टुंगो लाग्यो प्रदेश १ को कार्यालय र सभाहल

विराटनगर- प्रदेश नम्बर एकका प्रमुख भवन र सभाहलको टुंगो लागेको छ।

सरकारले बुधबार प्रदेश प्रमुख र अस्थायी राजकोधानीको घोषणा गरेसँगै शुक्रबार जिल्ला प्रमुख, सुरक्षा निकाय, विराटनगर प्रमुखबीच प्रदेश प्रमुखको भवन तथा सपथग्रहणबारे छलफल भएको छ।

छलफलका क्रममा विराटनगर १० स्थित प्रतिभा चौकमा अवस्थित क्षेत्रीय पशुसेवा निर्देशनालय प्रदेश प्रमुखको कार्यालय हुने भएको छ।

यसअघि विराटनगरलाई राजधानी बनाउने सन्दर्भमा कम्पाउण्डले घेरिएको उक्त निर्देशनालयमा करिब ५० कोठा रहेको भनी बलियो आधारका रुपमा पेश गरिएको थियो।

छलफलका क्रममा मुख्यमन्त्रीको निवासलाई पनि व्यवस्थित बनाउने निर्णय गरिएको छ।

स्थानीय सहिद मैदान नजिक रहेको वीरेन्द्र सभागृहमा प्रदेशसभा सदस्यहरुलाई आइतबार सपथ ग्रहण गराइने बताइएको छ।

त्यसैगरी प्रदेश मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय कृषि निर्देशानालय विराटनगरमा रहनेछ। मुख्यमन्त्रीको निवास र प्रदेश प्रमुख सचिवको कार्यालय पनि रहनेछ। अर्कोतर्फ, प्रदेश सभा संचालनका लागि देवकोटा चौकस्थित जिल्ला समन्वय समिति भवन छनोट भएको छ।

सभाका लागि भवनको तल्लो तलामा प्रयोगमा आउनेछ भने प्रदेश सभा सभामुख र उप सभामुखको सचिवालय सोही भवनको अन्य दुई तलाबाट सञ्चालन गरिने छलफलपछि विराटनगर प्रमुख भीम पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए।

माघ ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्