
जनकपुरधाम- माघ १ गते माघे संक्रान्ति पर्व मिथिलाञ्चलसहित देशभरि हर्षोल्लासपूर्वक मनाइएको छ।माघेसंक्रान्ति तथा मकर संक्रान्ति पर्वका रुपमा परिचित माघी पर्वलाई मिथिलाञ्चलमा तिलासंक्रान्ति समेत भनिन्छ।
मिथिलाञ्चलको मुख्य पर्व तिलासंक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाइन्छ।
यस दिनदेखि सूर्य उत्तरायण हुन्छ। मकर संक्रान्तिको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ। माघे संक्रान्तिलाई बर्षको पहिलो दिन मानिने भएकाले मिथिलाञ्चलमा भगवान सत्यनारायणको पुजा अर्चना गरी तिलको लड्डु बनाई चढाउने परम्परा छ।
यसदिनमा विभिन्न पोखरी तथा जलाशयहरुमा स्नान गरी पुजापाठ गर्ने र दानपुण्य गर्ने गरिन्छ। तीला संक्रान्तिका दिन बिहानै नुहाएर घर तथा मन्दिरमा पुजागरी तील चढाउने परम्परा छ। यस्तै, मिथिलाञ्चलमा मकर संक्रान्तिको दिन नवविवाहिताहरुले ‘साँझपूजा’ गर्छन्।
मकर संक्रान्तिको दिन विशेष गरी तीलको परिकार बनाई, देउतालाई चढाउने, दान गर्ने परम्परा छ। पण्डित विद्यानन्द झाका अनुसार तीला संक्रान्तिको दिन एक दाना तील दान गर्दा १ हजार तील दान गरेको फल प्राप्त हुन्छ। पण्डित झा भन्छन्, ‘आजको दिन तील खाने, तील दान गर्ने र तीललाई आगोमा राखी आगो ताप्नाले बर्षभरी नै स्वस्थ्य रह्न सकिन्छ।’
तिला संक्रान्तिको दिन घरको ज्येष्ठ सदस्यको हातबाट टिका लगाउने र गुड (मिठ्ठा) मिसाइएको तीलचामल खाने र विशेष वचन लिने परम्परा छ। तीलासंक्रान्तिको दिन तील खाने सन्तान तथा आफन्तले वृद्धावस्थामा केही आपतविपद पर्दा सेवा गर्ने कुम्दिनी झा बताउँछिन्।
तीलको लाई (लड्डु), चिउराको लाई (चिउरा र गुँडको लड्डु), तरकारी दाल हाली बनाइएको जाउलो (खिचडी) भिन्न प्रकारका खानेकुरा तथा तीलका परिकारहरु यो दिन खाने चलन छ।
मकर संक्रान्तिको अवधीमा देहत्याग गर्ने व्यक्ति जन्ममरणको चक्रबाट पूर्णतः मुक्त हुने विश्वास हिन्दुधर्मालम्वीहरुमा रहिआएको छ। महाभारतमा वयोवृद्ध योद्धा भीष्म पितामह पाण्डव र कौरवको बीच भएको कुरुक्षेत्र युद्धमा सांघातिक रूपले घाइते भएका थिए। उनलाई इच्छा मृत्युको वरदान प्राप्त थियो।

जनकपुरमा साँझपूजा गर्दै एक नवविवाहिता महिला। तस्बिर: प्रतिभा झा
साँझपूजा
पाण्डव वीर अर्जुन द्वारा रचित बाणशैयामा सुतेका भीष्म पितामहले शरीर छाड्न उत्तरायण अवधिको प्रतीक्षा गरेका थिए। सूर्य मकर राशिमा प्रवेश गरेपछि उनले आफ्नो अन्तिम श्वास लिएका थिए।
माघ १ गते अर्थात मकर संक्रान्तिको दिन नवविवाहिताहरुले साँझपूजा गर्छन्। नयाँ विवाह भएका महिलाहरुले आजदेखि साँझपूजाको शुरुवात गरेका छन्।
लगातार एक बर्षसम्म हुने साँझपूजामा विशेषगरी पार्वती र महादेवको पूजा गरिन्छ।
नवविवाहित महिलाहरुले पतिको दिर्घायूको कामना गर्दै साँझपर्व मनाउँछन्। बाहुन र कायस्थ जातिमा हुने साँझपर्वमा माघ १ गते विधिवत रुपमा नयाँ वस्त्र, अन्न, फलफुल र तीन प्रकारको माटोमा सिन्दुर मिसाई महादेवपार्वतीको पूजा शुरु गर्छन्। यो पूजा एक बर्षसम्म साँझपख नै गरिन्छ भने अर्को वर्ष माघ १ गते नै यो पूजाको ‘निस्तार’ अर्थात समाप्ति हुन्छ। साँझ पूजा गर्ने जुली चौधरीका अनुसार एक वर्षसम्म प्रत्येक साँझ भगवाण शिवपार्वतीको पूजा ३ प्रकारको माटो मिसाइएको सिन्दुर, बेलपत्र र फूलले गर्ने परम्परा छ।
धनुषाधाममा मकर मेला
जनकपुर क्षेत्रको प्रमुख धार्मिक स्थलहरुमध्येको एक धनुषाधाममा मकर संक्रान्तिको दिन मेला लाग्छ। माघ १ गतेको अतिरिक्त माघ महिनाको प्रत्येक आइतबार धनुषाधाम मन्दिरमा भक्तजनहरुको भीड़ लागेको हुन्छ।
धनुषाधाममा टाढा टाढाबाट श्रद्धालु तथा भक्तजनहरु पुग्छन्। मकरमा विशेषगरी धानको शिश र भान्टा चढाउने परम्परा छ। धानको शिश चढाउनाले धानको उत्पादनमा बृद्धि र भान्टा चढाउनाले चर्म रोगबाट मुक्ति मिल्ने विश्वास छ।
त्रेतायुगमा सीता विवाहको स्वम्बरमा भगवान रामद्वारा धनुष तोडिएपछि एक भाग पृथ्वीमा खसेको थियो। उक्त धनुष खसेको ठाउँलाई नै धनुषाधाम भन्ने गरिन्छ। त्यो स्थलमा अझ पनि धनुषको अवशेष देख्न सकिन्छ।

तीलासंक्रान्तिमा पूजा गर्न राखिएको परिकार। तस्बिर: प्रतिभा झा

जनकपुरमा तीलासंक्रान्तिका दिन बेच्न राखिएका परिकार। तस्बिर: प्रतिभा झा
सम्बन्धित समाचारहरु…
माघे संक्रान्तिमा ३० हल गोरु जुधाउने, तारुका पुग्न पक्की पुल