दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर मिसाएर आठौँ प्रदेश बनाउन माग

राजधानीबारे नेपालगञ्जमा भएको छलफल। तस्बिर: देशसञ्चार

नेपालगञ्ज– प्रदेशको राजधानी माग्दै देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेलामा नेपालगञ्जमा सीमांकन नै हेरफेर गर्नुपर्ने आवाज उठेको छ। अहिलेको सीमांकनलाई हेरफेर नगर्दासम्म नेपालगञ्ज प्रदेशको राजधानी हुने सम्भावना नरहेको निष्कर्षमा पुगेका माननीय तथा नेताहरुले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई मिसाएर छुट्टै प्रदेश निर्माण गर्नुपर्ने बताएका हुन्।

‘हामी आठौं प्रदेशको लडाइँमा लागौं,’ पापडले नेपालगञ्जमा आयोजना गरेको प्रदेश राजधानीबारेको अन्तर्क्रियामा माननीय तथा नेताहरुले भने, ‘छुट्टै तरिकाले अघि नबढ्दासम्म नेपालगञ्ज राजधानी नहुने भयो।’

सांसद इस्तियाक राईले कैलाली, कञ्चनपुरलाई यता तराईका अन्य जिल्लासँग समेटेर छुट्टै थरुहट प्रदेश निर्माणमा लाग्नुपर्ने बताए।

विधायकहरु सुरेन्द्र हमाल, विजयबहादुर यादव, नेपालगञ्जका मेयर धवल शमशेर राणा, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, वारका अध्यक्ष बलबहादुर चन्दले शान्तिपूर्ण र मर्यादित आन्दोलनको आवश्यकतामा जोड दिए।

एमालेका जिल्ला सचिव रत्न खत्रीले पत्रिकामा नाम लेखाउनका लागि मात्रै नभएर साँच्चिकै आन्दोलन गर्ने हो भने पार्टी भन्दा माथि उठेर सडकमा उत्रिन आव्हान गरे।

उनले दाङदेखि कञ्चनपुरसम्मका जिल्लालाई एउटा राज्य बनाएर दंगालीलाई विश्वास लिएर या बाँके र बर्दिया प्रदेश नम्बर ६ मा मिसाएर कर्णाली अञ्चललाई विश्वासमा लिएर मात्रै नेपालगञ्ज प्रदेशको राजधानी हुन सक्ने विचार राखे।

छलफलमा नेताहरुले बुटवललाई राजधानी नमान्ने उद्घोष गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रदेश राजधानीको माग राख्दै शुक्रबारदेखि नेपालगञ्जमा सडक आन्दोलन गर्ने गर्ने तुलसीपुर उच्च अदालत वार एशोसियसनका अध्यक्ष बलबहादुर चन्दले बताए। शान्तिपूर्ण र मर्यादित सडक आन्दोलनमा सहभागी हुनका लागि पापडले नेपालगञ्जवासीलाई आव्हान गरेको छ।

माघ ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्