प्रदेश सातका प्रमुखले भने, सबैलाई मिलाएर लैजान्छु

धनगढी-  प्रदेश नम्बर ७ प्रमुख मोहनराज मल्लले आफूले सबै पक्षबीच समन्वय र समझदारी बृद्धि गरेर दायित्व निर्वाह गर्ने बताएका छन्।

‘मैले जीवनभरी सधै समन्वयकारी भूमिका निर्वाह गरेँ,’ मल्लले भने–’सरकारले मलाई विश्वास गरेर सुम्पेको भूमिका मैले पुरा गर्नेछु।’

प्रदेश प्रमुख मल्लले नेपालको संविधान तथा कानूनका आधारमा आफूले दायित्व निर्वाह गर्ने बताए ।

चार दशकभन्दा बढी समयदेखि कैलालीमा राजनीति गर्दै आएका ६८ वर्षीय मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। कैलालीका पुराना राजनीतिज्ञ उनि २०३७ सालदेखि २०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य रहेका थिए।

२१ वर्षको उमेरमै राजनीतिमा होमिएका मल्लले २०२८ सालमा कैलालीको पण्डौन गाउँ पञचायत प्रधानपञ्‍च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायत उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार तथा त्रिभुवन विश्व विद्यालयको सभासद भएर पनि अनुभव बटुलिसकेका छन्।

नैतिकवान, इमान्दार तथा आदर्शको राजनीति गर्ने नेताका रुपमा परिचित मल्ल पञ्चायती शासन कालमा समेत कुनै पनि विवादमा नमुछिएका निस्कलंक राजनीतिज्ञ मानिन्छन्।

पञ्चायत र झण्डै दुई दशक राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

कैलालीको भजनी नगरपालिका वडा नम्बर १ बसोबास गर्ने मल्लले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएका उनले महेन्द्र भुषण पदक पनि प्राप्त गरेका थिए। मल्लले विद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तर प्रदेश राज्यको लखनउबाट पुरा गरेका हुन्।

उनले अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी, चीन, रुस, थाईलैण्ड, सिंगापुर, मेक्सीको, क्युवा, फिनल्याण्ड, जापान, उत्तरकोरिया, साईप्रस,संयुक्त अरब ईमिरेट, कुवेत, चेकोस्लाभिया, हंगेरी, पोलेण्ड, बुल्गेरिया र स्विजरल्याण्ड लगायतका मुलुकको भ्रमण गरेका छन् ।

प्रजातन्त्र पुनर्बहालीपछि २०४८, २०५१, २०५६ र २०६४ को आम निर्वाचनमा राप्रपाबाट चुनाव लडेका मल्लले सधैं दोस्रो मत प्राप्त गर्ने गरेका थिए।

 

माघ ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्