प्रविधिमार्फत जनचेतना जगाउँदै दृष्टिविहीन

राजधानीको भृकुटीमण्डपमा चलिरहेको क्‍यान इन्फोटेकमा 'टेक्नोलोजी फर चेन्ज' अभियानका दृष्टविहीनहरु आफ्नो स्टलमा फोटो खिचाउँदै। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं-राजधानीको भृकुटीमण्डप जहाँ सूचना प्रविधिको कुम्भमेला चलिरहेको छ। प्रविधिमा विकसित भएका नयाँ-नयाँ उपलब्धिहरुबारे जानकारी लिन विद्यार्थी, शिक्षक, प्राध्यापक, सरकारी कर्मचारी, साहित्यकारका साथै त्यहाँबाट गुज्रिने सर्वसाधारण टिकट लिन लाइनमा लामबद्ध छन्।

आज क्यान महासंघले आयोजना गरेको सुबिसु क्यान इन्फोटेकको तेस्रो दिन हो। शनिबार बिदा परेकाले मेला अवलोकनका लागि रेडियो, टिभी अनलाइन र पत्रपत्रिकामा सुनेर उपत्यका सहित नजिकैका जिल्लाहरुबाट पनि सर्वसाधारणहरु प्रविधिबारे बुझ्‍न क्‍यान इन्फोटेक मेलामा आइपुगेका छन्। त्यसैले होला, ‘क्यान इन्फोटेक’मा यस पटक स्वयमसेवक व्यापक रुपमा परिचालन गरिएको छ।

आफ्ना उत्पादन र सचेतनाका लागि उत्कृष्ट प्लेटफर्म भन्दै विभिन्‍न कम्पनीहरु (सुबिसु, मोटोरोला, वर्ल्ड लिंक, टिपी लिंक, नेटिस, सगुन, नेपाल टेलिकम लगायत)ले आकर्षक अफर समेत ल्याएका छन्। प्रविधिका नविनतम् उपलब्धि भन्दै त्यहाँ आउने अवलोकनकर्तालाई विभिन्‍न कम्पनीले छुटमाथि छुटको अफर बाडिरहेका छन्। त्यही कारणले उनीहरुको स्टलमा भीडभाड देखिन्छ।

तर, त्यही भीडभाडका बीच स्टल नम्बर टी १६ जहाँ फरक क्षमता भएका दृष्टविहीनहरुले ‘टेक्नोलोजी फर चेन्ज’ अभियान अन्तर्गत आफूहरुले सिकेका कुरा त्‍यहाँ आउने अवलोकनकर्तालाई बताइरहेका छन्, त्यो पनि प्रविधिमार्फत। ‘ब्राइट स्टार सोसाइटी’ र ‘ब्लाइन्ट रक्स’को संयुक्त प्रयासमा प्रविधिमा आधारित शैक्षिक सामग्रीहरु: पेन फ्रेन्ड लेभल लेटर (कलम जस्तै अक्षर थाहा पाउने), ट्याकक्टाइल (तस्बिर छामेर थाहा पाउने), साउण्ड ज्वेलरी (आवाजले थाहा पाउने), ड्रविङ म्यारट (चित्र कोर्ने), टकिङ पेन लेभलिङ (बोलेर लेख्‍ने कलम) स्टलमा राखिएका छन्।
तीन/चार जना दृष्टिविहीनहरु लहरै कुर्सीमा बसिरहेका छन्। मेला अवलोकन गर्न पोशाकमै आएका एक हुल विद्यार्थीहरु त्यहाँ आएर पालैपालो सोधे, ‘तपाईहरु हामी जस्तै कसरी पढ्न सक्नुहुन्छ? हामीलाई बताइदिनुस न।’
प्रश्‍न सोध्‍नासाथै दोस्रो कुर्सीमा सेतो छडी समातेर बसेकी एक युवती उठिन् भन्‍न थालिन, ‘नमस्कार विद्यार्थी भाई बिहिनीहरु, तपाईहरुको जिज्ञासाको लागि धन्यवाद। मेरो नाम सृष्टि केसी हो।’

सृष्टिले पेन फ्रेन्ड लेभलिङलाई हातमा लिँदै भन्‍न थालिन, ‘हामी आँखा नदेख्‍नेहरु पढ्नको लागि यसको सहायताले कुन अक्षर कहाँ छ भनेर थाहा पाउँछौ। यसमा भएका अक्षरहरु दबाउने वित्तिकै रेकर्ड हुन्छ र पछि हामीले सुनेर थाहा पाउछौ की यो ए वा बी वा क वा ख वा औषधि, खाजा इत्‍यादि हो भनेर।’

यसपछि अर्को विद्यार्थीले नानीले जिज्ञासा राख्दै प्रश्‍न गरिन्,’ त्यसो भए तपाईहरुले बुकमा भएको चित्र कसरी थाहा पाउनुहुन्छ अनि कसरी चित्र बनाउनुहुन्छ नि ?’ प्रश्‍न झर्न नपाउँदै पुन: सृष्टिले टेबलमा छामिन् र ‘ट्याक्टाइल’ भेटिन्। उनले उक्त ट्याक्टाइल देखाउँदै भनिन्, ‘धन्यवाद्। यो ‘ट्याक्टाइल’ हो। दृष्टविहीन विद्यार्थीहरुले यहीको सहायताबाट चित्रहरु थाहा पाउँछन्। यो चित्र मानव चित्र हो। यसले मानिसको विभिन्‍न आकारको गेस्चर र पोस्चरको आकृतिबारे जानकारी दिन्छ। ‘

उनले लगत्तै ‘ड्रविङ म्याट’ टेबलबाट उठाइन् र भन्‍न थालिन,’ यो ‘ड्रविङ म्‍याट’कै सहायताबाट म र म जस्तै अरु दृष्टिविहीन साथीहरु पनि चित्र कोर्न सक्छौ।’ एवम् रीतले विद्यार्थीहरुलाई सृष्टिले टकिङ पेन र साउण्ड ज्वेलरीको बारेमा जानकारी दिइन्। उक्त कुराहरु सुनिरहँदा विद्यार्थीहरु भने एक अर्काको मुख हेराहेर गरेर दङ परिरहेका थिए।

उनीहरु सबैजना खुसी हुँदै भने, ‘ तपाई त कस्तो जान्‍ने । अब हामीले बुझ्यौा। हामीले हाम्रा साथीहरुलाई पनि यो कुरा सुनाउँछु।’ विद्यार्थीहरु टी १६बाट मोबाइलको स्टलतिर लागे। (यी शैक्षिक सामग्रीहरुलाई ब्लाइन्ड रक्सका अध्येक्ष सृष्टि केसीले आफू विदेशमा पढ्दा केही आफैले किनेर र केही कन्फेरेन्समा सहभागी हुँदा संस्था तथा साथीले दिएको ‘गिफ्ट’ मार्फत ल्याएका हुन्।)

यता, अर्को हुल फेरि उनीहरुको स्टलमा आएर त्यही प्रश्‍नहरु सोध्‍न थाले। ल्यालपटपमा आफूले राखेका महत्वपूर्ण फाइलहरु खोजिरहेका सुशिल अधिकारीले उनीहरुलाई कम्‍प्युटर चलाएर भन्‍न थाले ‘यो तपाईहरुले चलाउने जस्तै ल्यापटप कम्प्‍युटर हो। तर यसमा हामीले बोल्ने सफ्टवेयर (जज)को सहायताले त्यहाँ भएका सबै प्रोग्रामहरु चलाउन सक्छौ।’

उनले ल्यापटपमा किबोर्ड जोड्दै भन्‍न थाले, ‘ तपाईले यो कीबोर्डमा भएका अक्षरहरु हेरेर थाहा पाउनुहुन्छ तर हामी दृष्टिविहीनहरु यो किबोर्डमा कहाँ कुन अक्षर र कुन साइन छ भन्‍ने कुरा थिचेपछि साउण्डको माध्य्मबाट थाहा पाउँछौ।’ उनी कम्प्युटरमा आफ्नो नाम र संस्थाको नाम माइक्रोसफ्ट वर्डमा टाइप गरेर देखाइ दिए। यो देख्‍नसाथ त्यहा उपस्थित भीडले कोहीले फोटो खिच्‍न थाले भने कोही सेल्फी।

क्यान इन्फोटेक मेलामा आफूले सिकेको ज्ञान र प्रविधिलाई अवलोकनकर्ताहरु माझ सेयर गर्ने क्रम चलिरहँदा मैले यो संस्था कसरी चलिरहेको छ ? भनेर ब्लाइन्ड रक्सकी अध्यक्ष समेत रहेकी सृष्टिसँग बुझ्दा उनले आफूहरुले सरकारी तवरबाट कुनै पनि सहयोग नपाए बताइन्। उनले आफ्‍नै दृढ इच्छा शक्तिले देशविदेशमा पढ्‍न र सभा सम्मेृलनमा भाग लिएर शैक्षिक सामग्रीको जोहो गरेको बताइन्।

उनले भनिन्, ‘हामीले आफू जस्तै फरक क्षमता भएका व्यक्तिहरुलाई सक्षम र सबल बनाउन व्यक्तिगत प्रयास र केही संस्थागत प्रयास स्वरुप सहयोग पाउँदै आएका छौ। तर निश्चित समयको लागि।’ उनले ‘टेक्नोलोजी फर चेन्ज’ अभियानलाई दीर्घकालीन रुपमा लैजाने मनसाय बनाएको बताउँदै भनिन्, ‘समाजमा अझै अपाङगता भएका व्यघक्तिलाई हेर्ने दृष्टिको पुरानै छन्।

उनीहरुलाई घरायसी काममा लगाउन सक्नेव तर पढाउन नसक्ने, घरबाट बाहिर निस्किन नदिने लगायतका थुप्रै हेय दृष्टिका बाधा अड्चनहरु छन्। यसलाई हामी जनचेतनाको माध्यकमबाट परिवर्तन सम्भव छ भनेर संस्थागत रुपमै लागेका छौ।’ अपाङग्ता भएका व्य‍क्तिहरु अथाह सृजनाको भण्डार रहेको उनको भनाई छ। यसको लागि ब्राइट स्टार सोसाइटीसँगको सहकार्य सराहनीय रहेकोमा उनले खुसी व्यक्त गरिन्।

आफूजस्तै दृष्टिविहीनहरुलाई अध्यृयनमा अब्बल बनाउन आउँदो महिनामै टीकापूरको कल्याणी माविमा जाने योजना समेत रहेको सृष्टिले सुनाइन्। तर यसको लागि शैक्षिक सामग्रीहरु जुटाउन मुख्य समस्या आर्थिक पाटो रहेको बताइन्। उनले भनिन्, ‘ हामीले शैक्षिक सामग्रीहरु ह्वाइट केन, यातायात खर्च र भोलुण्टियर्स सपोर्ट जुटाउन केही स्रोतहरु खोजिरहेका छौ।’

माघ १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्