लालपुर्जाबिहीन भूकम्प प्रभावित घर बनाउँदै

बनेपा – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेमा जमिनमा स्वामित्व नभएका भूकम्प प्रभावितले अनुदान पाएपछि घर बनाउन थालेका छन् । अनुदानबाट वञ्चित कोशीपारिको गाउँपालिकाका लालपुर्जाबिहीन भूकम्प प्रभावितलाई झण्डै दुई वर्षपछि आवास पुनर्निर्माण अनुदान उपलब्ध गराइएको हो ।

भुम्लु गाउँपालिका वडा नं ७ का ३६५ र वडा नं ८ का ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि लालपुर्जा नभएको बताइएको छ । ती वडामा १५० घर निर्माणाधीन अवस्थामा छन् ।

जग्गाधनीले जमिन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनियरले दिएको निस्साको आधारमा गत कात्तिकमा सरकारले उनीहरूलाई आवास पुर्निर्माण अनुदान उपलब्ध गराएको थियो । यसअघि लालपुर्जाबिहीन भूकम्प प्रभावितले जमिनमा स्वामित्व नभएको भन्दै अनुदान सम्झौता गर्न पाएका थिएनन् ।

सरकारले लालपूर्जाबिहीन प्रभावितको समस्यालाई ध्यानमा राखेर गत भदौमा आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करिब एक हजार लालपुर्जाबिहीन प्रभावितले पुनर्निर्माण अनुदान लिएर घर बनाउन पाएका छन् । हाल वडा नं ७ मा ११ तथा वडा नं ८ मा १५ घर बनिसकेका छन् ।

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले लाभग्राहीको सूचिमा ६७ परिवार छुटेको जानकारी दिनुभयो । उहाँका अनुसार ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी भइरहेको बताउनुभयो । भूमि अधिकार मञ्च नेपाल, काभ्रेपलाञ्चोकको पहलमा उनीहरूले घर बनाउन पाएका हुन् ।

जोखिमपूर्ण अवस्थाकी गोमा शिवभक्तिले जोखिमपूर्ण बस्तीका लागि सरकारले छुट्याएको थप दुई लाख राहत उपलब्ध गराउन आग्रह गरे । उनले भने “हामी लालपुर्जाको समस्यामा थियाैँ, अब बस्ती जोखिममा रहेकाले सरकारकै राहत कुरेर बसेका छौँ ।”

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले भूमिमाथिको अधिकार नैसर्गिक भएकाले नयाँ कार्यविधि निर्माण गरेर भए पनि प्रभावितलाई पुनर्निर्माण अनुदान उपलब्ध गराउन सफल भएको बताए ।

विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा खेतीयोग्य जमिनबारे विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाबिहीन बन्न पुगेका थिए ।

पुनर्निर्माण प्राधिकरण धुलिखेलका प्रमुख धु्रव गैडाले जिल्लाका ७५ वर्षभन्दा माथिका सहाराबिहीन वृद्धवृद्धा, अपाङ्ग, ६० वर्षभन्दा माथिका एकल महिला र परिवार नभएका १५ वर्षमुनिका बेसहारा बालबालिकाको प्राधिकरणले नै घर बनाइदिन लागेको जानकारी दिए ।

उनले भने, “हाम्रो प्रस्तावलाई पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको छ । अब निर्माण प्रक्रिया शुरु गर्न तथ्याङ्क संकलनको काम गर्दैछौँ ।” पुनर्निर्माण प्राधिकरण, धुलिखेल उपक्षेत्रीय कार्यालयकाअनुसार काभ्रेपलाञ्चोकमा अहिलेसम्म करिब २५ हजार निजी आवास निर्माण भइसकेका छन् । रासस

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्