को थिइन् ‘सहिद’ पत्रकार उमा सिंह?

उमा सिंहको फाइल तस्बिर।

जनकपुरधाम- सहिद पत्रकार उमा सिहंको ९औं स्मृति दिवस विहीबार मनाइएको छ।

सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाहरुले सहिद उमा सिहंको स्मृति दिवस मनाएका छन्। क्रियाशील महिला पत्रकारले सहिद पत्रकार सिहंको स्मृति दिवसमा जनकपुरको एकमात्र अनाथालय कबिर वालवत्सल्य (बालआश्रम)मा फलफुल, कापी, कलम र हरलिक्स वितरण गरेको छ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरको जनकचोकमा दीप प्रज्जवलन गरी सहिद पत्रकार सिंहलाई सम्झेको छ।

२०६५ साल पुस २७ गते जनकपुरको थापाचोकमा बस्ने सिंहको विभत्स हत्या भएको थियो। सिराहा जिल्ला महेशपुर निवासी उमा सिंह जनकपुरमा थापाचौक स्थित डेरा लिएर बसेकी थिइन्। जनकपुरको रेडियो टुडेमा काम गर्ने सिंहको हत्या धेरैले जग्गा जमिन र सम्पत्तिको लागि भएको भने पनि प्रष्ट कारण अझसम्म पत्ता लागेको छैन।

यता उनको हत्यामा संलग्न मुख्य अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतले स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइसकेको छ भने हत्यामा संलग्न रहको आरोपमा सिहंकी आफ्नै भाउजू ललिता सिंह ३ वर्ष जेल सजाय काटेर रिहा भइसकेकी छिन्।

 

को थिइन् उमा सिंह
‘उमा सिंह’ जनकपुरमा नभई पुरै मधेशको पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छिन्। पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने तथा राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा समेत टिप्पणी गर्न सक्ने क्षमता बोकेकी उमाले मधेशमा पत्रकारिता क्षेत्रमा लाग्ने नवप्रवेशीहरुको लागि एउटा उदाहरणको रुपमा चिनिन्छ।

रेडियो टुडे, हिमालिनि म्यागजिनसहितका मिडियामा प्राय: महिला हिंसा र अन्यायमा परेकाहरुको बारे लेख्ने पत्रकार उमा सिंह सिरहा जिल्ला निवासी थिइन्। सिरहाको महेशपुर गाउँकी उमाले लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिइन्।

सिरहाकै पहिलो महिला पत्रकारसमेत बन्न पुगेकी उनी जनकपुर आउनुपूर्व लहानमा डेढ वर्षसम्म पत्रकारिता गरेकी थिइन्। पूर्वीतराईमा पत्रकारितामा महिला दुर्लभ हुँदा उनको साहसी छवि बन्दै थियो। पछि मिर्चैयामा हत्याको धम्की दिइएपछि असुरक्षा हेर्दै उनी जनकपुर पुगेकी थिइन्।

जनकपुरस्थित क्याम्पसमा नेपाली विषय लिई स्नातकोत्तर गरिरहेकी उनले मैथिली र नेपालीमा बरोबर आफूलाई प्रस्तुत गरिरहिन् र छोटै समयमा मधेशकी एक मुख्य महिला पत्रकारको पहिचान बनाइन्। उमाको कामले त्योबेला महिला पत्रकारका लागि मात्रै नभई पुरुष पत्रकारका लागि पनि ऊर्जा प्रदान गरिरहेको थियो। तर, त्यो साहस र आँटको सत्यतालाई आत्मसात् गर्न नसक्नेका लागि उमा काँडा बन्न पुगिन्।

सिंहको हत्या
आजभन्दा ९ वर्ष पहिले २०६५ साल पुस २७ गतेको त्यो कालो साँझ जनकपुर लगायत पत्रकारिता जगतसँग सम्बन्ध राख्ने जोकोहीले अझैँ पनि बिर्सन सकेका छैनन्। पुस २७ गते चार बजे रेडियो टुडेमा समाचार वाचन गरेर उनी लोडसेडिङका बेला सहकर्मीसँग केहीबेर रमाइलो गरी डेरा फर्केकी थिइन्। उमा सिंहको लागि साथीसँगको त्यो दिन नै अन्तिम दिन बन्न पुग्यो।

अफिसबाट बेलुका जनकपुरको रजौलस्थित डेरामा पुगेर खाना पकाउँदै गर्दाको समय उनको कालको समय बन्यो। करिब साढे सात बजेतिर हातहतियार बोकेका केही व्यक्ति उनको कोठामा प्रवेश गरे। ती क्रुर हतियारधारीले २४ वर्षीया पत्रकार उमाको कपाल समातेर उनीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरे। सिंहमाथि प्रहार गर्नुपूर्व ती हतियारधारीले टोलछिमेकका व्यक्तिलाई धम्काइ बाहिर ननिस्कन चेतावनी दिँदै उनीहरुको घरको बाहिर चुकुल लगाई दिएका थिए।

१५–२० जनाको ती समूहले सिंहको शरीरभरि ३६ ठाउँ खुकुरीले काटेका थिए। ती हतियारधारी गएपछि छिमेकीले जसोतसो उमालाई केयर मेडिकल अस्पताल पुर्‍याए। अस्पताल पुर्याउँदासम्म सिंहको अत्याधिक रगत बगिसकेको थियो। चिकित्सकले जनकपुरमा उपचार गर्न असम्भव रहेको भनेपछि उनलाई काठमाडौं रिफर गर्ने तयारी गरियो।

अवस्था अति नाजुक भएकाले गाडीबाट लैजान असहज देखियो र तत्कालै सैनिक हेलिकप्टर मगाउन खोज्दा हुस्सु बाधक बन्यो। त्यसपछि गाडीबाटै राजधानी लैजाने र जहाँ अनुकूल हुन्छ, त्यहीँबाट हेलिकप्टरले लग्ने योजना बनाइयो । महोत्तरीको बर्दिबास पुग्नुमात्र के थियो, उमाले अन्तिम सास लिइन्। अस्पतालको बेडमा उनले मैले के गरेकी थिएँ ? भन्दै बर्बराउने गरेको प्रत्यक्षदर्शी बताउँछन्।

उमाले आफुलाई खतरा रहेको बताउँदै आएकी थिइन्। उनका सहकर्मीका अनुसार, आक्रमणको केही दिनअघिमात्र उनले केही घनिष्ट साथीलाई इमेल गरी आफ्नो असुरक्षा केही व्यक्तिका कारण बढेको लेखेकी थिइन्। जनकपुरमा पनि असुरक्षा महसुस गरेकी उमाले १ महिनापछि राजधानीबाटै पत्रकारिता गर्ने सोच बनाएकी थिइन्। तर पुस २७ गते उनको हत्या भयो।

उमा सिंहको नवौँ स्मृति दिवसमा वालआश्रममा सामग्री वितरण गर्दै जनकपुरका पत्रकारहरु। तस्बिर: प्रतिभा झा

अदालतको ठहर
धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइसकेको छ । यादवले उमाकी भाउजु ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए।

धनुषा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् ज्यानसम्बन्धी महलको १३/४ बमोजिम जन्मकैदको सजाय माग गरेको थियो।

२०६८ जेठ २६ मा धनुषा जिल्ला अदालतले उमाकी भाउजु ललितालाई जन्मकैद र नेमलाल पासवानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । ती दुवैजना अहिले जलेश्वर कारागारमा छन्।

अन्य प्रतिवादी धनञ्जय सिंह, वैजनाथ सिंह र अजय सिंहको हकमा मुलतवीमा रहेकोले नेपाल सरहदमा फेलापरेका बखत कारवाही गर्ने आदेश भएको थियो।

त्यसैगरी स्वामीजी यादव भनिने उमेश यादव, चन्देश्वर साह, धनेश्वर साह तेली, विजय यादव, विन्दु यादव, सुभाष यादव भन्ने सुभेश्वर यादवको हकमा मुलतवी रहेकोले अंश रोक्का गरी मिसिलमा राख्नु भनी आदेश दिइएको थियो।

हत्याको कारण

उमा सिंह हत्या हुनुभन्दा अगाडि करिब डेढवर्ष अगाडिदेखि जनकपुर आइ रेडियो टुडेमा रिपोर्टरबाट काम सुरु गरी समाचारवाचन गर्दै आएकी थिइन्।

उमाकी आमा सुशीलाले केही जग्गा उमाकै नाउँ गरिदिने र बिहे गरिदिने भन्ने कुरा उठाउँदा भाउजु ललिताले विरोध गर्न थालिन्।

ललिताले सम्पूर्ण सम्पत्ति एकलौटी पाउनको लागि उमेश, नेमलाल, चन्देश्वर, धनेश्वर, विजय, विन्दुसमेतको मिलोमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ।

सो समूहले उमालाई १ महिना अगाडि अपहरण गर्ने प्रयास समेत गरेको थियो। उनीहरूले सम्पूर्ण जग्गा भाउजु ललिताको नाउँमा दर्ता गरिदिन धम्की समेत दिँदै आएका थिए।

१५ भदौ २०६३ मा सिरहाको रामनगर मिर्चैया वार्ड नं. ३ स्थित आफ्नै होटलबाट माओवादीको समूहले उमाका बुवा रंजित र दाइ संजय सिंहलाई अपहरण गरी बेपत्ता पारेको थियो।

१० कठ्ठा जग्गा उमाको बुवाले उमाको नाउँमा पास गरेका थिए। त्यसपछि आमाले धुरमीबजारको दुई कठ्ठा जग्गा समेत उमाकै नाउँमा पास गरेकी थिइन् । जग्गा जमिनसम्बन्धी विवाद चल्दै आएको अवस्थामा भाउजु ललिताले स्थानीय माओवादी कमान्डर सुभाषमार्फत उमेश यादवसँग कुरा गरी हत्याको योजना बनाएकी थिइन्। उमेश यादव तराई एकता परिषदको केन्द्रीय अध्यक्ष थिए । उनले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रशान्त भनिने नेमलाल पासवानलाई उमालाई हत्या गर्न १ लाख ५० हजारको सुपारी दिएको र हत्या भएपछि विमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति फ्याक्स गरेको थियो ।

संघर्षपूर्ण जीवन
सहिद पत्रकार उमा सिंहले आफ्नो जीवन प्रायः संघर्षको परीक्षा दिनमै बिताइन्। माओवादीले सशस्त्र द्वन्द्व कालमा उनको जग्गा कब्जा गरेको थियो (जुन अझै कायम छ) । सिरहाको महेशपुर निवासी उमाका पिता रञ्जित सिंह जमिन्दार थिए। उमा सानैदेखि साहसी स्वभावकी भएकाले आफ्नो परिवारको जग्गा माओवादी कब्जामा परेको रिपोर्ट जिल्ला प्रशासनमा गरिदिइन्।

उनका पिता रञ्जित र दाजु सञ्जयको एकैदिन उनीहरू बसिरहेको मिर्चैयास्थित आफ्नै होटलबाट अपहरण भयो। तिनको स्थिति अझै अज्ञात छ। सिरहाकै कमलदहको जंगलमा लुगा र जुत्ता भेटिएको थियो। त्यस घटनापछि परिवारमा कलह बढेको र विशेष गरी भाउजुसँग सम्बन्ध बिग्रेको उनले सुनाउँदै आएकी थिइन्।

धनी परिवारकी भए पनि जग्गा कब्जामा रहेको साथै बाबु र दाजु बेपत्ता भएपछि स्वाभाविक रूपमा आयस्रोत सीमित हुन पुगेको थियो । उनले एउटा कोठा भाडामा लिएर जनकपुरलाई कार्यक्षेत्र बनाएकी थिइन् । सुरु–सुरुमा आफ्नो परिवारमाथि परेको बज्रपातबाट उत्पन्न प्रतिक्रिया उनमा बढी देखिन्थ्यो, तर बिस्तारै उनले व्यवसायिक पत्रकारका रुपमा आफुलाई स्थापित गरेकी थिइन् ।

सहकर्मीकी प्रेरणा 
जहिले पनि नयाँ नयाँ मुद्दा खोज्ने, लुकिएको अथवा लुकाउन खोजिएको मु्ददा उठाउने, अटल साहसका साथ पत्रकारिता गर्ने वाणी हरेको सिंह आफ्नो सहकर्मीहरुको लागि प्रेरणा बनेकी थिइन्। पत्रकार मनिका झा भन्छिन्, ‘उमा दिदी केही न केही नयाँ मुद्दा उठान गर्नुपर्ने सोच मात्र बनाई राख्थिन्, उनको लागि पत्रकारिता पेशाभन्दा बढी जुनुन थियो।’

राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा टिप्पणी गर्न सक्ने क्षमता समेत बोकेकी उमाले राष्ट्रिय महिला पत्रकारिता पुरस्कार, २०६५ (महिला तथा समाज कल्याण मन्त्रालय) र महिला सशक्तिकरण पुरस्कार, २०६४ पाएकी थिइन्।

जनकपुरमा आयोजना गरिएको उमा सिंहको नवौँ स्मृति दिवस। तस्बिर: प्रतिभा झा।
पुस २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्