आर्थिक समृद्धि निजी क्षेत्रबाटै सम्भव- मन्त्री थापा

पोखरा- न्याय कानुन तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले मुलुकमा आर्थिक समृद्धिको छलाङ्ग मार्न निजी क्षेत्रको अग्रसरताबाट मात्रै सम्भव हुने बताएका छन्।

‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला–२०७४ ’ को उद्घाटन गर्दै थापाले निजी क्षेत्रको अग्रसरता र ब्यवस्थापकिय चुनौतिलाई चिर्दै अघि बढ्न सके मुलुक छिट्टै आर्थिक सम्वृद्धि हासिल गर्ने बताए।

उनले भने, ‘अहिले आर्थिक सम्वृद्धिको नाराले निकै चर्चा पाइरहेको छ । जुन अब मुलुकको लागि अपरिहार्य छ । यसकालागि सरकारको एक्लो प्रयासले मात्र हुदैन । नीजि क्षेत्रको साथ विना समृद्धि हासिल हुन सक्दैन ।’ सरकार पनि लगानि मैत्री बातावरणको नीतिगत ब्यवस्थालाई जोड दिएर अगाडि बढ्नु पर्ने उनले बताए ।

उनले वर्तमान सरकारले स्थानीय,प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनकालागि गरिएको प्रतिबद्धता पुरा गरेको दाबी गरे।

कार्यक्रममा बोल्दै प्रदेश नं ४ का सांसद विन्दुकुमार थापाले विकास, सम्वृद्धि र सुशासनका सबै पार्टिको साझा एजेण्डा बन्‍ने पर्नेमा जोड दिए। उनले भने ‘राजनीतिमा राम्रोकामको सबै पक्षले प्रशंसा गर्ने संस्कारको विकास हुन जरुरी छ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले उपभोक्ता मैत्री वातावरणकालागि नीजि क्षेत्रले ध्यान दिनु पर्ने बताए। उनले भने ‘उपभोक्ता हित प्रवद्र्धन तथा स्वच्छ बजार व्यवस्था निर्माणको लागि निजी क्षेत्रले सघाउनु पर्छ । नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रशासन तयार रहेको उनको भनाई थियो।

‘लगानीको सम्वर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित मेला माघ ८ गतेसम्म चल्नेछ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेलाको आयोजना पोखरा उद्योग बाणिज्य संघका महासचिव दामु अधिकारले बताए।

मेला प्रदेश नम्बर ४ को ब्यवसाय बिस्तार र संभावनाको खोजीका साथै पर्यटकीय प्रवद्र्धनलागि सहयोगी हुने उनको भनाई थियो ।

पुस २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्