पाकिस्तानसँग चीनको सम्बन्ध नेपालभन्दा महत्वपूर्ण

सानो तर सामरिक रुपमा महत्व बोकेको पाकिस्तानसँगको सम्बन्धलाई चीनले नेपाललाई भन्दा बढी प्राथमिकता दिएको पाइन्छ। पुरानो चीन र ताईवानसँग सबै कुटनीतिक सम्बन्ध तोडेर सन् १९५० मा जनवादी गणतन्त्र चीनलाई मान्यता दिने पहिलो देशहरुको सूचीमा पाकिस्तान पनि थियो।

कुटनीतिक मान्यता दिएपछि स्थापित भएको चीन पाकिस्तानको सम्बन्ध सन् १९६६ मा सैन्य सहायताको रुपमा विकसित भयो, १९७२ मा रणनीतिक तहसम्मका सन्धी सम्झौताहरु गर्न सुरु गरिए र १९८० बाट आर्थिक साझेदारीको सुरु भयो।

अहिले चीन पाकिस्तानलाई सबभन्दा धेरै हतियार आपूर्ति गर्ने देश साथसाथै चीनको तेस्रो ठुलो ब्यापारिक साझेदार बनेको छ। भर्खरै मात्र पाकिस्तानको न्युक्लियर उर्जाको विकासमा चीनले उल्लेख्य सहयोग गर्ने आशयको सम्झौता दुबै देशले गरेका छन्। पाकिस्तान मुस्लिम देशहरूसँग चीनले राख्ने कुटनीतिक सन्तुलनको बीचमा पुल बनेर उभिएको छ र भने चीनले पाकिस्तानको धेरै क्षेत्रहरुमा आर्थिक लगानी पनि गरेको छ।

अर्को महत्वपूर्ण कुरा के भने अफगानिस्तानलाई आधार बनाएर कयौंपटक पाकिस्तानलाई निशाना बनाउने आतंककारी संगठनलाई चीनले पनि आतंककारी मान्छ। दुबै देश त्यसप्रकारका हमलाहरुमा भारतको हात रहेको कुरा स्विकार्छन्। विशेष गरेर दुवै देशले संयुक्त हातेमालो गरेर निर्माण गर्न लागेको सिपीइसी आयोजना (चाइना पाकिस्तान इकोनोमिक कोरिडोर) लाई भौतिक क्षति पुर्‍याउन र अन्तर्राष्ट्रिय रुपमा असफल तुल्याउन भारतको भूमिका रहेको दुबै देशका सञ्चारमाध्यमहरुले बेलाबेला भन्ने गरेका छन्।

सन् १९७८ मा पूर्वी पाकिस्तान र पश्चिम चीन जोड्ने ‘काराकोरम हाइवे’ को सफल सञ्चालन भएको थियो। यो हाइवे हिमाली क्षेत्र हुँदै चीन र पाकिस्तान जोड्ने महत्वपूर्ण बाटो थियो। यसैको प्रयोग गरेर पाकिस्तानले ठूलो मात्रामा चीनसँग ब्यापार गर्छ। चालु अवस्थाको तातोपानी नाका पनि बन्द हुने अवस्थामा पुग्दासम्म नेपाली शासकले चीनसँगको मैत्रीसम्बन्धलाई खेलाचीको रुपमा मात्र लिने गरेका छन्। त्यसलाई चीन पाकिस्तान जोड्ने काराकोरम हाइवेले नराम्रोसँग गिज्याइदिएको छ।

बेलाबेलामा हुने उच्चस्तरीय राजनीतिक भेटघाटले चीनको पाकिस्तानप्रतिको प्रतिबद्धतालाई राम्रोसँग सम्बोधन गरेको पाइन्छ।

१९९६, २०१० र २०१५ मा पाकिस्तानमा भएको चिनियाँ राष्ट्रपतिको भ्रमणले चीनको प्राथमिकतामा पाकिस्तान पहिलो छ भन्ने देखाउँछ। सबै उच्चस्तरीय भ्रमणहरुमा खर्बौंको लगानी सम्झौता, न्युक्लियर उर्जा आदानप्रदान सम्झौता र बिभिन्न आयोजनाहरुको निर्माण र परिचालनसम्बन्धी सम्झौता हुने गर्दछन्। पाकिस्तानको कूल गाहर्स्थ उत्पादनको अभिवृद्धि गर्नको लागि चीन भगवान बनेर सहयोग गरिरहेको छ।

दक्षिण एसियामा चीनले ब्यापारिक र सामरिक हस्तक्षेपलाई बढाउन पाकिस्तानको साथ लिएको भन्ने बिश्लेषण सतहमा देखिए पनि चीनले पाकिस्तानसँग एउटा पूर्ण छिमेकीको भुमिका निभाएको कुरामा दुईमत छैन। अर्को कुरा पाकिस्तानको भुमि प्रयोग गरेर चीन बिरुद्ध गतिविधि हुने सम्भावनालाई पाकिस्तानले पूरै न्यूनीकरण गरिदिएको छ। अर्कोतर्फ भन्ने हो भने पाकिस्तानले चीनसँग यो स्तरमा सम्बन्ध विस्तार गरेर भारतलाई देखाइदिएको छ।

चीनको ७०-७५% जनसंख्या नास्तिक छ। पाकिस्तान इस्लामिक देश हो र इस्लामिक कानुनअनुसार चल्छ। इस्लामिक कानुनले मान्छेलाई नास्तिक हुन वर्जित गर्छ। इस्लाम कम्युनिज्म विचारधाराको सत्रु हो। तर चीन र पाकिस्तानको दोस्ती हेर्दा धर्मलाई पछि धकेलेर आर्थिक प्रगतिलाई मात्र आधार बनाएको देखिन्छ। संसारभर धार्मिक असन्तुष्टि बढेर युद्ध चर्किरहेको बेला पाकिस्तान र चीनले देखाएको यो स्तरको मैत्रीसम्बन्ध धेरैको लागि एउटा पाठ बन्नसक्छ।

चीनले पाकिस्तानबाट आफूलाई कुनै खतरा देख्दैन, तर नेपालसँग बारम्बार सशंकित बनिरहनुको एउटा कारण भनेको नेपालमा राजनीति र ब्युरोक्रेसीको जडैदेखि रहेको भारतीय र पश्चिमा हस्तक्षेपको नराम्रो प्रभाव हो। चीनले आफूखुसी चाहेर नेपाललाई भारतसँग राम्रो सम्बन्ध बनाऊ भनिरहेको छैन। नेपाललाई भारतीय सुरक्षा स्वार्थको गोटी बनाउन चीन चाहँदैन। पाकिस्तान जस्तो भारतसँग र पश्चिमा देशहरुको स्वार्थसँग टकराव लिन सक्ने नहुने बेलासम्म चीनले नेपाललाई ‘अब्जर्भ’ मात्र गरिरहेको हुनेछ।

हुन त नेपाल र नेपालीहरुले अरु देशहरुको बलियो सम्बन्ध हेरेर मुख मिठ्याउनुको तुक त्यति देखिँदैन। तर, एसियन राजनीतिको एउटा महत्वपूर्ण हिस्सेदारी बोकेको नेपालले साम्राज्यवाद र विस्तारवादले बाँधिदिएको केही जन्जिरहरु खोलेर चीनसँग सम्बन्ध बढाउन प्रयास गर्नुपर्ने देखिन्छ। नेपालको नयाँ राजनीतिक ब्यबस्था र यसले समात्ने नयाँ अर्थतन्त्रको बाटोमा हिँड्दै गर्दा, छिमेकीहरुको स्वार्थसँग टकराउनु त पर्छ नै। पाकिस्तानले झैं आफ्नो विदेशनीतिमा चीनसँगको सम्बन्धलाई अर्थ्याएझैं नेपाली नीतिनिर्माताहरुले पनि त्यसतर्फ पुरै ध्यान लगाउनुपर्ने देखिन्छ।

पुस २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्