चीनबाट व्‍यावसायिक रुपमा भित्रियो इन्टरनेट, भारतीय एकाधिकार तोडियो

काठमाडौं- नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग सम्झौताको दुई वर्षपछि शुक्रबारदेखि नेपालमा औपचारिक रुपमा चीनबाट इन्टरनेट भित्र्याएको छ।

अप्टिकल फाइबर लिंकले सुरु गरेको इन्टरनेटसँगै अब नेपालको सूचना मार्ग अझ फराकिलो बनेको छ भने इन्टरनेटमा भारतीय एकाधिर तोडिएको छ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले चीनबाट चीनबाट अहिले एक दशमलव पाँच जीबीपीएसको ब्यान्डवीथ भित्र्याएको देश सञ्‍चारलाई बताइ्न। उनले भनिन्,’ हामी अहिले व्‍यावसायिक रुपमा मल्टिट्रयाक अन्तर्गत चीनबाट जम्मा एक दशमलव पाँच जीबीपीएसको ब्यान्डविथ भित्र्याएका छौ। यसले भारतबाट आउने इन्टरनेटको विकल्प दिएको छ।’

उनले उपभोक्ताको चाहना अनरुप नै चीनबाट इन्टरनेट ब्यान्डवीथ कनेक्सन ल्‍याएको बताउँदै सरकारी स्तरमा पहिला नै चीनसँग तातोपानी नाकाहुँदै फाइबर ल्‍याउने योजना सम्झौता भएको बताइन्। तर भूकम्पले उक्त योजना भत्काइदिएपछि पुन: आफ्नो पहलमा रसुवागढी केरुङ नाका हुँदै चीनबाट इन्टरनेट भित्र्याएको बताइन्।

उनका अनुसार सन् २००३ को डिसेम्बर ३ मा तत्कालीन श्री ५ को सरकार र चिनिया सरकार बीच भएको आर्थिक तथा प्राविधिक सम्झौता बमोजिम अरनिको राजमार्ग अन्तर्गत काठमाडौं देखि खासा झाम्सुङ सम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य २००८ अगस्टमा सम्पन्‍न भएको थियो ।

यस्तै  नेपाल टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेसन कर्पोरेसनबीच झाङमु र तातोपानी बीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्ने सम्बन्धी समझदारी पत्र (MOU)मा सन् २०११ डिसेम्बर २६ मा हस्ताक्षर भएको थियो  भने सन् २०१३ डिसेम्बर २३ मा बैकल्पिक रुटको रुपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सन् २०१५ को अप्रिल २५ मा आएको भूकम्पका कारण काठमाडौं–तातोपानी रुट क्षतिग्रस्त भयो। त्यसपछि काठमाडौं–रसुवागढी रुटका लागि आवश्यक ADSS (All-Dielectric Self-Supporting लिंक निर्माण सम्बन्धी कार्य अगाडि बढेको थियो।

तत्पश्चात सन् २०१६ को मे महिनामा चाइना टेलिकम र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न गरेका थिए ।

यही बीचमा सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न नेपाल टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो ।सन् २०१६ को डिसेम्बर ६ मा यस सम्बन्धी व्यावसायिक सम्झौता हङकङमा सम्पन्‍न भएको थियो।

शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच माननीय सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले फाइबर लिंकको औपचारिक शुभारम्भ गर्दै देशव्यापी रुपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक एक कोशेढुंगा साबित हुने बताएका थिए। सूचनाको यो मार्गले चीन र नेपालबीच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन महत्‍वपूर्ण भूमिका खेल्नेमा उनको जोड थियो।

यस्तै नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र भएको स्मरण गर्दै सो लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देश बीचको व्यावसायिक सम्भावनालाई अझै नजिक ल्याएको बताएका थिए।

 

पुस २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्