राहत माग्दै गाउँपालिकामा तालाबन्दी

गाउँपालिकामा तालाबन्दी। तस्बिर: देशसञ्चार

नेपालगञ्ज– बाढीपीडितको राहतको विषयलाई लिएर डुडुवा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।

डुडुवा–३, वनकट्टीका स्थानीयले राहत नदिएको भन्दै मंगलबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। सरकारले घोषणा गरेको दुई हजार एक सय रुपैयाँ राहत तत्काल पाउनु पर्ने माग राख्दै गाउँपालिकामा तालाबन्दी गरिएको छ।

डुडुवामा लगत लिइएका बाढीपीडितलाई राहत वितरण भइसकेको छ। गाउँपालिकाले ५ करोड २५ लाख रुपैयाँ राहत वितरण गरिसकेको छ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गैरबाढीपीडितहरुले राहत माग गर्दै तालाबन्दी गरेको बताए। ‘बाढी नै नपसेको ठाउँका मान्छेहरु आएर तालाबन्दी गरेका छन्, गाउँपालिका प्रमुख चौधरीले भने, हामीले कहाँबाट राहत दिने ?’

स्रोतका अनुसार लामो समयदेखि रहेको गाउँपालिका प्रमुख र वडा नं. ३ का अध्यक्षबीचको विवाद तालाबन्दीमा देखिएको छ। कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख चौधरी र संघीय समाजवादी फोरमबाट निर्वाचित वडा नं. ३ मा वडाध्यक्ष भण्डारीलाल यादवका बीचमा बोलचाल नै छैन। वडाध्यक्ष यादवले बाढीपीडितको लगत लिंदा केहीलाई लिएको र धेरैलाई छुटाएको विवाद देखिएको अध्यक्ष चौधरीले बताए।

तालाबन्दी गर्न फोरमका कार्यकर्ताहरु अघि सरेका छन्।

डुडुवा बाँकेको क्षेत्र नं. २ अन्तर्गत पर्छ। यहाँबाट संघमा मो. इस्तियाक राइ र प्रदेशमा विजयबहादुर यादव विजयी भएका छन्। दुवै जना फोरमका हुन्।

गाउँपालिका अध्यक्ष चौधरीले फरक राजनीतिक पार्टीको भएकाले आफूहरुलाई माननीयहरुले पेल्न खोजेको बताए। ‘यस्ता विवाद हुने कुरा निकाल्ने होइन, गाउँपालिका प्रमुख चौधरीले चुनौती दिए, विधायक र माननीयले विकासमा मसँग प्रतिस्पर्धा गर्नुस्। मैले पाँच हात बाटो बनाउछु भने विधायकले ७ र माननीयले १० हात बाटो बनाएर देखाउनुस् न।’

वनकट्टी जाहिर खाँले अहिलेसम्म राहत नपाएपछि गाउँपालिकामा तालाबन्दी गरेको बताए। तालाबन्दीका बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिइएको गाउँपालिका प्रमुखले बताए।

माघ ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्