बागलुङ – आउँदो चैत पहिलो हप्तादेखि सञ्चालनमा आउने भनिएको बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलको प्राविधिक अध्ययन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थलको समग्र वस्तुस्थिति अध्ययन गरेको छ । अध्ययन टोलीमा प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारी तथाइन्जिनीयरद्वय ताराकान्त शाह र मीनराज ओझा सहभागी हुनुहुन्थ्यो । बन्द भएको २६ वर्षपछि विमानस्थल सञ्चालन गर्ने निर्णय भएसँगै प्राििधकरणले आवश्यक तयारी अघि बढाएको हो ।

दुई हप्ताअघि प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबिच चैत दोस्रो हप्तादेखि नियमित उडान सुरु गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार प्राधिकरणले प्राविधिक अध्ययन शुरु गरेको प्राधिकरणका प्रबन्धक अधिकारीले बताए । “विमानस्थलको समग्र वस्तुस्थितिको अध्ययन ग¥र्यौं”, उनले भने, “आइतबार अध्ययन प्रतिवदेन पेश गर्छौं ।”

प्रतिवेदन अध्ययनपछि विज्ञसमेतको सुझावमा प्राधिकरणले आवश्यक निर्णय लिने उहाँको भनाई छ । प्राविधिक टोलीले तत्काल गर्नुपर्ने पूर्वाधार तयारीका बारेमा नगरपालिकालाई पनि सुझाएको छ ।

विमानस्थलको दक्षिण पूर्वपट्टि रहेका सल्लाका रूख हटाउनुपर्ने देखिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “व्यवस्थित तारबार, सुरक्षा प्रबन्ध मिलाउनुपर्ने विषयमा पनि प्राविधिक टोलीबाट सुझाव आएको छ”, प्रमुख पौडेलले भने । विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले नै लिने उनको भनाई छ ।

विमानस्थलसम्म पुग्ने सडकको स्तरवृद्धिलगायत अन्य पूर्वाधार निर्माणको काम नगरपालिकाले गर्ने जनाइएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत नगरपालिकाले पहल गर्ने यसअघि भएको सहमतिमा उल्लेख छ ।

विमानस्थलको सुरक्षा प्रबन्ध भने स्थानीय प्रशासनले मिलाउनेछ । बागलुङ सदरमुकामदेखि आठ किमीको दूरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।

उक्त सडक यथाशक्य छिटो कालोपत्र गर्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो । विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा बन्द भएको थियो ।

धवलागिरी क्षेत्रको पर्यटकीयलगायत समग्र विकासका लागि बलेवा विमानस्थलले ठूलो टेवा पु¥याउने ठानिएको छ । पोखराबाट १३ मिनेटको उडानपछि आइपुगिने बलेवा विमानस्थल पहाडी उडानका लागि महत्वपूर्ण गन्तव्य मानिएको छ ।

विमानस्थल सञ्चालनमा आए साबिक धवलागिरि अञ्चलका चार जिल्ला तथा पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीलगायत जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् । रासस

 

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्