राष्ट्रिय गौरवसँग जोड्ने यो गतिलो माध्यमलाई सदुपयोग गर्न सकेका छैनन्। पारा खेलकुद पनि खेलकुद हो र भन्ने प्रश्नमै सरोकारवाला अड्किएका छन्।

 

सबै तस्बिरहरु र भिडियो: सुलभ श्रेष्ठ