टाढा टाढा जानु छ साथी, एक फेरा हाँसिदेऊ..!

टाढा टाढा जानु छ साथी, एक फेरा हाँसिदेऊ…. !

खै, गीतकार कति टाढा जान चाहन्छन्, उनले कल्पना गरेको टाढाको स्थान कहाँ होला!

हुन त महाकविले आफ्नो नायकलाई टाढा भनेको काठमाडौँबाट छ सय किमी ल्हासासम्म पुर्‍याउनुभएको थियो।

लाहुरमा गएका नायकका सिर्जनाकार कविहरुको टाढा भनेको यसको दोब्वर (हवाई मार्गबाट) हुन्छ।

अमेरिका, अष्ट्रेलिया नै पुग्‍नु पनि दश/बाह्र हजार किमी टाढा पुग्‍नु हो।

पृथ्वीको डायमिटर १२,७५६ किमी छ। अब पृथ्वीको सतहको मापन गर्ने हो भने ज्यामेट्रीको सहायता लिऊँ। सर्कलको दुरी ‘डायमिटर’गुना ‘पाइ’ हुन्छ, अब किनकि विपरीत दिशाको दुरी नाप्नु छ, त्यसैले यसको आधा गर्नुपर्छ। (१२७५६ गुना २२/७)/२ =२००३७किमी। यति नै है पृथ्वीको एउटा विन्दुबाट अर्को विन्दु सम्मको अधिकतम दुरी।

कविले पृथ्वीमा आफ्नो नायकलाई टाढा पुर्‍याउने सीमा यति नै हो। तर हाम्रा महाकवि त्यसै महाकवि भएका होइनन्। उनी ‘उडी छुनु चन्द्र’ पनि भन्छन्। अर्का एउटा गीतकार पृथ्वीको सामाजिक (असामाजिक) परिस्थितिले दिक्क बनेर नायकलाई प्रेमिकासँग भन्‍न लगाउँछन, ‘चलो दिलदार चलो, चाँद के पार चलो।’

अब यी दुबै कविको कल्पनाको उडान हजारबाट लाखमा पुग्छ, ३ लाख ८४ हजार ४ सय किमी।

प्राय: हाम्रा कविहरुको यात्रा जूनसम्म रहेको पाइन्छ। ‘नौलाख तारा उदाए….’ का गीतकार वर्णनसम्म गर्छन्, त्यहाँ पुग्ने कल्पना गर्दैनन्।

अब यी तारा उनले गनेको पक्कै होइन, आकाशमा स्वस्थ आखाँबाट

कुनै स्मृति शेष छैन। अचेल विज्ञानको ‘क्वाण्टम’ लड्डुले आकर्षित भएर गैलिलिहेर्दा बढीमा तीन हजार तारासम्म देख्न सकिन्छ।

प्रसंग टाढा टाढाको हो, तर कति टाढासम्म ..? हामी बसेको पृथ्वीको कति टाढासम्म साइनो रहेको छ, जान्‍न मन लाग्यो।

भूतपुर्व कविका नाताले त मेरो कल्पना खै कहाँसम्म पुग्यो होला? योदेखि हब्बल, न्यूटनदेखि आइन्सटाइन, मैक्स प्लांकदेखि स्टिफन हकिन्सले बनाएका विभिन्न प्रकारका मिठाइ चाख्नमा रमाइरहेको छु। खै, कुन मिठाइ चाख्दा शायद त्यसमा ‘एलएसडी’ मिसाइएकाले पृथ्वीको परसम्मको साइनो खोज्ने लठ्ठक विचारले ओतप्रोत बनायो।

‘बिग बैँग’ सम्म पृथ्वीको नाता छैन है। त्यसको धेरैपछि पो यिनी ‘डेभलप’ भएकी हुन्। हाम्रो सूर्य नै ‘बिग बैंगको’ ९ अर्ब वर्षपछि ‘सेप’मा आएका हुन्। नाता केलाउन मैले अर्कै पद्वति अपनाउनु पर्‍यो।

‘बिग बैंगले’ निर्माण गरेको हाम्रो ब्रम्हाण्डको दृश्य आकाशलाई (किनकि अरु पनि ब्रम्हाण्ड हुन सक्छन्) वैज्ञानिकहरुले ८८ भागमा विभाजित गरेका छन् जसलाई ‘कन्सटिलेसन’ भनिन्छ। एउटा ‘कन्सटिलेसन’ जसलाई ‘सैगूटेरियस’ भनिन्छ। यसभित्रै पर्छ हाम्रो आकाशगंगा ‘मिल्की वे।’

सबैभन्दा ठूलो ‘कन्सिटीलेसन’ ‘हाइड्रा’ हो भने ‘बिग्रो’ दोस्रो ठूलो हो। ‘सैगुटेरियस’ १५ औं नम्बरमा पर्छ। यो ‘लिब्रा’, ‘स्कोर्पियस’, ‘कैप्रिकोमस’ आदि ‘कन्सटिलेसन’ले घेरिएको छ।

‘कन्सटिलेसन’ भनेको हामीले आकाश हेर्दा छरिएर रहेका तारा देखिन्छन्। कहीँ एक झुप्पा तारा, फेरि अर्को ठाउँमा अर्को झुप्पा। यी देखिने ताराका झुप्पाहरुले ओगट्ने ठाउलाई ‘कन्सटिलेसन’ भनिन्छ।

माथि भनिएझैँ ‘मिल्की वे’ आकाशगंगा सैगुटेरियस ‘कन्सटिलेसन’भित्र पर्छ। अर्थ यो भयो हामी बसेको पृथ्वी पनि बृहत आकाशको ‘सैगुटेरियस’ क्षेत्रमा पर्छ। यसअनुसार हामी सबै धनु राशिका हौं! आकाशमा ‘सैगुटेरियसको’ क्षेत्रफल ८६७ वर्ग डिग्री रहेको छ। ‘मिल्की वे’ को केन्द्र ‘सैगुटेरियस कान्सिटीलेसन’ को पश्चिमी भागमा अवस्थित छ।

हाम्रो पृथ्वी ‘मिल्की वे’ को सदस्य हो। ‘मिल्की वे’ को विस्तार १ लाख ८० हजार प्रकाश वर्षसम्म रहेको छ। किमीमा यो १७०२९४४०००००००००००० हुन आउँछ। योभित्र झण्डै चार सय अर्ब ताराहरु छन्।

हाम्रो सूर्य महासय ‘मिल्की वे’ को केन्द्रबाट २७ हजार प्रकाश वर्ष टाढा हुनुहुन्छ। र, सूर्यलाई ‘मिल्की वे’ को केन्द्रको एउटा फन्को पूरा गर्न कछुवाको गति! २ सय २० किमी. प्रति सेकेन्डका दरले २५ करोड वर्ष लाग्छ। यो नै एक ‘ग्यालेक्टिकल इयर’ अथवा ‘कस्मिक इयर’ हो।

सूर्य महासय बनेदेखि अहिले २१ औं फन्कोको क्रममा छन्। सबै कुरा सही सलामत भइरहे यिनको कर्म अरु २० वटा फन्को लाउने छ।
‘मिल्की वे’ मा रहेका ४ सय अर्ब ताराहरुमध्ये १ सय अर्ब पृथ्वीजस्तै ग्रहका कोटीमा आउँछन्। यीमध्ये कतिपयमा जीवन हुनसक्छ! भर्खरै नासाले ट्रेपिस्ट—१ सौर्यमण्डल पत्ता लाएको छ, पृथ्वीभन्दा जम्मा ४० प्रकाश वर्ष टाढा त छ नि यो!!

‘मिल्की वे’ को सूर्य नामक तारा सबैभन्दा चम्किलो हामी पृथ्वीबासीका लागि मात्र हो, नजिक भएका कारण। १५ करोड किमी मात्र भएकाले सूर्य ठूलो लागेको हो, नभए योभन्दा धेरै ठुल्ठुला र थरिथरिका ताराहरु छन्। सिरिअस, पोलुक्स, रिगेल, यू वाई स्कुटी, भी वाइ कैनीस, मैजोरिस आदि सूर्यभन्दा सयौँ गुणादेखि हजारौं गुणा ठूला ताराहरु छन्।

यू वाई स्कुटी भन्ने तारा कति ठूलो छ भने यसको कल्पना गरौँ। तपाईँसँग प्रकाशको गतिले हिँड्ने कुनै खेलौना गाडी छ भने यसले सूर्यरुपी गोलाको परिक्रमा गर्न जम्मा १४.५ सेकेण्ड लगाउँछ र त्यै खेलौना गाडीलाई यू वाई स्कुटीको परिक्रमा गर्न सात घण्टाको समय चाहिन्छ।

‘मिल्की वे’ सम्म पृथ्वीको प्रत्यक्ष साइनो छ, अरु आकाशगंगा छिमेकी हुन्। छिमेकीको भू—भागसँग सम्बन्ध गाँस्नु नगाँस्नु मित्रतामा भर पर्छ तर ‘मिल्की वे’ को क्षेत्रफल सम्म पृथ्वीको जन्मसिद्व अधिकार छ। यसका चारसय अरब ताराहरुसँग यसको पैतृक सम्बन्ध छ।

मलाई त कल्पना गर्नमा आधुनिक कविभन्दा पौराणिक कवि नै अगाडि रहेझैँ लाग्छ। हेर्नुस् त त्यो कालका कविको उडान, ‘जुग सहस्र योजन पर भानू, लीन्हो ताहि मधुर फल जानु’।

साइन्सको यस उन्नत युगमा कविहरुले नायकलाई हिरै हिराले बनेको ‘५५ कैंक्री’ ग्रहमा पठाउनुपर्ने! पृथ्वीभन्दा आकारमा दोब्बर र भारमा आठ गुणा बढीरहेको यस ग्रहबाट फर्केको नायक आफ्नी प्रेयसीलाई हीरैहिराले ढाक्न सक्छ। यो हामीबाट ४० प्रकाश वर्ष मात्रै टाढा छ।

सुरा प्रेमी कविहरुले आकाशमा रहेको ४६३ अरब किमी. टाढा रहेको ‘नेबुला’ सम्म पुग्नुपर्ने हो, जसमा प्रचुर मात्रामा अल्कोहल उपलब्ध छ। यहाँबाट दुई चार प्याग लगाएर कल्पनाको उडानमा निस्कने हो भने दश हजार प्रकाश वर्षको दुरी के नै हो र कविका लागि?

एउटा चुरोट नसकिँदै अर्को प्याग थप्न त्यो ‘नेबुला’ मा पुग्न सकिदैंन र कवि साथी हो?!

माघ ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्