सुमार्गी, सिरोहिया र ब्ल्याकमेलिङको पेचिलो मुद्दा

राजधानीमा साेमबार गरिएको पत्रकार सम्मेलनमा व्यवसायी अजेयराज सुमार्गी। तस्बिर: आरजु

काठमाडौं– यो पत्रकार सम्मेलन अस्वभाविक थियो, पत्रकार सम्मेलनको विषयवस्तु र पत्रकारको उपस्थिति दुवै हिसाबले। कुनै संस्थाले कुनै विषयमा आफ्ना धारणा, जानकारी वा समाचारजन्य सूचना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्छ।

तर यो पत्रकार सम्मेलन एउटा सञ्चार गृहले अर्को सञ्चार गृहविरुद्ध गर्दै थियो, सञ्चार माध्यममा आएको समाचारको विषयलाई लिएर।

थाहा सञ्चार नेटवर्कका अध्यक्षससमेत रहेका अजेयराज सुमार्गीले सोमबार बानेश्वरस्थित आफ्नै कार्यलयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारका लागि मात्र नभएर पत्रकारिताका विद्यार्थी र यससँग अध्ययन गर्न चाहने समूहका लागि अनौठो विषय थियो।

यही कारणले हुन सक्छ, पत्रकार सम्मेलनमा एउटै सञ्चार गृहबाट धेरै प्रतिनिधि उपस्थित थिए।

प्रतिष्ठित सञ्चार गृह कान्तिपुर समूह र यसका अध्यक्ष कैलाश सिरोहियाले मिडियाको दुरुपयोग गरी आफूसँग ब्ल्याकमेलिङ गरेको दाबी गर्दै सुमार्गीले भने, ‘यो ब्ल्याकमेलिङ प्रकरण नेपाली पत्रकारिता जगतको कालो धब्बाको रुपमा ५० औं वर्षसम्म रहिरहने छ।’

केही सातायता कान्तिपुर समूहले अजेयराज सुमार्गीले अबैधरुपमा वैदेशिक ऋण लगानी ल्याइरहेको दाबी गरेर समाचार लेखिरहेको छ।

त्यसको काउन्टरमा सुमार्गीले सिरोहियाले आफूलाई बेचेको जग्गा सोही मूल्यमा फिर्ता नगर्दा ब्ल्याकमेलिङ गरिरहेको दाबी गरेका छन्।

सुमार्गीले सिरोहियाले पत्रकारिताको नाममा अपराध गरिरहेको दाबी गर्दै उनका सबै अपराध बाहिर ल्याउने चेतावनी दिएका छन्।

‘अवैध धन, कालो धन, कालो धन्दाजस्ता शब्दको सहारामा राष्ट्रसेवक कर्मचारीहरु समेतलाई अफवाहमार्फत दबाब पैदा गर्ने उसको नियत देखिन्छ। शंका, आशंका, सम्भावना, हुनसक्ने जस्ता शब्दको सहारामा भ्रम छर्ने गरेको देखिएको छ’, सुमार्गी भन्छन्, ‘कान्तिपुरले जे गरेपनि हुन्छ भन्ने घमन्ड प्रतिविम्बित भएको छ। कान्तिपुरले अपराधी करार गरेपछि भइहाल्यो नि, किन उनलाई कारबाही नगरेको भन्ने दुराशय झल्कन्छ।’ सुमार्गीका आरोपहरु त्यहीस्तर र त्यतिमै सीमित छैनन्।

उनी अगाडि थप्छन्,  ‘कुनैपनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानाबापत दिनुपर्छ। निज सिरोहियाको कोपभाजनमा परेका कतिपय ब्यावशायिक प्रतिष्ठानहरु अहिले तैं चुप मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरुमाथि पनि अपराध गर्न सक्छ। सिरोहियाको कपटपूर्ण उद्देश्य पूर्तिका लागि त्यसका प्रधानसम्पादकसमेत संलग्न भएका छन्।’

नेपाली सञ्चार माध्यममा सञ्चारमाध्यमले ब्ल्याकमेलिङ गर्छन् भन्ने विषय पहिलो पटक आएको होइन। तर त्यसलाई लिएर दुई सञ्चार गृहबीच देखिएको द्वन्द्वले नेपाली पत्रकारितामा ब्ल्याकमेलिङको मुद्दा पेचिलो बनाएको छ।

सयभन्दा बढी पत्रकार उपस्थित पत्रकार सम्मेलनमा सुमार्गीले आफूमाथि लागेको आरोपको स्पष्ट जवाफ भने दिन सकेनन्। राम्रो प्रश्न सोध्न नसकेको व्यंग्य गर्दै उनले भने, ‘तपाईहरुको प्रश्नमा जिज्ञासा कम भयो। मैले व्याख्या गर्न सकिन या तपाईँहरुको अध्ययन कम भयो तर तपाईँहरुको सतही बुझाइ भयो भने मैले रुनुको विकल्प छैन।’

अधिकांश समय कान्तिपुर समूह र कैलाश सिरोहियाविरुद्ध आक्रामक बनेका सुमार्गीले प्रयोग गरेका केही शब्दहरु भने एउटा प्रतिष्ठित सञ्चार गृहको प्रमुखले बोल्न सुँहाउँदो थिएन। यसबारे उनी आफैँले पनि केही ठाउँमा माफी माग्दै भन्थे, मेरो शब्दमा नजानुस्, भावमा जानुस्।

सुमार्गीले भनेका छन्,‘अब म चुप लागेर बस्दिन। कैलाश सिरोहिया अपराधी हुन् । अब म अपराधीलाई टिक्न दिन्न। कालोलाई कालै प्रमाणित गर्नैपर्छ। आज म बोल्छु, भोलि तपाईँहरु देख्नु हुने छ, यथार्थ के हो भनेर। कान्तिपुर कुनै समयमा थियो भन्ने हुन्छ, अब। सही के हो, म र कैलाश सिरोहियालाई सँगै राखेर अग्नि परिक्षा लिनुस्। म हरेक प्रश्नको जवाफ दिन तयार छु।’

 

सम्बन्धित समाचारहरु…

जब कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध व्यवसायी अजेयराज सुमार्गी पड्किए

मलाई र सिरोहियालाई राखेर लिनुस् अग्नि परीक्षा– सुमार्गी

माघ १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्