सुमार्गीको आरोपमा कान्तिपुरको कडा प्रत्युत्तर

काठमाडौँ- उद्यमी तथा मिडिया व्यवसायी अजेयराज सुमार्गीले आफूबिरुद्ध ब्ल्याकमेलिङको आरोप लगाएका बेला कान्तिपुरले कडा शब्दमा त्यसको प्रतिवाद गर्दै उनले मुख्य मुद्दाबाट ध्यान मोड्न लगाएका गम्भीर आक्षेपलाई पुष्टि गर्न उनलाई चुनाैती दिएको छ।

कान्तिपुरले ‘पछिल्लो समय बिचौलियाहरुको बिगबिगीबारे श्रृंखलाबद्ध रिपोर्टिङ गर्दै आएको र शंकास्पद आर्थिक कारोबारमा मुछिएका सुमार्गी पनि त्यही सिलसिलामा समाचारको विषय’ बनेको प्रस्ट्याएको छ।

सुमार्गीबारेको समाचार उनको अस्वाभाविक आर्थिक साम्राज्य, सुमार्गीले विदेशबाट ल्याएको पैसाबारे राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखेको पत्र र विभागले सीआइबीसँग मिलेर तयार पारेको प्रतिवेदनका आधारमा लेखेको मंगलबार जारी गरेको विज्ञप्तिमा प्रस्ट पारेको छ।

कान्तिपुरले जारी गरेको विज्ञप्तिमा सरकारी निकायहरूले ‘अवैध’ ठहर गरेको कारोबार एवम् रकम ‘वैध’ रहेको ठहर गर्ने र त्यसको कानुनी स्रोत खुलाउने जिम्मेवारी सुमार्गीको भएको उल्लेख गरेको छ। विज्ञप्तिमा सुमार्गीलाई बेचेको जग्गा फिर्ता लिन नखोजेकोसमेत स्पष्ट पारिएको छ।

विज्ञप्तिमा छ- ‘जहाँसम्म उनले कैलाश सिरोहिया र रामेश्वर थापासमेतको नाममा रहेको काठमाडौं, तीनकुनेको जग्गा किनेको सन्दर्भ छ, त्यसबारे पनि हामी प्रस्ट्याउन चाहन्छौं। उक्त जग्गा आफूलाई आवश्यक नरहेको परिप्रेक्ष्यमा हामीले बिक्री गर्ने निर्णय लिएपछि एउटा वाणिज्य बैंकका सीईओको सहजीकरणमा खोजिएका खरिदकर्ता (सुमार्गी) लाई त्यो बेचिएको थियो।’

‘सुमार्गीसँग उक्त जग्गाको कारोबार त्यसै बेला अन्त्य भइसकेको सन्दर्भमा, झन्डै चार वर्षपछि अहिले आएर अतिशयोक्तिपूर्ण तानाबाना बुनेर बदनाम गर्न खोज्नुको कुनै तुक छैन। निज सुमार्गीसँग त्यो जग्गाको एउटा कारोबारबाहेक कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको कहिल्यै कुनै आर्थिक कारोबार भएको/गरिएको छैन। भूकम्पले हाम्रो भवन भत्किएका बेला निज आफैं हाम्रो तीनकुने कार्यालय परिसरमा एकपटक आएयता करिब अढाई वर्षको अवधिमा कहीं–कतै सम्पर्क, भेटघाटसमेत भएको छैन। यस्तो पृष्ठभूमिमा निजसँग सम्पर्कमा रहेको या धम्क्याएको जस्ता सम्पूर्ण आरोपहरू बिल्कुलै निराधार हुन्।’

कान्तिपुरले सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने उल्लेख गरेको छ।

कान्तिपुरलेे भनेको छ- ‘स्रोत नखुलेको रकमको अवैध कारोबारमाथि छानबिन नहुने र ‘मनी लन्डरिङ’को मामिलाले राजनीतिक वैधता पाउने हो भने त्यसको असर मुलुकमाथि नै पर्न सक्छ। संसारभरि निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय– ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ)’ ले पटक–पटक कालोसूचीमा राख्ने चेतावनी दिएपछि नेपालमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरिएको हो। उक्त विभागले सुमार्गी प्रकृतिका मुद्दा टुंग्याउन नसक्ने हो भने मुलुक नै कालोसूचीमा पर्न सक्ने खतरा छ। मुलुक कालोसूचीमा पर्दा नेपाली बैंकहरूले खोलेको प्रतीतपत्र धेरै अन्तर्राष्ट्रिय बैंकले स्वीकार नगर्ने हुँदा बाह्य व्यापारमा समेत जटिलता आउनेछ। धेरैजसो दातृ निकायले कालोसूचीमा परेका मुलुकलाई सहायतासमेत रोक्ने हुँदा मुलुकको अर्थतन्त्र नै जोखिममा पर्ने खतरा भएकाले यस्ता जघन्य फौजदारी प्रकृतिका क्रियाकलापको समाचार हामीले निरन्तर लेखिरहेका हौं।’

 

सम्बन्धित समाचारहरु…

सुमार्गी, सिरोहिया र ब्ल्याकमेलिङको पेचिलो मुद्दा

जब कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध व्यवसायी अजेयराज सुमार्गी पड्किए

सिरोहियाले आफ्नो सम्पत्तिमा गिद्देदृष्टि लगाएको सुमार्गीको आरोप

माघ २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्