छोरी मैले पाएँ, पीडा उनीहरुलाई हुन्छ!

छोरी नै छोरी या छोरा नै छोरा मात्र भएको संसार कल्पनै गर्न सकिन्न। छोरी भए ठीक छोरा पाए बेठीक, छोरा पाए ठीक छोरी भए बेठिक भन्ने तर्क र वितर्क गर्न खाजेको पनि होइन यहाँ। यस बीचको विभेद अन्त्यका निम्ति पहिलो बच्चाका आमा–बाबु, घरपरिवार त्यसपछि समाज हुँदै देशको राज्य व्यवस्थाले कस्तो खालको संस्कार, संस्कृति, शिक्षा, दिक्षाका साथै नियम र कानून अवलम्वन गर्दै सामाजिकरण गर्दछ भन्ने कुरा नै पहिलो प्राथमिकता विषय हुन आउँछ र हुन्।

२० औं वर्ष अगाडि छोरीको चुडाकर्म गर्दैै गायत्री मन्त्र सिकाउँदै हिंड्ने योगी नरहरिनाथको कर्मलाई कथित धर्म निरपेक्षता घोषणा गर्ने मठाधिसहरूले तीनको पार्टीको र भातृ संगठनहरूले राजनीति कार्यक्रम तयार पारेर लागू किन नगरेका होलान् ? यस्तै छाउपडी उन्मुलनका कार्यक्रमहरु किन गाउँगाउँसम्म नपुर्‍याएका होलान् ?

यीनका सांगाठनिक संरचनाहरू वडा तहसम्मै छन् । राजनीति पार्टी र त्यसका संगठन र संगठक भनेका समाज परिवर्तनका (सकारात्मक) संवाहक हुन्। तर किन भैरहेका छैनन्? गरिरहेका छैनन्? यी कार्यक्रमहरू गर्न पनि उनीहरुले विदेशिको मुखताक्ने र डलरको आशामा र्‍याल चुहाउने भएपछि समाजको हालत बेहाल बाहेक अरु के नै हुने भयो र?

आमा सागर हुन्। आमा वा महिला हुनुको बोझ र जिम्मेवारी सायदै पुरुषमा कमै होला। बच्चा पाउन र हुर्काउन उनले कति अहम् जिम्मेवारी सम्माहालेकी हुन्छिन् त्यो यहाँ लेखेर न्याय हुन सक्दैन। महिला सुत्केरी हुँदा र त्यसपछि बच्चाको हेरविचार गर्न उनमा थपिएको जिम्मेवारी र त्यो पीडाका साथै मनोवैज्ञानिक असरहरू मैले प्रत्यक्ष देखें, भोगेँ र महशुस भयो तर व्यवहारमा म (पुरुष) जहिले पनि चुकेको हुन्छु किन कि म पुरुष हुँ, पुरुष प्रधान समाज र संस्कारमा हुर्के बढेको हुँ। बच्चाका निम्ति आमा र बाबुको त्यतिकै महत्व राख्छ नै। तर आमा बिनाको बच्चाहरुको भविष्य अन्धकारमय नै हुन्छ।

त्यसैले त भन्ने गरिएको होला, बाबुु नहुँदा आधा ‘टोके’ (टुहुरो), आमा नहुँदा पुरा टोके।

पुरानोका साथै प्रसुतिको लागि मात्र स्थापना भएकाले सुत्केरी गराउन थापाथलीको प्रशुति गृह राम्रो होला जस्तो लागेर हामी सुत्केरी हुनुभन्दा एकहप्ता पहिला चेकअप गर्न त्यहाँ गएका थियौं। जुम्लाबाट काठमाडौं झरेर। चेक जाँच गराउने क्रममा त्यहाँको अस्तव्यस्तता र चेक गर्ने पहिला डाक्टरको साह्रै रुखो र सुखा व्यवहारबाट हामीलाई हतोत्साहित पार्‍यो।

त्यसपछि हामी भोलिपल्ट एकजना किर्तिपुर आफन्त दिदीको सल्लाहमा किर्तिपुरको मोडेल हस्पिटलमा गयौं। डेरा पनि किर्तिपुरमा नै भएकाले सजिलो पनि भयो। त्यहाँ कि डाक्टर पेरु प्रधानको व्यवहार सल्लाह र सुझाव साह्रै राम्रो थियो।

भनिन्छ, डाक्टरको व्यवहारले पनि विरामीको आधा रोग सन्चो हुन्छ। हामीलाई पनि त्यस्तै अनुभव भएको थियो। अन्य सबै सुत्केरीहरुप्रति गेरको उनी र उनको टीमको व्यवहारको पंक्तिकार सँधै ऋणी नै हुने छ । उनी पनि त आखिर एक छोरी नै थिइन्, प्रसुतिगृहकी डाक्टर पनि छोरी नै थिइन्। यी दुई बीच कति भिन्नता!

‘चिन्ता नगर सुत्केरीको राम्रोसँग हेरविचार गर्नु बा, छोरा नभए के भो त…’ भनेर सहानुभूति दर्शाउनुभयो मेरो आमाले  फोनबाट।

यो मेरो आमाको दोष थिएन । उहाँ एक अक्षर नपढेको हाम्रो जस्तो पुरुषप्रधान र त्यसमा पनि जुम्लाको गाउँमा ७० वर्ष पहिला एक निरक्षर परिवारमा जन्मनुभएको र निरक्षर मेरो बासँग विवाह गर्नुभएको थियो।

सायद मेरो आमालाई मेरो छोरो, छोरा र छोरी बीचको भेदबाट मुक्त छ भन्ने ज्ञान नभएर पनि होला। मेरी आमाले मलाई सहानुभूतिपूर्ण सान्त्वना दिइरहनुभएको थियो। सायद छोरी पाएकोमा ‘छोरा–बुहारी’ खिन्न भएका होलान् भन्ने उहाँको मनमा रहेको हुनुपर्छ।

बच्चा गर्भमा बसेको ३ महिनापछि  भिडियो एक्सरेबाट त्यसको लिंग पहिचान सजिलै हुन्छ नै। तर हामीले कहिले पनि त्यो जान्ने र बुझ्ने प्रयास गरेनौँ। हामीलाई जे भए पनि सहर्ष स्वीकार थियो।

त्यसबेला र अहिले पनि समाजमा धेरै यस्ता पात्रहरु भेटिए र भेटिँदै छन्, ‘कस्तो तिमीहरु हूस्सु रहेछौं कमसेकम चेक त गरेर राख्नुपर्छ। दुईदुई पटक अपरेसन गरेर ल जा कठै….’ यस्तैयस्तै।

एक जना आफन्तले, ‘त्यसको कालो मन छ त्यसैले छोरी नै छोरी पाई’ भन्नसम्म भ्याए रे। यसरी मैले छोरी पाएकोमा उनीहरुलाई पिडा भएको छ।

यो पृथ्वीमा मानिसको भौतिक शरिरको अस्तित्व मात्र ऊ जिवित रहुन्जेल रहने हो र साथै कर्मको पनि। मरे पछि उसले गरेको कर्मका आधारमा उसको अस्तित्व महिना, वर्षदिन वा वर्षौँवर्षसम्म रहने हो। छोरा वा छोरी बनेर रहने कदाचित होइन।

हाम्रोतिर छोरा पाए पछि उसको आमा–बाबुलाई दुबो कानमा सिउरिदिने चलन छ। अविर लगाई दिने परम्परा छ, बाटामा भेट्ने वा घरमा भेट्न आउनेले। यसरी खुशी बाँड्ने परंम्परा छ। छैट(नाच गान) गराउने चलन छ। छोरी पाउँदा यी कुनै कार्य हुँदैनन्। योबाट हाम्रो जोडी अछुतो नै रह्यो।

यी यावत विभेद हटाउन घर परिवार, समाज र राज्यले नै विषेश ध्यान दिएर सामाजिकरण र सांस्कृतिकरण गर्नु पर्दछ। काजकिरिया छोरीले पनि गर्न पाउने संस्कार र संस्कृतिको विकास र विस्तार गरिनुपर्दछ।

सम्पतिको हकमा छोरा र छोरी दुबैलाई जन्मसिद्ध स्वत बराबर हकको कानुनी अधिकारको व्यस्था र संस्कारको थालनी गरिनुपर्दछ।

छोराले सम्पत्तिको विंडो थामेर राख्छ छोरी अर्काको घरमा जाने जात न हो भन्ने दरिद्र मानसिकताको जड हामीमा छ।

सम्पत्तिमा समान भोगचलन गर्ने हक नभएको कारणले गर्दा पनि छोरीको आर्थिक, सामाजिक, राजनीतिक र वौद्धिक क्षमतामा ह्रास आएको छ। छोरा त्यहि पुर्ख्यौली सम्पत्ति भोग चलन गरेर चलायमान बन्नेछ भने छोरी गर्न नपाएर स्थीर बन्छे।

निश्चितरुपमा  प्रकृतिले नै पुरुष र महिलामा केही जन्मजात भिन्नताहरु दिएको छ तर त्योभन्दा सयौं गुुणा यो समाज, राज्य र हामीले बनाएका गलत धारणा र विभेदका पर्खालहरु छन्। यसले विभेदपूर्ण समाजको निर्माण गरिरहेको छ वा हामीले गरिरहेको छौँ।

पंक्तिकारले यो आलेख लेख्न एउटै कुराले प्रेरित गरेको छ यी वा ती छोरीहरुले भोलि ठूलो भएपछि यो पढुन् कि जसरी उनको बाबा, छोरा र छोरीबीचको विभेदबाट मुक्त छ, उनीहरुलाई पनि यो प्रेरणf मिलोस कl उनीहरु पनि यो भ्रमबाट मुक्त होउन्।

अन्तमाः म त एउटै भए पनि खुशी नै थिए तर उनले भनिन्, यसका लागि (पहिलो बच्चा) भए पनि एउटा साथी चाहिन्छ, त्यो इच्छा पनि पुरा भएको छ।

अब त कहिं कतै सुनेको, पशुपति शर्मा र टीका पुनको स्वरमा

 ‘छोरै पाउँछेस् भन्थे सबै

छोरी पाएँ मैले

मेरो त घरैमा………..बास

अब त छैन होई छोरा पाउने आस।’

माघ ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्