नालाको खाल्डोमा परेर मोटरसाइकल चालक घाइते

मोरङ- विराटनगर महानगरपालिका भित्र निर्माण भइरहेको ढल तथा नालाको खाल्डोमा परेर मोटरसाइकल, साइकलचालक घाइते भएका छन्। विराटनगर १० स्थित प्रतिभाचौकमा जारी निर्माणकार्यमा सामान्य सूचनाका संकेत नराखिदा दुर्घटना हुनेक्रम बढ्दो छ।

यसक्रममा सोमबार साझ उक्त क्षेत्रमा निर्माण भइरहेको करिब १२ फुट गहिरो ढलको खाडलमा मोटरसाइकलसहित स्थानीय राकेश यादव मोटरसाइकलसहित दुर्घटनामा परे। बा.२६.प. ४८१० नम्बरको मोटरसाइकल चालक यादवले रातीको समय निमार्णाधीन स्थल वरिपरि कुनैपनि सूचनाको बोर्ड नदेखेको गुनासो गरे।

सिरहा घर भइ हाल विरानगटरमा बसोबास गर्दै आएका पीडित यादवले भने, ‘रातिको समय निर्माण गरिएका स्थान वरपर ब्लक गरिनुपर्ने कतै केही थिएन, बाटो होला भन्दै आए। एक्कासी मोटरसाइकल खाल्डोमा पस्यो। म भने जसरीतसरी बाहिर निस्किए।’

यसअघि पनि सोही खाडलमा परी एक साइकलमा सवार स्थानीयको हात र खुट्टा भाँचिएको स्थानीय पर्वतराज झा बताउँछन्।

सडक निमार्णका क्रममा सूचना संकेत नराखिनु र सडकबत्ती नहुँदा सडक दुघर्टनाको जोखिम बढदै गएको उनको भनाइछ। हाल सो क्षेत्रमा ढल तथा नालाको निर्माण आशिष कन्स्ट्रक्सनले गरिरहेको छ।

माघ २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्