‘बुढी’ भएकाे भन्दै दुबईबाट फिर्ता

नेपालगञ्ज– एक ४३ वर्षकी महिला दलालको पछि लागेर दुबई पुगिन्। उनलाई ओमान पठाउने सहमति भएको थियो। दुबई विमानस्थलमा झरेपछि उनलाई नेपाली लिन आए।

मानव तस्करले भाडामा लिएको घरमा पुर्‍याए। कात्तिक २८ गते दिल्लीबाट दुबई पुर्‍याइएकी ती महिला एक महिना १२ दिन त्यहाँ बसिन्।

दुबईमा बस्दा उनकै अगाडि धेरै युवतीलाई विभिन्न ठाउँमा पठाइयो। उनलाई भने कसैले लिन मानेनन्। नेपाली महिलालाई रेखदेख गर्न बसेकी मिना तामाङसँग ‘मलाई कहिले ओमान पठाउने’ भन्दै सोधिरहिन्। तामाङले ती महिलालाई भनिन्, ‘तपाई बुढो र नराम्री भएकाले कसैले लिन नै मान्दैनन्।’

कसैले नलगेपछि ती महिलालाई पुस १२ गते दिल्ली आउने जहाजमा राखेर पठाइयो। दिल्ली विमानस्थलमा राति दुई बजे झरेर निस्केपछि केही थाहा नपाएर महिला बेहोस् भइन्। भारतीय प्रहरीले उद्धार गर्‍यो। एक दिन उपचार गरेर भोलिपल्ट सुनौली नाकामा पठाइदियो। ती महिला त्यहाँबाट नेपालगञ्ज आएकी छन्।

नेपालगञ्जका प्रकाश थापा भन्ने व्यक्तिले ती महिलालाई मोटरसाइकलमा राखेर नेपालगञ्ज नाका पार गराउँदै दिल्ली पठाएका थिए। महिलाले दिल्ली पठाउनेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेकी छन्।

‘मलाई पहिला काठमाडौंबाट पठाउने भनिएको थियो। पछि मोटरसाइकलमा राखेर रुपैडिहा पुर्‍याएर दिल्ली हुँदै दुबई पुर्‍याए’, ती महिलाले भनिन्, ‘त्यहाँ पुगेपछि पो थाहा पाएँ, विदेशमा त नेपाली युवतीलाई मोलमोलाइ गरेर लैजादा रहेछन्।’ बुढी भएको र नराम्रो भएकै कारण आफू बेचिनबाट जोगिएको ती महिलाले बताइन्।

माइती नेपाल, नेपालगञ्जको संरक्षणमा रहेकी महिलाले दलालविरुद्ध कानूनी कारबाही अघि बढाएकी छन्। दलाल फरार छन्। कानूनी कारबाही अघि बढाएका अधिकांश महिलाले भने बीचैमा मुद्दा छोड्ने गर्छन्।

माइती नेपालको एक तथ्यांक अनुसार, खाडी मुलुकमा पुगेर सम्पर्कमा नआएकामा अधिकांश १८ वर्ष मुनिका किशोरी छन्। कार्यालयका अनुसार ७ सय ८० जना महिला हराएको निवेदन आउँदा ४ सय २६ जना १८ वर्ष मुनिका थिए। माइती नेपालको क्षेत्रीय संयोजक केशव कोइरालाले विदेशबाट माग नै त्यस्तै भएकाले दलालले १६ देखि १८ वर्षका किशोरीलाई पठाउने गरेको बताए।

पुस २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्