प्रदेश ५ को राजधानी बाँकेमै राख्‍ने प्रचण्डको आश्वासन

नेपालगञ्ज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेलाई प्रादेशिक राजधानी बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।

नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले कुनै पनि हालतमा बाँकेलाई पछाडि पर्न नदिने दोहोर्‍याए। ‘प्रादेशिक राजधानी हुनुपर्छ भन्ने तपाईँहरुको भावनाको म कदर गर्छु, यहाँबाट काठमाडौं गएपछि सबै पार्टीका नेताहरुसँग यस विषयमा कुरा गर्छु,’ प्रचण्डले थपे, ‘बाँकेलाई पछाडी पर्न नदिन मैले मेरो तर्फबाट पूरा प्रयास गर्छु।’

प्रचण्डले अहिले सरकारले ‘अस्थायी राजधानी’ तोकेको बताएर प्रदेश सभाले मात्रै राजधानी कायम गर्ने बताए। ‘रियल राजधानी बनाउन बाँकी नै छ। मेरो आफ्नो धारणा चाहि नेपालगञ्ज राजधानी भए पनि बुटवल र दाङमा केही कार्यालय हुनुपर्छ,’ प्रचण्डले भने, ‘नेपागलञ्ज राजधानी हुन नसके यहाँ पनि प्रदेशका कार्यालयहरु हुनुपर्छ।’

ऐतिहासिक शहर, व्यापारिक नाका र ऐतिहासिक आन्दोलनमा साथ दिएको नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल, बहुउद्देश्यीय सभागृह र आर्थिक जोन निर्माणका लागि पूरापुर सहयोग रहने प्रचण्डले आश्वासन दिए। ‘बाँकेका जनताको भावनालाई कुठाराघात, अन्याय हुन दिन्न,’ प्रचण्डले जनताको तालीसँग भने, ‘न्यायपूर्ण आवाजमा म साथ दिन्छु।’

नेपालगञ्ज निवासी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति सुशील कोइरालाको निधन भएको केही समयपछि नेपालगञ्ज आएका बेलामा प्रचण्डले आफू नेपालगञ्जको अभिभावक बन्ने उद्घोष गरेका थिए। उनी नै प्रधानमन्त्री भएको बेलामा सरकारबाट सडक डिभिजन कार्यालय परिसरको दश विगाह जमिन ५० वर्षका बहुउद्देश्यीय सभागृह बनाउन संघलाई दिइएको थियो। तर, दुई पटक प्रधानमन्त्री हुँदा प्रचण्डले आश्वासन बाहेक कुनै सहयोग गरेनन्।

राजधानीका लागि बुटवल र दाङ ठूल्ठूला नेता लागिरहेका बेलामा नेपालगञ्ज आइपुगेका प्रचण्डले बाँकेवासीलाई पनि अन्याय हुन नदिने बताएर ताली खाएका छन्।

सांसद मो. इस्तियाक राई र विधायक सुरेन्द्र हमालले बाँकेलाई राजधानी नबनाएर यहाँका कार्यालयहरु सार्ने काम भएमा जुनसुकै मूल्य चुकाउन बाँकी नराख्ने उद्घोष गरे।

प्रादेशिक राजधानी

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालगञ्जको विकासका लागि हरेक कुरामा साथ दिने बताइन्।

नेपालगञ्जलाई औद्योगिक नगर बनाउन, अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफूले सक्दो गरिरहेको राणाले बताइन्। नेपालगञ्ज निवासी राणाले व्यापार प्रवर्द्धन र पर्यटनको विकासले नेपालगञ्जको उन्नति हुन सक्ने धारणा राखिन्।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले प्रचण्डले अभिभावक हुन्छु भनेर उद्घोष गरे पनि यहाँको विकासमा कुनै परिवर्तन नभएको बताए।

‘वुटबललाई राजधानी बनाएर हाम्रो अपमान गरिएको छ, तपाईकै पहलमा पाएको जग्गामा अझै सभागृह बनाउन सकिएको छैन,’ स्वागतका क्रममा वरिष्ठ उपाध्यक्ष मन्सुरीले भने, ‘बाँकेमा राजधानी नभए सडक तताउँछौं।’

माघ २२ गतेसम्म सञ्चालन हुने प्रादेशिक महोत्सवको उद्घाटन गर्नुअघि बजारमा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो। विभिन्न जातजाती, विद्यार्थीहरुको मार्चपाससँगै हात्ती प्रदर्शन र अतिथिहरुलाई हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको थियो।

महोत्सवमा २ सय ६० वटा ब्यवसायिक स्टलका साथै ५ कृषि, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन्। ५ लाख बढिले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने विश्वास गरिएको छ। महोत्सव परिसरमा २४ वटा सिसी क्यामरा जडान गरिएको छ।

सातौं चरणमा आइपुग्दा महोत्सवबाट डेढ करोड जम्मा भइसकेको छ। अहिलेको महोत्सवबाट एक करोड बचत गर्ने लक्ष्य लिइएको छ। बहुउद्देश्यीय सभा गृह निर्माणका लागि महोत्सव गरिने गरिएको छ।

प्रचण्डलाई ज्ञापन
बाँके राजधानी संघर्ष समितिले प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।

पूर्वधारले युक्त बाँकेलाई प्रादेशिक राजधानी गराउन माग गर्दै समितिका संयोजक निरक गुरुङलगायतले प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन्। राजनीतिक दलहरु मिलेर बनेको संघर्ष समितिले विविध कार्यक्रमहरु बनाएर निरन्तर आन्दोलन गरिरहेको छ।

ज्ञापनपत्र बुझेपछि प्रचण्डले भाषणको अधिकांश समय बाँकेको विकासमा केन्द्रित गरेका थिए। महोत्सव स्थलमा बाँकेलाई राजधानी बनाउनका लागि हस्ताक्षर संकलन गरिएको छ। प्रचण्ड भने अर्को बाटोबाट गएकाले त्यहाँ हस्ताक्षर गरेनन्।

तस्बिरहरु: कुमार श्रेष्ठ

प्रादेशिक राजधानी

 

प्रादेशिक राजधानी प्रादेशिक राजधानी प्रादेशिक राजधानी

 

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्