नेपालगञ्जको सदरलाइन विस्तार गर्न स्थानीय सहमत

सदरबजार विस्तारका लागि अनुरोध गर्दै हिँडेका जनप्रतिनिधि। तस्बिर: कुमार श्रेष्ठ

नेपालगञ्ज– नेपालगञ्जको मुख्य बजार क्षेत्र सदरलाइन बिस्तारका लागि एक सय ६१ घरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सदरलाइनलाई १४ मिटर फराकिलो गर्न थालिएको हो।

नगर भवनदेखि त्रिवेणीमोडसम्मका २ सय १९ घरमध्ये एक सय ६१ घरले सडक बिस्तारका लागि लिखित सहमति जनाएका छन्।

सदरलाइनमा ‘देखासिकी’ले गर्दा अतिक्रमण बढेको छ। नेपालगञ्ज उपमहानगरपालिकाले लामो समयदेखि प्रयास गरेपनि सडक अतिक्रमण हटाउन सकेको छैन। नेपालगञ्जको सुर्खेतरोडलाई एडीबीको सहयोगमा फोरलेन बनाइएसँगै सदरलाइनलाई सहयोग हुने भएपछि नगरपालिका तात्तिएको हो।

घरमालिकलाई अनुरोध र अल्टिमेटम दिँदादिदै थाकेको नगरपालिकाले पछिल्लो समयमा नेपालगञ्ज उद्योग बाणिज्य संघसँग मिलेर सहमति गराउँदै आएको छ।

डा. जनार्दन आचार्यको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले घरघरमै गएर लिखित सहमति गरेको हो।

‘२ सय १९ मध्ये १ सय ६१ घरले लिखित सहमति गरेका छन्, धेरै घरमालिकहरु नेपालगञ्ज बाहिर रहेकाले सहमति हुन सकेको छैन, समितिका सदस्य एवं नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर शैलेन्द्रकुमार महर्जनले भने, ‘२/४ घरले मात्रै सहमति गर्न मानेका छैनन्।’ खेतान र कनोडियाले सहमतिपत्रमा हस्ताक्षर गर्न नमानेको स्रोतले बतायो ।

सडक बिस्तारमा बहुमतले घर भत्काउन सहमति जनाएपछि सहमति गरेको पत्र केन्द्रमा पठाइएको छ । अब केही दिनमा एडीबीको उच्चस्तरीय टीमले नेपालगञ्जमा आएर अवलोकन गरेपछि काम अघि बढ्ने टीम लिडर डा. आचार्यले बताए।

पहिलो चरणमा त्रिभुवनचोकदेखि त्रिवेणीमोडसम्म काम हुने छ। त्यसपछि नगर भवनतिर काम हुनेछ । एडीबीले सडक बनाइदिने भएकाले सदरलाइनको खाल्टाखुल्टीसमेत नगरपालिकाले मर्मत गरेको छैन। मुख्य बजार क्षेत्रमा खाल्टा र खुल्टी हुँदा यात्रुले सास्ती खेपिरहेका छन् । सडक बिस्तार गर्नका लागि सहमति जनाइसकेका घरधनीले आफैँ घर भत्काइरहेका छन्। ‘बर्साती’को अन्तिम पिलर नछुने गरी अगाडिका संरचना हटाउन लगाइएको छ। सदरलाइन बिस्तार र व्यवस्थित हुने बित्तिकै नेपालगञ्जको मुख्य बजारको रौनकता बढ्ने स्थानीयहरु बताउँछन्।

केही वर्षदेखि नगरपालिकामा आउने कार्यकारी अधिकृतको काम नै सदरलाइन बिस्तारका लागि सहमति जुटाउने रहँदै आएको थियो।

कतिपयले अल्टिमेटम दिएका थिए। केहीले अनुरोध गरे। स्थानीय निकायको चुनावपछि नगरपालिकामा आएका जनप्रतिनिधिले घरमालिकहरुसँग छलफल गरेर सहमतिमा बाटोमा पर्ने संरचना नभत्काए डोजर चलाइदिने धम्की दिएका थिए।

मेयर डा. धवलशमशेर राणाले निर्वाचित हुने बित्तिकै तीन महिनामा बाटोमा परेका आफ्ना घर नभत्काए डोजर चलाइदिने चेतावनी दिएका थिए। तथापि, पछि सहमति गरेर अगाडि बढिएको छ।

नगरपालिकाका पदाधिकारी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अधिकारी र स्थानीय अगुवाले घरघरमा पुगेर अतिक्रमण हटाउन आग्रह गरेका थिए। पटक–पटक भएका छलफल र अन्तर्क्रियापछि अधिकांश घरमालिकहरु सडक बिस्तारका लागि लिखित सहमति गर्न पुगेका छन्। अब नेपालगञ्जको सदरलाइन बिस्तार र बजार क्षेत्र राम्रो हुने आशा पलाएको छ।

पुस ३०, २०७४ मा प्रकाशित