सुमार्गीले भने, ‘सिरोहियाजी मिलाइदिनुपर्‍यो भन्दै हारगुहार गरेर हिँडेका छन्’

अजेयराज सुमार्गी बुधबार हेटौँडामा।

व्यवसायी तथा मिडिया उद्यमी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाले आफूलाई ब्ल्याकमेल गरेको र अहिले आएर यो प्रकरण मिलाउन हारगुहार गर्दै हिँडेको आरोप लगाएका छन्।

कान्तिपुर समग्रमा ब्ल्याकमेल गर्ने संस्था रहेकाले आफू पनि त्यसको शिकार भएको बताउँदै सुमार्गीले यो ब्ल्याकमेलको शृङ्खला अन्त्य गरेरै छोड्ने दाबी पनि गरेका छन्।

मकवानपुरको हेटौंडामा पत्रकारसँग कुरा गर्दै सुमार्गीले भने,  ‘सिरोहियाजी यो प्रकरण मिलाइदिनु पर्‍यो भन्दै हारगुहार गरेर हिँडिरहेका छन्। तर म यो ब्ल्याकमेलिङ प्रकरणलाई बिट नमारी छोड्दिन।’

कान्तिपुरले धेरैलाई ब्ल्याकमेल गर्ने गरेको र त्यही कारण अहिलेसम्म सबै चुप बस्न बाध्य भएको तर आफूले कान्तिपुर मिडिया ग्रुपका बारेमा पर्दाफास गर्न थालेपछि सिरोहियाले हारगुहार गर्न लागेको सुमार्गीले बताए।

कान्तिपुरले ब्ल्याकमेल गरेका धेरैजना आफ्नो सम्पर्कमा आएको र अब कान्तिपुरका धेरै काण्ड बाहिर ल्याएरै छोड्ने सुमार्गीले दाबी गरेका छन्।

कान्तिपुर पत्रिकामा सुमार्गीको आयस्रोत तथा सम्पत्तिका बारेमा खबर आएपछि विवाद सुरु भएको थियो। कान्तिपुरले सुमार्गीको आयको स्रोत नखुलेको र अहिले राजनीतिक संरक्षणमा कालो धनलाई वैध बनाउन लागेको दाबीसहितको खबर छापेको थियो।

त्यसपछि सुमार्गीले कान्तिपुर मिडिया ग्रुप (केएमजी) नभएर ब्ल्याकमेलिङ इन्स्टिच्युट, बिएमआई रहेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचारहरु…

सुमार्गीको आरोपमा कान्तिपुरको कडा प्रत्युत्तर

सुमार्गी, सिरोहिया र ब्ल्याकमेलिङको पेचिलो मुद्दा

जब कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध व्यवसायी अजेयराज सुमार्गी पड्किए

 

माघ ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्