‘बुटवल’लाई केन्द्र नमान्‍ने भन्‍दै नेपालगञ्‍जमा विरोध प्रदर्शन

तुलसीपुर उच्च अदालत वार एशोसिएसन नेपालगञ्जको परिसरबाट पापडको अगुवाईमा निकालिएको विरोध र्‍याली। तस्बिर-कुमार श्रेष्ठ/देश सञ्‍चार

बाँके- प्रदेश नम्बर पाँचको केन्द्र बुटवललाई नमान्‍ने उद्घोष गर्दै शुक्रबार नेपालगञ्‍जमा विरोध प्रदर्शन गरिएको छ।

पूर्वधारयुक्तले नेपालगञ्जलाई नै प्रदेशको केन्द्र नगराए बाँके पाँच नम्बर प्रदेशबाट अलग हुने चेतावनी दिइएको छ। शुक्रबारदेखि नै सरकारी निर्णयको विरोधमा बाँकेका कार्यालय, घर, पसलमा कालो झण्डा राखिने भएको छ।

तुलसीपुर उच्च अदालत वार एशोसिएसन नेपालगञ्जको परिसरबाट पापडको अगुवाईमा विरोध र्‍याली निकालिएको छ। उक्त र्‍याली त्रिभुवनचोक, त्रिवेणीमोड, घरबारीटोल धम्बोझी पुगेर वीपीचोकमा आई कोणसभामा परिणत भएको थियो । र्‍यालीमा ‘नेपालगञ्जको प्रदेशको राजधानी कायम गर’ जस्ता नारा लगाइएको थियो।

सांसद इस्तियाक राईले आठौ प्रदेश गराएर भएपनि नेपालगञ्जलाई प्रदेशको केन्द्र गराई छाड्ने बताए । ‘महिनौ बन्द गरौं, राजश्व नतिरौं, सांसद राईले थपे, जुनसुकै मूल्य चुकाएर भएपनि नेपालगञ्जलाई राजधानी बनाउनु पर्छ।’

बुटवललाई

विधायक आइपी खरेल र सुरेन्द्र हमालले सरकारले संघीयता विरोधी निर्णय गरेको टिप्पणी गरे । उनीहरुले राजधानी मागको आन्दोलनमा बाँकेवासीलाई सडकमा आउन आव्हान गर्दै नेपालगञ्ज प्रदेशको राजधानी नभए ६ नम्बरमा मिसिने या छुट्टै प्रदेश बनाउने चेतावनी दिए।

नेपालगञ्जका मेयर डा. धवल शमशेर राणा, एमालेका जिल्ला उपाध्यक्ष निरक गुरुङ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, वारका उपाध्यक्ष शालिकराम सापकोटा, वारका जिल्ला अध्यक्ष बलबहादुर चन्दलगायतले पुरानो शहर नेपालगञ्जलाई राज्यले सधैं उपेक्षा गर्दै आएको उल्लेख गर्दै प्रदेशको केन्द्र बनाउन बाँकेवासी एकजुट भएर सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

सरकारले प्रदेशको राजधानी बनाउने आन्तरिक तयारी गर्दादेखि नै अन्यत्र आन्दोलन शुरु भएपनि नेपालगञ्जमा भने अस्थायी राजधानी तोकिसकेपछि जनता तातिएका छन् । नेपालगञ्जको चिसोमा राजधानी मागको आन्दोलन पनि चिसियानबाट तातिने संकेत गरेको छ । शुक्रबारकै आन्दोलनमा पनि स्थानीय जनताको बलियो उपस्थिति थिएन।

माघ ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्