तराईमा क्यान्सरका बिरामी बढेकोमा विशेषज्ञहरुको चिन्ता

जनकपुरधाम- सुर्तिजन्य पदार्थको अत्याधिक सेवनले गर्दा तराईका जिल्लाहरुमा क्यान्सर रोगका बिरामीहरुको संख्या बढदै गएको छ।

जनकपुरमा आयोजित एक कार्यक्रममा क्यान्सर रोगी बढ्दै गएकोले क्यान्सर रोग विशेषज्ञहरुले चिन्ता समेत व्यक्त गरेका छन्।

नेपाल क्यान्सर हस्पिटल र चलचित्र भोरले संयुक्त रुपमा शुक्रवार जनकपुरमा आयोजना गरेको जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रममा बिशेषज्ञहरुले तराईमा मुख, घाँटी र फोक्सो क्यान्सरको रोगी बढेका बताए। क्यान्सरको मुख्य कारक पान, पान मसाला र सुर्तिजन्य पदार्थ सेवन नै रहेको बताइएको छ।

नेपालमा पछिल्लो एक वर्षको तथ्याङ्कको आधारमा हेर्दा नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउन जानेमध्ये २५ प्रतिशतभन्दा बढी बिरामी तराई मधेशको भएको नेपाल क्यान्सर हस्पिटल ललितपुर प्रमुख डा. सुदिप श्रेष्ठ बताए।

श्रेष्ठ भन्छन्, ‘विशेषगरी घाँटी, मुख, पाठेघर, फोक्सोमा हुने क्यान्सर रोगबाट तराई मधेशका मानिसहरु बढी पीडित देखिएका छन्। सुर्तिजन्य पदार्थ, पान, गुट्खा, खैनी, चुरोट, बिँडीजस्ता पदार्थको सेवनले बढी पीडित छन्। यसलाई कम गर्न सबैभन्दा बढी जनचेतनाको आवश्यकता छ।’

यस्तै, महिलाहरुमा पाठेघरको क्यान्सर रोग लाग्ने गरेको कारक मध्ये बालविवाह समेत रहेको बिशेषज्ञहरुको भनाइ छ।

नेपाल क्यान्सर हस्पिटल ललितपुरका विशेषज्ञ चिकित्सक डा. प्रभात ठाकुरले क्यान्सर वंशाणुगत गुणकै रुपमा सर्ने भएको हुँदा घरको कुनै एक मासिलाई क्यान्सरको लक्षणदेखि अन्य व्यक्तिहरुले समेत समयमै त्यसको परीक्षण गराएर बच्न सकिने बताए।

उनले भने, ‘खास गरी महिलाहरुमा हुने पाठेघरको क्यान्सरको मुख्य समस्या भनेको बालविवाह हो। भने, अर्को मुख्य कारण वंशाणुगत रुपमा एकपछि अर्को वंशमा आउने रोग पनि एक हो।’

कार्यक्रममा सहभागि भएका जनकपुर उप–महानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरमा चाँडै सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने प्रतिबद्धता व्यक्त गरे। विशेषज्ञ चिकित्सकहरुले क्यान्सर रोगबाट डराउनुभन्दा समयमै उपचार गराएमा निको हुने भन्दै सहभागिहरुको स्वास्थ्य उपचार समेत गरेका थिए।

पुस २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्