‘अनसुन्धान अभावमा रोग पहिचान कठिन’

काठमाडौं – चिकित्साशास्त्र विषयमा अनसुन्धानसम्बन्धी पाठ्यक्रमको अभावमा रोग पहिचान र नियन्त्रणमा कठिनाई देखिएको भन्दै त्यसलाई संवोधन गर्न चिकित्साशास्त्रका विद्यार्थी तथा चिकित्सकले माग गरेका छन्।

अनुसन्धानसम्बन्धी पाठ्यक्रमको अभावले चिकित्सक समेत अनुसन्धान गर्नबाट बञ्चित भएको उनीहरुको गुनासो छ।

एसियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन नेपालले राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय पाँच दिने सम्मेलनमा सामेल अधिकांश विद्यार्थी तथा चिकित्सकले त्यस्तो गुनासो गरेका हुन। सम्मेलन शुक्रबार सकिएको छ।

सम्मेलनका अध्यक्ष डा. सन्तोष उपाध्यायका अनुसार चिकित्साशास्त्र खासगरी एमबीबीएस तहमा अनुसन्धान सम्बन्धी पाठ्यक्रम समावेश नगर्दा विद्यार्थी अनुसन्धानमा अब्बल हुन नसकेको र चिकित्सक भइसकेपछि पनि त्यसले अभ्यासको गुणस्तरमा प्रतिकुल प्रभाव पारेको छ।

चिकित्सकले अनुसन्धानमा जोड नदिदा समुदायमा फैलिने महामारीको पहिचान र त्यसको नियन्त्रणमा ढिलाई हुने र जनधनको क्षति व्यापक हुने गरेको उनको भनाई छ।

डा. साहिल थपलियाले अनुसन्धान भएमा वास्तविक तथ्याङक आउने र त्यसको समिक्षाबाट आवश्यक नीति निर्माण गरी रोग न्युनिकरण गर्न सहज हुने बताए।

त्यस्तै सम्मेलनका सहभागिले सरकारले पर्याप्त बजेट नछुट्याउँदा अनुसन्धानमा कठिनाई भएको भन्दै अनुसन्धानका लागि कोष खडा गर्न माग समेत गरेका छन्।

‘अरु राष्ट्रहरुमा मेडिकल क्षेत्रमा अनुसन्धानका लागी सरकारी कोष हन्छ तर त्यसका लागि पहल भएको छैन,’ क्यान्सर रोग विशेषज्ञ डा.बिशाल ज्ञवालीले गुनासो गरे।’

सम्मेलनमा सहभागि चिकित्सक डा. सुधा बस्नेतका अनुसार मुलुकमा बाल मृत्युदरको अवस्था पहिलाको तुलनामा केही सुधारात्मक रहे पनि पूर्ण रुपमा घटन नसक्‍नुको मुख्य कारण  ग्रामीण क्षेत्रमा अनुसन्धान प्रभावकारी नहुनु पनि हो।

मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारमा केन्द्रित उक्त सम्मेलनमा नेपाल लगायत १६ एसियाली राष्ट्रका मेडिकल विद्यार्थीको सहभागिता छ।

 

माघ १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्