भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भ मेला

काठमाडौंको भृकुटीमण्डपमा क्‍यान महासंघले आयोजना गरेको २४औं संस्करण 'इन्फोटेक २०१८'को उद्‌घाटन समारोहमा उपस्थित सरकार सञ्‍चारमन्त्री मोहन बस्‍नेत, दूरसञ्‍चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल लगायत। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं-सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक विहीबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। क्यान महासंघले बर्षेनि यो मेला आयोजना गर्दै आएको मेलामा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि सूचना तथा सञ्‍चार प्रविधिलाई नेपाली समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्‍यान महासंघका अध्‍यक्ष हेमन्त चौरसियाले बताए।

उनले भने, ‘सातै प्रदेशमा क्यान महासंघले शाखा विस्तार गरिसकेको छ। अबको तीन वर्षमा नेपाललाई इ-नेपाल बनाउने तयारीमा क्यान महासघ लागि परेको छ।’ प्रविधिलाई सरकारले छुट्टै स्थान दिनुपर्नेमा जोड दिँदै उनले
प्रविधि क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी , विज्ञ र अनुसन्धानकर्तालाई प्रविधिमा लगानीको वातावरण बनाइदिन सरकारसँग आग्रह गरे।

उनका अनुसार यस पटकको २४औं संस्करण ‘इन्फोटेक २०१८’को प्रदर्शनीमा हलभित्र ४९ ओटा ठूला र हल बाहिर ५ ओटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेको छ। जसमध्‍ये ट्रसमा १४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी जम्मा २ सय २२ स्टल छन्। हलभित्रका स्टलहरुमा कम्पनीले ब्रान्डिङमा फोकस गर्नेछन् भने बाहिरका स्टलहरुमा छुट र अफरहरुसहित समान खरिद गर्नसमेत सकिनेछ।

यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य छन्।

यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्ससहितका स्टल रहेका छन्।विभिन्‍न सूचना प्रविधिसँग सम्बन्धित संस्थाहरूले यस अवसरमा आकर्षक योजना सार्वजनिक गर्दैछन्। इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेशशुल्क एक सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ।

सरकारी विद्यालयबाट अग्रिम रूपमा लिखित अनुरोधसहित नामावली प्राप्त भएमा ती विद्यालयका विद्यार्थीलाई नि:शुल्क प्रवेश गर्न दिइने क्यानले जानकारी दिएको छ। मेला ६ दिनसम्म सञ्चालन हुनेछ।

क्‍यान इन्‍फोटेकमा के के छ?

सफ्टवेयरको छुट्टै प्याभिलियन

यस वर्षको इन्फोटेकमा सफ्टवेयर कम्पनीहरुको छुट्टै प्याभिलियन तयार गरिएको छ। प्याभिलियनमा एक दर्जन बढी सफ्टवेयर कम्पनीहरुको सहभागिता छ जसमा इन्फोडेभलपर्स, योमरी, योङ माइन्ड्स, सफ्टेक फाउन्डेसन, प्रोफेसनल कम्प्युटर सिस्टमलगायतका कम्पनीहरु छन्।

जसले इन्फोटेक अवलोकन गर्न आउने सर्वसाधारणहरुलाई नेपालमै उत्पादित सफ्टवेयरको बारेमा विस्तृत जानकारी दिइरहेका छन्। पहिलो पटक सफ्टवेयरको प्याभिलियन बनाएर प्रदर्शन गर्न लागिएकाले अवलोकनर्तालाई यो पनि आकर्षणको केन्द्र हुन सक्छ।

अनलाइन टिकटमा २० प्रतिशत छुट

इन्फोटेक अवलोकनका लागि सर्वसाधारणले अब घरमै बसेर अनलाइनमार्फत टिकट बुकिङ गर्न सक्‍नेछन्। जसका लागि क्‍यानको अफिसियल साइटमा गएर वा ई सेवाको साइटमा भिजिट गर्न सकिनेछ। अनलाइन टिकटको खरिदमा २० प्रतिशत छुटको व्‍यवस्था गरिएको छ।

१४ गते बिजनेस डे
क्यान इन्फोटेक २०१८मा चौथो दिन अर्थात् माघ १४ गते ‘बिजनेस डे’को रुपमा मनाउने घोषणा गरिएको छ। उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय रुपैयाँ तोकिएको छ। उक्त दिन विषेशगरी व्यापार प्रवर्द्धनको लागि विभिन्‍न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्नेछन्।

तस्बिरहरु-सुलभ श्रेष्ठ

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्