लगानी श्रीमान्‌को, पद श्रीमतीलाई

विधायक कुर्मी। तस्बिर: कुमार श्रेष्ठ

नेपालगञ्ज– पौने घण्टापछि विधायक चिन्तावती कुर्मी बर्मा घरभित्रबाट बाहिर निस्किइन्। अग्रिम जानकारी दिएर म घरमा पुगेको थिएँ। छोरी सानु बर्माले बाहिर निस्केर ‘आमा आउँदै हुनुहुन्छ, बस्दै गर्नुस्’ भनेपछि म आँगनमा राखिएको कुर्सीमा बसे।

नेपालगञ्जदेखि खराब बाटोलाई झेल्दै म राप्ती नदी छेउमा रहेको डुडुवा–२, बेतहनीको सन्तलिया गाउँ (विधायक कुर्मीको घर) मा पुगेको थिएँ। टाढाबाट पुगेको म, लामो समयसम्म आँगनमा कुर्नु परेपछि मनमा अनेकन प्रश्नहरु तेर्सिए।

फूलबुट्टे सारी लगाएर विधायक कुर्मी बाहिर आइन्। पौने घण्टा बाहिर बस्दा खुल्दुली लागेको कुरा नमस्ते गर्दै सोधेँ, ‘किन बाहिर निस्किन यतिका समय लगाउनुभयो?’

विधायकबाट जवाफ आयो, ‘फोटो खिच्ने भएकाले कपडा अर्को लगाउँदै थिएँ।’ उनलाई पत्रकारले के–के सोध्ने होलान् भन्ने खुल्दुली पनि लागेको रहेछ।

श्रीमान सत्यनारायण बर्माले २०४८ सालदेखि राजनीतिक गरिरहँदा चिन्तावती शुद्धरुपमा गृहिणी थिइन्। घरको चौघेराबाट कमैमात्रामा बाहिर निस्किएकी कुर्मीलाई श्रीमानकै राजनीतिक लगानीले विधायकजस्तो गरिमामय ‘पद’ मिलेको छ। ‘मिहिनेत उहाँले गर्नुभयो, पद मलाई मिल्यो,’ कुर्मीले भनिन्।

९ वर्षमा विवाह, ५ वर्षपछि गौना, एक वर्षपछि थौना र आला–चाला (मधेसी समुदायको रीति) गरेर सत्यनारायणको घरमा भित्रिएकी कुर्मीले विद्यालय जान पाइनन्। राजनीति गर्ने श्रीमान र चार छोराछोरीको सेवामै कुर्मीको लगानी रह्यो। नेता श्रीमानलाई भेट्न चार जना बाहिरी मानिस आउदा कुर्मीको काम चिया बनाउने र छोराछोरीलाई बोलाएर पुर्‍याउन लगाउने थियो। ‘बन्देजमा हुर्किएका हौं’ कुर्मी अलिकति खुलिन्।

चुनावको प्रचार–प्रसार युद्धस्तरमा चलिरहँदा समानुपातिक सूचीमा नाम रहेकी कुर्मीलाई धेरैले देख्न पाएका थिएनन्। उनी डुडुवाकै खडैचामा एक दिन प्रचारमा निस्केकी थिइन्। त्यही बेला बिरामी परेकाले पनि कुर्मी प्रचारमा निस्किन सकिनन्। एमालेजस्तो ठूलो पार्टीमा दशकौंदेखि त्याग, तपस्या गरेका नेत्रीहरु हुँदाहुँदै नामै नसुनेको, प्रचार प्रसारमा नदेखिएकी गृहिणी कुर्मीलाई विधायक बनाएपछि केहीले कानेखुशी गरे। सत्यनारायण नै सम्झिएर कुर्मीलाई अगाडि ल्याइयो। जातीय समिकरण मिलाउदा भाग्य बलियो रहेकी कुर्मीलाई विधायकको अवसर मिल्यो।

श्रीमान बर्मा भने हरेक दिनको चुनावी प्रचारमा खटिएका थिए। घर, आँगन, खेतमा पुगेर मतदाताको खुट्टा समाउँदै ‘आफू पनि विधायकमा उठेको’ भन्दै मत माग्थे। २०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेर दिपेन्द्र युवा क्लव, नेविसंघ हुँदै लगातार तीन अधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिएका थिए।

१२ औं अधिवेशनबाट जिल्ला कमिटि सदस्य रहेका उनी १३ औं अधिवेशनमा क्षेत्रीय अध्यक्षमा पराजित भएका थिए। स्थानीय चुनावका बेलामा टिकट नपाएपछि उनी संघीय समाजवादी फोरममा गए। त्यहाँ पनि अन्याय भएपछि ६० जनासहित एमालेमा आएका थिए।

‘एमालेमा मेरो धेरै लगानी थिएन, विश्वास गरेर ठूलो पद दियो,’ बर्माले भने।

विधायक पक्का भएपछि कुर्मीलाई काठमाडौं जानु पर्ने भयो। काठमाडौं पुगेको बेलामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न मन लाग्यो। मन्दिरमा लामो लाइन थियो। चिनेका एक जना प्रहरी भेटिए। कुर्मीलाई देखाउँदै ‘माननीय’ भनियो। त्यसपछि प्रहरीले फूलको माला लगाउँदै अगाडि लगेर पूजा गर्ने अवसर दियो। त्यसपछि कुर्मीलाई लाग्यो, माननीय त ठूलो पद रहेछ।

बुटवलमा शपथ खाएर सोमबार घर आएपछि बधाई थाप्ने काम भइरहेको छ। अब गाउँको विकास गर्नुपर्छ भन्नेहरु बढेका छन्। वर्षेनी राप्ती नदीको डुवानमा पर्ने सन्तलियालगायत गाउँहरुलाई सुरक्षित गर्नु र बाटोघाटो राम्रोदेखि शिक्षा, स्वास्थ्यमा सुधार ल्याउन विधायकलाई चुनौती रहेको छ। ‘पछाडी परेका मधेसी महिलालाई अगाडि ल्याउने, डुवान रोक्ने, बाटो राम्रो गराउने, छोरीलाई पढाउने’लगायतका कुराहरु कुर्मीले बुझ्दैछिन्।

‘पिएले भाषण गरे हुन्न?’

‘विधायक हुनुभयो, अब त तपाई मञ्चमा गएर बोल्नु पर्छ । ढुक्क भएर कुरा गर्नुस्,’ भेटको शुरुवाती चरणमै मैले कुर्मीलाई भनेको थिएँ। कुरा गर्दै जादा ‘पिए’ (पर्सनल असिस्टेन्ट) हुन्छन्, उसले पनि सहजीकरण गर्छ भन्ने आयो।

त्यतिबेलै फ्याट्ट कुर्मीले सोधिन्, मेरो साटो पिएले भाषण गरे हुन्न ?’ मलाई त भाषण गर्न गाह्रो लाग्छ। झण्डै अढाइ घण्टाको बसाइमा कुर्मी खुल्दै आएकी थिइन्। उनले शपथ खान जादाको बुटवलको घटना सुनाइन्। शपथ खाएर बाहिर निस्केपछि दुई पत्रकारले कुर्मीलाई घेरेर सोधेछन्, नाम, घरठेगाना र केही बोल्नु पर्‍यो। नाम र घरठेगाना भनेपछि अरु थप केही बोल्न सकिनछन्। ‘म अक्मकाइरहेका बेलामा बर्दियाकी विधायक कृष्णी चौधरी आएपछि पत्रकारहरु उसलाई सोध्न थाले,’ कुर्मीले भनिन्, ‘ऊ त फररर बोली ।’

मोबाइलसम्म नलिएकी कुर्मीलाई नडराई भाषण गर्न परिवारजन र छिमेकीहरुले हौसला पढाइरहेका छन्। यो बीचमा कुर्मीले नाम र हस्ताक्षर गर्न जानिसकेकी छन्। गाउँ र जिल्लाका समस्या र बोल्नु पर्ने कुराहरु बुझ्दै आएकी कुर्मीलाई दुई/चार जना या धेरै मान्छेका अगाडि ढुक्कसँग आफ्ना कुरा राख्न ‘मनको डर’ हटाउने कोसिस भइरहेको छ। ‘मलाई त डर लाग्छ र भन्न खोजेका कुराहरु बिर्सिन्छु,’ कुर्मीले भनिन्, ‘बिस्तारै सबै ठिक हुन्छ।’

सन्तलियामा हस्तीहरु
डेढ सय जति घरधुरी रहेको सन्तलिया गाउँमा अहिले तीन हस्ती (उच्च व्यक्तित्व) को बसोबास रहेको छ। विधायक कुर्मी, गाउँपालिका प्रमुख नरेन्द्र चौधरी र जिल्ला समन्वय समितिका उपसंयोजक ज्ञानेन्द्र चौधरी सन्तलियाकै हुन्। सन्तलियासँगै जोडिएको पिप्रहवा गाउँमा अर्का विधायक विजयबहादुर यादवको घर रहेको छ।

पीच बाटोलेसम्म नघेरिएको सन्तलियाको समस्याहरु यिनीहरुको नजरमा पर्ने र समस्या समाधान हुनेमा स्थानीय आशावादी छन्।

चिन्तावती कुर्मी बर्मा
चुनाव प्रचारका क्रममा खेतमै पुगेर स्थानीयको खुट्टा छोएर मत माग्दै सत्यनारायण बर्मा।

स्थानीय पाटनदिन बर्मा, रामशरण कुर्मी र सीताराम धोवीले अब त गाउँको विकास हुने विश्वास व्यक्त गरे। ‘बर्खामा डुवानले गर्दा घरबाट भाग्नु पर्छ, बाटोको अवस्था दयनीय छ, स्थानीयहरुले भने, अब जनप्रतिनिधिहरुले यी समस्या हटाउनेमा विश्वस्त छौं । यदि काम गरेनन् भने अर्को पटक यिनीहरुको जनमत गुम्छ।’

डुडुवा गाउँपालिकाका सबै वडाहरु डुवानको चपेटामा पर्छन्। उद्धार र राहत यहाँका परिचित शब्द हुन्। विधायक कुर्मीले गत साउन २८ गते आएको बाढी घरभित्र पसेपछि एक महिनासम्म छतमा खाना पकाएर खाएको बताइन्।

‘बाढी आएको हल्ला भइरहेको थियो । बाहिर डेरीमा रहेको मसुरो माथि लैजाऊ भनेर भन्दै थिए। पहिला भैँसी सार्ने कुरा भयो। त्यही बेला बाढी आयो र मसुरोलाई जोगाउन सकिएन,’ कुर्मीले त्यो दिन सम्झिन्।

माघ १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्