अनुभवी र पुरानालाई घचेट्दै युवा खेलाडी

काठमाडौं-नामिबियामा आगामी फेब्रुअरीमा आयोजना हुने आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि बिहीबार १४ सदस्यीय नेपाली टोलीको घोषणा भयो। यस प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटमा प्रवेश गर्नेछन्। ६ टोली सहभागी हुने डिभिजन दुई प्रतियोगिताको पाँचौं र छैटौं स्थानमा रहने टोली डिभिजन तीनमा घटुवा हुनेछन्।

यसैले माथिल्लोस्तरको क्रिकेट प्रतियोगिता खेल्न यो प्रतियोगिता नेपालका लागि महत्वपुर्ण छ। टोलीमा रहेका खेलाडीमध्ये पाँच खेलाडीले पछिल्लो एक वर्षबिचमा सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्।

रोहित पौडेल पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा परेका छन् भने दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ,ललित भन्डारी र अनिल शाहले सन् २०१७ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

अनिलले भने सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा मैदान उत्रने मौका पाएका छैनन्। सिनियर राष्ट्रिय टोलीको महत्वपुर्ण सदस्य रहेका सन्दिप लामिछानेले सन् २०१६ मा पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा ठाउँ बनाएका थिए।

सिनियर राष्ट्रिय टोलीमा सामान्य फेरबदल भईरहेपनि कम अनुभवी तथा युवा खेलाडीले यति ठुलो संख्यामा एकै पटक ठाउँ लिएको यो लामो समयपछि हो । रोहित, दिपेन्द्रसिंह , अनिल र सन्दिप अहिलेपनि यु–१९ राष्ट्रिय टोलीको सदस्य छन्।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसहित शरद भेषावकर, बसन्त रेग्मी र शक्ति गौचन लामो समयदेखी राष्ट्रिय टोलीमा छन्। ज्ञानेन्द्रले सन् २००६ र अन्यले सन् २००५ तथा सोभन्दा अगाडि सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन्।

हाल सिनियर राष्ट्रिय टोलीमा रहेकामध्ये सोमपाल कामीले सन् २०१३ र करणले सन् २०१४ को अन्त्यतिर सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन। अरिफ शेखले पनि सन् २०१३ मा डेब्यु गरेका हुन्।

उनीहरुभन्दा अगाडि डेब्यु गरेका विनोद भन्डारी र सागर पुन यसपटक टोलीमा परेनन्। त्यसअघि नै सिनियर टोलीमा डेब्यु गरेका नरेश बुढाएर, प्रदिप ऐरी, भुवन कार्की ,सुबास खकुरेल ,पृथु बास्काेटा ,कृष्ण कार्की लगायतले पछिल्लो समय टोलीमा ठाउँ पाउन छाडेका छन्। पछिल्लो समय केही युवा खेलाडीले टोलीमा अवसर पाएपनि आफुलाई अब्बल सावित गर्न नसक्दा टोलीमा नियमित ठाउँ पाउन सकेका छैनन्।

पारस, शरद, ज्ञानेन्द्र, बसन्त, शक्ति लगायत खेलाडीको प्रदर्शनमा नेपाली टोलीले सन् २०१० पछि अन्तर्राष्ट्रिय क्रिकेटमा छर्लाङ मारेको थियो। यसबीचमा नेपाली टोलीले आईसिसी टीट्वेन्टी विश्वकप खेल्यो भने एसोसिएटले मात्र खेल्ने सबैभन्दा ठुलो प्रतियोगिता आईसिसी डब्लूसिएल च्याम्पियनसिप पनि खेलेको थियो।

त्यसबाहेक अन्य केही महत्वपुर्ण सफलता पनि हात पा¥यो। तर राष्ट्रिय टोलीमा रहेको पुरानो ब्याचलाई प्रतिस्थापन गर्न सक्नेस्तरको खेलाडी अझै देखिन बाँकी छ। यद्यपी बन्द प्रशिक्षणमा पर्ने र राष्ट्रिय टोलीमा पर्ने युवा खेलाडीको संख्या बढ्दो छ।

यसपटक अन्तिम १८ बाट बाहिरिएका चार खेलाडीमा सुनिल धमला, सिद्धान्त लोहनी र ललितनारायण राजबंशी युवा खेलाडी भएपनि उनीहरुले यसअघि सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। बाहिरिएका अर्का खेलाडी किशोर महतोले पनि पहिलो पटक अन्तिम १८मा स्थान बनाएका थिए।

नेपालले नामिबियामा खेल्नुअघि युएईमा एक साता अभ्यास गर्ने छ। त्यहाँ नेपालले तीन वटा अभ्यास खेल खेल्ने छ। नेपाली टोली फेब्रुअरी ४ मा नामिबिया प्रस्थान गर्ने छ।

डिभिजन दुईमा नेपालले घरेलु टोली नामिबियासहित केन्या, क्यानडा, ओमान र युएईसँग खेल्ने छ। राउन्ड रोबिन लिगको शिर्ष दुई टोली विश्वस्तरको छनोट खेल्नेछन्। १० टोली सहभागी हुने विश्वस्तरको छनोटबाट दुई टोली एकदिवशिय विश्वकपमा छनोट हुनेछन्।

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्