फेवातालमै मेरो अर्जुनदृष्टिः सांसद पहारी

पोखरा- प्रदेश नं ४ का प्रदेश सभा सदस्य राजीव पहारीले फेवाताल संरक्षण र सम्बर्द्धनमा आफ्नो अर्जुनदृष्टि रहेको बताएका छन्।

पोखरामा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममा पहारीले एक हप्ताभित्रै फेवातालको आकार बढाउने ठोस कार्य गर्ने प्रतिवद्धता दोहोराउँदै आफूले नागरिकले अनुभूति गर्ने कार्य गरेर देखाउने बताए।

सपथ ग्रहण गरेलगत्तै फेवाताल छेऊ पुगेर काम थालेको उद्घोष गरेका पहारीले कागजी रुपमा काम सुरु भइसकेको र अब प्रक्रियागत रुपबाट काम थालिने बताए।

प्रत्येक वर्ष राज्यलाई आर्थिक विकासमा टेवा पुर्‍याइरहेको फेवाताललाई सरकारले राष्ट्रिय सम्पदाको रुपमा घोषणा गरेर यसको संरक्षण र सम्बर्द्धनमा बजेट छुट्याउन ढिला गर्न नहुनेमा जोड दिए।

‘तीन वर्षअगाडि विश्व रामसार सूचीमा सूचीकृत भएको फेवाताल विश्वको १३ सुन्दर तालमा पर्दछ, २०१९ सालमा १२ हजार रोपनीमा २०५७ सालमा ९ हजार ९ सय ५५ रोपनीमा नापिएको प्रतिवेदनले देखाएको छ,’ उनले भने, ‘अब सधैँ प्रतिवेदन हेरेर अन्तर्क्रिया मात्रै गरेर बस्ने कि काम शुरु गर्ने?’

उनले फेवाताल कुनै व्यक्तिको एक्लो मुद्दा नभई राष्ट्रको साझा मुद्दा भएको भन्दै सबैले चासो राख्नु पर्ने बताए।

पहारीले प्रदेश सभाको पहिलो बैठकपछि फेवाताल संरक्षण सम्बर्द्धनसम्बन्धी अति जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने बताए।

उनले भने, ‘यसका लागि केन्द्रीय सरकार र प्रदेश सरकारलाई घच्घचाएर पहल थाल्न दबाब दिनेछु।’ पहारीले तालको संरक्षण र सम्बर्द्धनका लागि उच्चस्तरीय प्राधिकरण बनाउनु पर्नेमा समेत जोड दिए।

‘प्रदेश चारको पर्यटन र समग्र विकासको आशा र भरोशाको रुपमा रहेको फेवातालको काम अब कुनै पनि बहानामा रोकिदैँन,’ उनले भने, ‘अब जस्तै चुनौती नै आएपनि तालको आकार बढाई छाड्छु। स्थानीय तह ,प्रदेश सरकार र केन्द्रीय सरकारसँगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब फेवातालले पहिलेको आकार पाउँछ।’

उनले फेवातालको पानी खाएर यही पौडँदै हुर्केको स्मरण गर्दै कसैको व्यक्तिगत स्वार्थका लागि नभई अब जनताको आशा र विश्वासलाई शिरमा राखेर काम गर्ने बताए।

बार्षिक १ लाख ४२ हजार मेट्रिक टन खहरे र हर्पन खोलाबाट आएको ढुंगामाटो र गिटीले प्राकृतिक रुपमा पनि फेवातालको सुन्दरतालाई बिगारेको र भौतिक रुपमा पनि फेवाताल पुरिँदै गएको भन्दै अब हिजो के भए भन्दा पनि अब के गर्ने भन्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्दै जाने उनले बताए।

माघ १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्