प्रधानमन्त्री कप महिला भलिबलमा बंगलादेशी टोली आउने

नेपालगञ्‍ज- प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पाँचौं संस्करण फाल्गुन ३ देखि ७ गतेसम्म हुने भएको छ।

जिल्लाबासी सुशील कोइराला प्रधानमन्त्री हुँदा सुरुवात गरिएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको छ ।

प्रतियोगितामा भारतसँगै बंगलादेशको टोलीले भाग लिने पक्का भएको छ। बाँके जिल्ला भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गरेर मिति, पुरस्कार राशी र टीमको घोषणा गरेको हो।

अध्यक्ष टीएस ठकुरीका अनुसार यस वर्ष प्रथमलाई दुई लाख, द्वितीयलाई एक लाख र तृतीय स्थान हासिल गर्नेलाई ५० हजार पुरस्कार प्रदान गरिनेछ।साथै विभिन्‍न विधागत उत्कृष्टतालाई पनि नगद र गिफ्ले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक टीम, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लव, न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टीम पोखरा, भारतको देहरादुन र बंगलादेशको टीम सहभागि हुनेछन्।

पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा नेपाल एपीएफ क्लव तथा तेस्रो र चौथोमा रेलवे टीम कोलकता भारत च्याम्पियन बनेको थियो। देशको आन्तरिक प्रतियोगितामा व्यस्त रहेकाले रेलवे टीम कोलकताले आउन नसक्ने जनाएको छ ।

भलिबल नेपालको राष्ट्रिय खेल हो। संघीय गणतन्त्र नेपालका प्रमुख कार्यकारीको सम्मानमा सुरु भई निरन्तर आयोजना हुँदै आएको यो नै एक मात्र प्रतियोगिता हो।

आयोजकले नेपाली राष्ट्रिय टीम हुँदै भारत र बंगलादेशसम्म पुर्‍याएको यस प्रतियोगितालाई आगामी संस्करणमा सार्कस्तरीय बनाउने जनाएको छ। ‘नेपालको माटोमा सार्कका खेलाडीले भलिबल खेलुन् भन्ने हाम्रो चाहना हो, अध्यक्ष ठकुरीले भने।

२०७५ मा नेपालगञ्‍जमै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। त्यसअघि हुने यस्तो प्रतियोगिताहरु सबै आठौको मिसनलाई सफल पार्नका लागि भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले बताए। रासस

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्