२२ वर्षीया सुत्केरीको मृत्युपछि दिनभरि तनाव

नेपालगञ्ज– सामान्य अवस्थामै बच्चा जन्माएकी युवतीको मृत्यु भएपछि शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार दिनभरि तनाव भएको छ।

सशस्त्र प्रहरी हवल्दारकी २२ वर्षीया श्रीमती सीता शाहीको बच्चा जन्माइसकेपछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको थियो।चिकित्सकको लापरबाहीले युवतीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा सामान्य तोडफोडसमेत गरेका छन्।

डेढ सयभन्दा बढीको संख्यामा रहेका पीडितपक्षले कुरा नमिल्दा अस्पतालका सिसा फुटाइदिएका थिए।ठूलो संख्यामा पुगेको प्रहरीले अस्पतालमा तोडफोड गर्न रोकेको थियो। युवतीले छोरा जन्माएकी छन्।बच्चाको अवस्थामा सामान्य छ। युवतीको शव उठाउन आफन्तले इन्कार गरेका छन्।

अस्पतालमै शव राखेर पीडित परिवारले आक्रोश पोखेपछि कोहलपुर शिक्षण अस्पताल बिहीबार अपरान्हदेखि शुक्रबार चार बजेसम्म तनावमय भएको हो।अस्पताल प्रशासन र पीडित पक्षका बीचमा चरण–चरणमा बैठक बसेको थियो।पछिल्लो बैठकमा चारबुँदे सहमति भएको छ।

सहमतिअनुसार अस्पतालले उपचार खर्च मिनाहा गर्ने, पाँच वर्षसम्मको बच्चाको निशुल्क उपचार गर्ने, जागीरमा यो बच्चालाई प्राथमिकता दिने र दाहसंस्कार खर्च व्यहोर्ने भएको छ। सहमतिपछि आफन्तले शव बुझेका छन्।

माघ ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्