सुर्खेत – प्रदेश नम्बर ६ का ५४ गाउँपालिकाका जनप्रतिनिधि सुर्खेतमा भेला भएका छन् । गाउँपालिका सञ्चालनमा देखिएका चुनौती र कानुन सम्बन्धी जानकारी लिन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सुर्खेत आएका हुन् ।

स्थानीय तहको निर्वाचन भएको झण्डै १० महिना बितिसक्दा पनि भौतिक संरचनाको अभाव, कामकारवाहीमा भएका समस्या, आवश्यक नीति, ऐन कानुन सिक्न जनप्रतिनिधि सुर्खेतमा भेला भएका हुन् ।

तीन दिनसम्म सञ्चालनमा हुने कार्यशालामा गाउँपालिका सञ्चालनमा देखिएका चुनौती बारे बहस हुने गाउँपलिका महासंघ प्रदेश ६ का अध्यक्ष कविन्द्रकुमार केसीले बताए ।

कार्यशालामा काँशीराज दाहाल, स्वास्थ्य विज्ञ डा. निर्मला शर्मा, शिक्षा तथा कानुन विज्ञ टीकाराज भट्टराई र कृषि विज्ञ कृष्ण पौडेलले प्रशिक्षण दिनेछन् ।

अध्यक्ष केसीका अनुसार गाउँपालिकाका प्रमुख र उपाध्यक्षहरुसँगको कार्यशाला नेपालमै पहिलो पटक सञ्चालन हुने भएको हो ।

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्