‘मेरो श्रीमानको कि सास चाहियो, कि लास चाहियो’

आफ्नै पसलमा कमला पन्त कुँवर। तस्बिर: कुमार श्रेष्ठ

नेपालगञ्ज– करिब डेढ घण्टा कुराकानीका क्रममा एकजना ग्राहक ‘रिबन’ खोज्दै आइन्। त्यो पनि पसलमा थिएन। कमला कुँवर पन्तले अर्को पसल देखाई दिइन्।

बिहान खाना पकाएर खुवाई छोरालाई स्कूल पठाएपछि साँझ ७/८ बजेसम्म पन्तले नेपालगञ्जको पुष्पलालचोकदेखि बसपार्क जाने सडकछेउमा रहेको सानो पसलमा ग्राहकको प्रतिक्षा गरिरहन्छिन्। कस्मेटिकको पसल छ, उनको।

२०४२ सालमा एसएलसी पास गरेकी पन्त २०६२ देखि नेपालगञ्जको पुष्पलालचोक आसपासमा घुम्तीमा पसल थापेर बसेकी छन्। उनले पुष्पलालचोकदेखि बसपार्क जाने सडकमा घुम्तीमा कस्मेटिक पसल राख्दा त्यहाँ वरिपरि पसलहरु नै थिएनन्। अहिले घुम्ती अड्याउने ठाउँसम्म नभएर खचाखच भएको उक्त ठाउँमा कमलाको संघर्ष जारी छ।

एक दिनअघि नै समय मागेर पसलमा पुग्दा कमला छिमेकी पसलका मान्छेहरुसँग आगो तापेर गफ गरिरहेकी थिइन्। म पनि आगो ताप्दै बेपत्ता परिवार पन्तसँगको कुराकानीमा मिसिए।

बिक्रीपट्टा कस्तो छ ? मैले कुराको शुरुवात गरेँ।

कमलाले पसलका सामान देखाउदै हाँसेर उल्टै प्रश्न तेर्स्याइन्, ‘तपाईले देखिहाल्नु भयो नि। यत्तिका बेरसम्म बस्दा कुनै सामान बिक्री भयो? यस्तै हो, मुश्किलले दिनमा एक/दुई सय रुपैया कमाइ हुन्छ।’

२०५८ पुस ५ गते श्रीमान रुकुमसिंह कुँवरलाई सुरक्षाकर्मीले बेपत्ता बनाएपछि ३ र ९ वर्षको दुई छोरालाई बोकेर कमला नेपालगञ्ज आएकी थिइन्।

नेपालगञ्जमा रहेको फुपुको घरमा तीन वर्ष बसेपछि उनले पुष्पलालचोकछेउमा घुम्ती पसल शुरु गरिन्।

घुम्तीकै पसलमा संघर्ष गरेर कमलाले जेठो छोरा मन्दिलसिंह कुँवरलाई रेडियोग्राफी पास गराएकी छन्।

कान्छो छोरा मुकेश स्थानीय एञ्जल्स बोर्डिङ स्कूलमा १० कक्षामा पढ्छन्।

आफू र बच्चाहरुका लागि १४ वर्षदेखि नेपालगञ्जमा संघर्ष गरिरहेकी कमलाका जेठो छोरा मन्दिलले तनहुँको आबुखैरेनीमा एक महिनादेखि जागिर शुरु गरेका छन्।

कमलाले बेपत्ता परिवारको नाममा राज्यबाट पटक–पटक गरेर दश लाख पाइसकेकी छन्।

‘एकै पटक दिएको भए त देखिने गरी प्रयोग हुन्थ्यो, २५, ५० हजार गरेर दिएको रकम चान्कीचुन्कीमै सिधियो,’ कमलाले भनिन्।

मासिक तीन हजार तिरेर सानो पसल राख्ने ठाउँ पाएकी कमला कोठा भाडामा बस्छिन् । बढो दुःख गरेर पढाएका छोराहरुले केही गर्ने उनलाई आशा छ । उनको संघर्ष अझै सिधिएको छैन ।

दार्चुलामा पहिलो बोर्डिङ स्कूल
कमलाका श्रीमान बीएससी पास थिए । दार्चुलामा जग्गा जमिन थियो । साविकको हुती–८ मा घर थियो । श्रीमान–श्रीमती दुवै पढेका भएकाले सदरमुकाम खलंगामा बोर्डिङ स्कूल चलाउने योजना बन्यो ।

श्रीमान–श्रीमती मिलेर खलंगामा माउन्टअपी बोर्डिङ स्कूल शुरु गरे । दार्चुलाको पहिलो बोर्डिङ स्कूल यसलाई केही समयपछि अर्कोलाई दिएर उनीहरुले न्यू महाकालीजन बोर्डिङ खोले । कक्षा ५ सम्मको स्कूलमा तीन सय विद्यार्थी थिए । श्रीमान रुकुमसिंह माओवादी पार्टीमा लागेका थिए । २०५८ पुस ३ गते डडेल्धुराको आलीताल–५ बाट माओवादीका कमाण्डर भएका रुकुमसिंहलाई सुरक्षाकर्मीले नियन्त्रणमा लियो ।

डडेल्धुरामा बैठक बसेपछि रुकुमसिंहको डोटी सरुवा भएको थियो । सरुवा भएको ठाउँमा जाने क्रममा बाटोमा उनलाई सुरक्षाकर्मीले समातेका थिए । कमलाका अनुसार, जोगबुढा आर्मी क्याम्पमा लगेर ५ गते रुकुमसिंहको हत्या गरियो । कमाण्डरसँग रहेका अरु तीन जनाको पनि त्यहाँ हत्या भयो ।

अपरिचित ठाउँ नेपालगञ्ज आएर जिउने संघर्ष शुरु गरिसकेपछि २०६३ बैशाखमा कमला डडेल्धुरा पुगिन् । पाँच दिन बसेर उनले श्रीमान रुकुमसिंहको हत्या भएको प्रहरीको मुचुल्क हेरिन् । प्रहरीले फोटोकपी गर्न भने दिएन । हत्या गर्नुअघि रुकुमसिंहलाई सुरक्षाकर्मीले समातेर दुई पटक जेल पठाएको थियो । कानूनी लडाई कुँवर परिवारले जित्दै आएका थिए ।

माओवादी कमाण्डरको घरपरिवार भन्ने थाहा पाएपछि प्रहरीले कमलाको घरमा दैनिक घेराबन्दी गर्न थाल्यो । सुरक्षाकर्मीको हैरानीले गर्दा कमलाले दोस्रो बोर्डिङ स्कूल पनि अरुको जिम्मा लगाइन् । विवाह गर्नुअघि कमलाले बुटवल पावर कम्पनी, स्याङ्जामा पाँच वर्ष काम गरेकी थिइन् । विवाहपछि बोर्डिङ स्कूल चलाइन् । तर, श्रीमानलाई बेपत्ता पारेपछि उनले नेपालगञ्जमा आएर जागीर नखाई घुम्ती पसल खोलिन्। ‘यहाँ आएपछि पनि बोर्डिङ स्कूलमा पढाउन अफर आएको थियो, मैले आफ्नै पेशा व्यवसाय गर्छु भनेर गइन, कमलाले भनिन् ।

सास कि लाश चाहियो
बेपत्ता आयोगले पछिल्ला दिनमा बेपत्ता व्यक्तिलाई ‘मृतक’को सूचीमा राखेर बेपत्ता परिवारका घरघरमा पत्र पठाइरहेको छ । हुलाकबाट आउने त्यस्तो पत्रले बेपत्ता परिवारलाई अझ पीडा थपेको छ ।

‘लाश नभएपनि कंकालसम्म देखाउनु पर्‍यो, त्यसै मृतकको सूचीमा राखेर पत्र पठाउनु पाइन्छ, आक्रोशित भन्दै कमलाले थपिन्, यो आयोगका अधिकारीको बेइमानी हो ।’ बेपत्ता परिवारले अहिलेसम्म काजक्रिया गरेका छैनन् । हिन्दु धर्ममा काजक्रिया गर्नका लाग अस्तु खोजिन्छ ।

कमलाको घरमा भने आयोगको पत्र आइपुगेको छैन । बाँकेमा कम्तीमा ६ जनाको घरमा त्यस्तो पत्र आइसकेको छ । आयोगले आएर छानबिन गरोस् । कहाँ, कसले मारेको हो भनिदेओस् । मिलेसम्म कंकाल भएपनि देखाइदेओस्, त्यसै हचुवाको भरमा मृतक भन्न पाइदैन, कमलाले भनिन् ।

कमलालाई माओवादीका ठूल्ठूला नेताप्रति पनि आक्रोश छ । प्रचण्ड, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदासम्म बेपत्ता परिवारका बारेमा केही नगरेकोे उनको भनाई छ । ‘उनीहरुकै आदेशमा हाम्रा मान्छे बेपत्ता पारिए, सरकारमा गएर पनि उनीहरुले केही गरेनन् त ? कमलाले भनिन्, हामीलाई हाम्रो मान्छे फिर्ता चाहियो ।’

माओवादीले सरकारको नेतृत्व गर्दा बेपत्ता परिवारका छोराछोरीलाई पढाई र रोजगारका लागि केही काम गर्छन् कि भन्ने कमलालाई आशा रहेछ । ‘यी विषयमा एउटा विधायक ल्याएनन्, उनीहरुले त आफू सत्तामा पुग्नका लागि मात्रै जनताका छोराछोरीलाई मराएका रहेछन्, कमलाले भनिन् ।

बेपत्ता परिवारले गर्ने हरेक कार्यक्रममा कमलाको उपस्थिति हुन्छ । मञ्चमा आफ्नो दुःखेसो पोख्छिन् । हुने त केही रहेनछ । खाली संघ संस्था मोटाउदा रहेछन्, अहिले कमलालाई लाग्न थालेको छ । ‘आफूले काम नगरी केही नहुने रहेछ, कार्यक्रमहरुमा गएर दुःखेसो बिसायो, अरुले फाइदा लिदा रहेछन, बुझ्दैछिन्, कमला । बेपत्ता परिवारका कार्यक्रममा भने उनलाई जानै मन लाग्छ ।

माघ ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्