सडक नहुँदा नेपालसँगै टाढिएका यी ६ गाउँ

ठेकेदार कम्पनीले हुलाकी सडक खण्डको काम गर्दाको झलक। तस्बिर: कुमार श्रेष्ठ

नेपालगञ्‍ज-राप्तीपारीको बघौडावासी बाध्यात्मक काम पर्दामात्रै सदरमुकाम नेपालगञ्ज आउँछन्। किनमेल, बजार, कृषि कारोबार सबै उनीहरुले सीमावर्ती भारतीय शहरमा गर्छन्। ४० हजार जनसंख्या रहेको बघौडाले सदरमुकामलाई ‘टाढा’ सम्झिन्छ।

किलोमिटरका हिसावले बघौडादेखि नेपालगञ्ज टाढा होइन। बघौडाको अन्तिम सुइयादेखि नेपालगञ्ज जम्मा ४४ किलोमिटर मात्रै टाढा छ। यति छोटो दुरी भएपनि त्यहाँका मानिसलाई नेपालगञ्ज आएर फर्किन पुरै एक दिन लाग्छ। किनकी बाटो राम्रो छैन।

एक दशक अघिसम्म राप्ती नदीमा पुल नहुँदा बघौडावासीको अझ पीडा थियो। राप्ती नदीमा डुंगा तरेर नेपालगञ्ज आउनु पर्थ्यो। शिलान्यासपछिको एक दशकमा राप्ती नदीमा पुल त बन्यो । तर, सडक बन्न सकेन । टाढिएका बघौडावासीलाई पुलले पनि नजिक ल्याउन सकेन।

बघौडावासी अहिलेसम्म अँध्यारोमा छन्। २०५६ सालको चुनाव ताका गाउँमा ठड्याइएको पोलमा अहिलेसम्म तार जोडिएको छैन। त्यतिबेला गाडिएका कतिपय पोल ढलिसकेका छन्। घरको आँगनमा पोल भएपनि बघौडावासी टुकी बालेर बस्न बाध्य भए। पोलको उज्यालो देख्न नपाएका बघौडाका केही ठाउँका मानिसले सोलारको सुविधा पाएका छन्।

शिक्षा र स्वास्थ्यमा पनि बघौडा धेरै पछाडि छ। रजिष्टरमा विद्यार्थी देखिएपनि कक्षामा ‘हाजिर’ नहुने ठूलो समस्या छ। सुविधा सम्पन्न बर्थिङसेन्टरहरु भएपनि घरमै बच्चा जन्माउन कोसिस गरेर धेरै मायाले धर्ति छोडेका छन्।

अझ मन दुख्ने कुरा त, बघौडामा नेपाली पैसा र नेपाली नम्बरका मोटरसाइकल देख्न पाइदैन। पसलमा कुनै सामान किन्दा सकस नै मानेर नेपाली रुपैया लिने पसलेले फिर्ता गर्दा भारुमा हिसाव गरेर दिन्छ।

राप्तीपारी साविकका नौ गाविस पर्छन्। त्यसमा पनि भारतीय सीमातिरका ६ गाविसलाई बघौडा भन्‍ने गरिन्छ। यी ६ गाविसलाई समेटेर अहिले नरैनापुर गाउँपालिका बनाइएको छ।

वर्षौदेखि बाँकेका राजनीतिक दलको भाषणको पहिलो बुँदा ‘बघौडाको विकास’ गर्ने भन्ने नै रह्यो। राप्ती नदीको डुवान, कटान र डुवानमात्रै होइन, वर्षेनी ठूल्ठूला आगलागी हुने बघौडा क्षेत्रको विकास भने कछुवाको गतिमा पनि भएन।

विकासले पछाडी परेका राप्तीनदी तटीय क्षेत्रका जनता रोग, भोकले ग्रस्त भइरहे। त्यहाँको अन्नबाली, दूधले नेपालगञ्ज देख्न पाएन। सीमावर्ती भारतीय बजारमा ‘सस्तो’मा बेच्न बाध्य भए।

पछिल्लो वर्षदेखि सरकारले बघौडामा इलाका प्रशासन कार्यालय पुर्‍याएर केही राहत दिएको छ। निवर्तमान सांसद दिनेशचन्द्र यादवले बघौडामा एउटा एम्बुलेन्सको व्यवस्था गराएका छन्।

वर्षेनी आगलागी हुने त्यहाँका लागि एउटा छुट्टै दमकल लगेर राख्ने भन्ने जिविसको एजेन्डा अहिलेसम्म पूरा हुन सकेको छैन। आगलागी हुँदा पनि नेपालगञ्जबाट दमकल भारतीय बाटो भएर जाने गर्दछ।

हुलाकीले जोड्दै
सरकारले दक्षिणक्षेत्रमा हुलाकी सडकको अवधारणा ल्यायो। एक हजार सात सय किलोमिटर लामो सडक निर्माणको ठेक्का भारतीय कम्पनीले लियो। सन् २००७ मा सम्झौता भएर २०१० देखि काम थालेको भारतीय कम्पनीले ५ वर्षमा पाँच प्रतिशत काम गर्न नसकेपछि भारतीय कम्पनीबाट सरकारले ठेक्का तान्यो।

नेपाल सरकारले आफ्नै बलबुताले हुलाकी सडक बनाउने योजना अगाडि सार्‍यो। टेण्डर प्रक्रिया अघि बढ्यो। बाँकेको नेपालगञ्जदेखि सुइयाबघौडासम्मको ४४ किलोमिटरको हुलाकी सडकको ठेक्का पप्पु लुम्बिनी कन्स्ट्रक्सनलाई पर्‍यो। राँझादेखि जमुनाहासम्मको नेपालगञ्जको फोरलेन सडकको ठेक्का पाएको पप्पुले समयमा र राम्रो काम नगरेको गुनासो छँदै थियो। काम सम्पन्न भएपनि अहिलेसम्म यो सडक ‘पास’ भएको छैन।

पप्पुले हुलाकी सडक पनि गतिलो र समयमा सम्पन्न नगर्ने भयो भन्ने बाँकेवासीले चिन्ता गर्न थाले। उच्च ओहोदाका अधिकारीहरुले पनि असन्तुष्टि जनाए। यही बीचमा पप्पुले गणपति ग्रुप एण्ड कन्स्ट्रक्सनलाई बाँकेको हुलाकी सडक बनाउन जिम्मा दियो।

गणपतिले ठेक्का पाएपछि अहिले सडक निर्माणको गति बढेको छ। बघौडावासीको पीच बाटोबाट नेपालगञ्ज आउने सपना पूरा हुने संकेत मिलेको छ। नेपालगञ्जको पुष्पलालचोकदेखि सुइयाबघौडासम्मको ४४ किलोमिटरमा अहिले धमाधम काम भइरहेको छ। बघौडा क्षेत्र जाने जो कोहीले पनि सन्तोषको सास फेरेर कामको प्रशंसा गर्ने अवस्था आएको छ।

उक्त सडकमा अहिले टिपर, ग्रेडर, रोलर, एक्साभेटर, भ्याकुलोडर, पानी ट्याक्कर जताततै देखिन्छन्। कल्भर्ट बनाउन लागि परेका मजदुरहरु ठाउँठाउँमा जुटेका छन्।

३० महिनामा कालोपत्रे गर्ने योजनाका साथ ठेकेदार कम्पनी लागेको छ। एक वर्ष हुनै लाग्दा ‘ट्रयाक क्लियर’ गर्नेदेखि एक लियरमा ग्राभेल हाल्ने काम अन्तिम चरणमा पुगेको साइड इन्चार्ज इन्द्र केसीले बताए। ‘१५ वटा टिपर, दुई/दुई वटा ग्रेडर, रोलर, भ्याकुलोडर, चार वटा एक्साभेटर, चार वटा पानी ट्यांकरसहित दैनिक अढाई सय कामदार सडकमा जुटेका छन्,’ साइड इन्चार्ज केसीले थपे, ‘फाल्गुनमा एक वर्ष पुग्छ, एक वर्षमा ४० प्रतिशत काम सक्छौं।’

उनले यही अवस्थामा कामको रफ्तार बढेमा २०/२२ महिनामा काम सकिने बताए।

हुलाकी सडकको बाँके खण्ड ६६ करोडको ठेक्का हो। एक लियरको ग्राभेल हाल्न सात किलोमिटर बाँकी छ। दुई लियरमा ग्राभेल हालेर बेस गरिन्छ। त्यसपछि पीच हुन्छ। पीच गर्नका लागि चाहिने आवश्यक कच्चा पदार्थ निकाल्न ठेकेदार कम्पनीले शमशेरगञ्जमा क्रसर सञ्चालन थालिसकेको छ।

नरैनापुरमा ठेकेदार कम्पनीले धमाधम काम गरिरहदा हेरेर बसिरहेका स्थानीय अब्दुल रहिमले हुलाकी सडक बनेपछि एक घण्टामै नेपालगञ्ज पुग्ने बताए। उनले बाटो बनेपछि धान, गहुँ, दूध बेच्न नेपालगञ्ज जाने बताए। रहिमको मात्रै नभएर सारा बघौडावासीको यो सपना ३० महिनामा पूरा हुन्छ कि हुँदैन चासोको विषय बनेको छ।

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्