प्रणय दिवसमा ‘सौराहा खाना महोत्सव, पर्यटकलाई १५ प्रतिशत छुट

रत्ननगर-प्रणय दिवसका अवसर पारेर यही माघ २८ गतेदेखि चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सहआयोजनामा सो महोत्सव हुन लागेको विहीबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने १२औँ संस्करणको महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिए। महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा रेग्मीले प्रणय दिवस पारेर आयोजना गरिएको महोत्सवमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गर्नुभयो । सौराहामा यो समय पर्यटकको मौसम नहुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि खाना महोत्सव आयोजना हुँदै आएको छ।

महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० वृद्धवृद्धा र अपांगलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए।

यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माणका लागि, पाँचप्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने उनको भनाइ छ ।

महोत्सवमा कूल रु ७० लाख आम्दानी हुने र रु ५५ लाख खर्च हुने तथा दैनिक ३० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष लालबहादुर भट्ट, राजनले जानकारी दिए। कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ।

महोत्सव अवधिभर सांगीतिक कार्यक्रमबाहेक वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम राखिएको जनाइएको छ। रासस

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्