पुससम्म लक्ष्यभन्दा २ अर्ब बढी राजस्व सङ्कलन, पुँजीगत खर्च निराशाजनक

काठमाडौं- सरकारले पुस मसान्तसम्ममा लक्ष्य बमोजिमको राजस्व सङ्कलन गरेको छ। पुस मसान्तसम्म ३ खर्ब ३४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले सो अवधिमा ३ खर्ब ३६ अर्ब रुपैयाँ संकलन गरेको हो।

गत मङ्सिर मसान्तसम्ममा सरकारले लक्ष्यभन्दा ९ अर्ब रुपैयाँ कम राजश्व सङ्कलन गर्न सकेको थियो। अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलले तराईमा आएको बाढीले र निर्वाचन क्रममा सीमा नाका बन्द हुँदा मङ्सिरसम्म लक्ष्य बमोजिम राजश्व सङ्कलन हुन् नसकेको बताए।

चालु आर्थिक बर्षमा सरकारले ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।

पोखरेल भन्छन्, ‘पुस मसान्तसम्ममा कुल राजश्व लक्ष्यको ४५.७७ प्रतिशत अर्थात ३ खर्ब ३४ अर्ब राजश्व सङ्कलन गर्नु पर्नेमा सरकारले ४६.०५ प्रतिशत अर्थात ३ खर्ब ३६ अर्ब रुपैयाँ राजश्व सङ्कलन गरेको छ।’

६ महिनामा पुँजीगत खर्च १२ प्रतिशत मात्र

चालुआर्थिक बर्षको ६ महिना समाप्त हुँदा पनि सरकारले पुँजी गत खर्चलाई बढाउन सकेको छैन।  चालुआर्थिक बर्षमा ३ खर्ब ३५ अर्ब पुँजीगत खर्चछुट्याएको सरकारले ६ महिना सम्ममा ४० अर्ब रुपैयाँमात्र खर्च गर्न सकेको छ।

संविधानमा जेठ १५ मै बजेट ल्याउने प्रावधान गर्दा पनि सरकारको पुँजी गत खर्च गर्ने क्षमतामा सुधार हुन् नसकेको हो। सरकारले पुँजी खर्च करिब ११.९४ प्रतिशत गर्दा चालु खर्च करिब ३६.९८ प्रतिशत गरेको हो। चालुआर्थिक बर्षमा ८ खर्ब ३ अर्ब रुपैयाँ चालु खर्च गर्ने प्रस्ताव गरेको सरकारले ६ महिनामा २ खर्ब ९७ अर्ब रुपैयाँ खर्च गरेको छ।

यस्तै सरकारले पहिलो ६ महिनामा वित्तीय व्यवस्थापनका लागि १९ अर्ब रुपैयाँ खर्च गरेको छ। सरकारले चालुआर्थिक बर्षमा वित्तीय व्यवस्थापनमा १ खर्ब ४० अर्ब रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेको छ।

माघ ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्